जनतामा उत्साहको खाँचो

-डा. डी. आर. उपाध्याय


प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई मिलाएर लैजान सक्ने बाटो तय गर्नु पर्छ । यसो गर्न सकेमा उनको कार्यकाल सफल हुन सक्छ । देउवाले जनतामा उत्साह भर्नका लागि लोकप्रिय कार्यक्रम ल्याउनु पर्छ । जनतामा शासकप्रति नकारात्मक भावना चुलिएको अवस्था छ । यसका लागि प्रधानमन्त्री र सत्ता गठबन्धन दलका सबै नेताले गम्भिरतापूर्वक सोच्नुपर्ने बेला भएको छ ।

नेपाल विद्युत् प्रधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः कुलमान घिसिङ आउनुले जनतामा उत्साह पैदा भएको छ । उनको नियुक्तिका बिषयलाई सकारात्मक रूपमा लिनुपर्छ । यो कार्यले हाम्रो मान्छे होइन, राम्रो मान्छे नियुक्ति भएको सन्देश गएको छ । कुलमानको नियुक्तिलाई सबैले स्वागत गरेका छन् । अब अन्य महत्वपूर्ण स्थानमा जिम्मेवारी दिँदा पनि यसरी नै हाम्रो मान्छे होइन, राम्रो मान्छेले स्थान पाउनु पर्छ । त्यसो भयो भने मात्र मुलुक बन्न सक्छ ।

प्रधानमन्त्रीले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रालयको काम कारबाही ठप्पै छ । नियमित प्रशासनिकबाहेक अन्य नीतिगत कार्य हुन सकिरहेका छैनन् । त्यसैले प्रधानमन्त्रीले अब छिटोभन्दा छिटो आफ्नो सरकारलाई पूर्णता दिन सक्नुपर्छ । अहिले राजनीतिलाई व्यवसाय बनाइएको छ । विकृत राजनीतिलाई सुधारको खाँचो छ । केही स्वार्थी तत्वहरू मन्त्री हुने दाउमा दल फेर बदल गरिरहेका छन् । त्यस्ता स्वार्थी तत्वहरुको चंगुलबाट देउवा बच्नु पर्छ । प्रधानमन्त्री देउवाले त्यस्ता तत्वहरुको घेरा तोड्न सकेनन् भने उनको कार्यकाल असफल हुने निश्चित छ ।

प्रधानमन्त्रीले आफ्नो टिम राम्रो बनाउन सक्नु पर्छ । विकास, समृद्धि र सुशासन कायम गर्ने कुरामा देउवाको बिशेष ध्यान जानु पर्छ । बिगतमा उनले मुलुकमा सुशासन स्थापना गर्ने कार्यमा खासै ध्यान दिएनन् । उनलाई लाग्दै आएको आरोप हो यो । उनले राम्रा र असल व्यक्तिलाई राम्रो र प्रभावकारी जिम्मेवारी दिनु पर्छ । अब देउवाले भ्रष्टाचार, कमिसनतन्त्र, कालोबजारी, कुशासन रोक्न र महँगी नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ । प्रधानमन्त्री देउवाले जनताको भावनालाई आत्मसात् गर्नेगरी काम गर्नका लागि मन्त्रीपरिषदमा राम्रो टिम बनाएर जानु पर्छ । मुलुकलाई समृद्ध बनाउने महान् अभियानमा जनतालाई साथ लिएर सरकार अघि बढ्नु पर्छ ।

सरकारले अघि सारेको नीति तथा कार्यक्रमलाई कर्मचारीले जनताको घरदैलोमा पुर्याउन सकेका छैनन् । जसका कारण पनि सरकारको प्रभावकारिता बढ्न नसकेको हो । यस पक्षमा पनि प्रधानमन्त्री देउवाले विशेष ध्यान दिन जरुरी छ । जनतालाई प्रदान गर्ने सेवा, विकास प्रवाहको विषय, सुशासनको विषय, जवाफदेहिता, पारदर्शिता, यी सबै विषयले उच्च प्राथमिकता पाउनुपर्छ ।