अनेसास जापान च्याप्टरको नेतृत्वमा अरुण पौडेल

-प्रकाश सुवेदी

अनेसास जापान च्याप्टरको १३ औँ अधिवेशन तथा ६७ औँ नियमित साहित्य शृङ्खला टोकियोमा एक भव्य साहित्यिक समारोहका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता र जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी (क्षेत्री) को प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनले २०२३ देखि २०२५ का लागि अरुण पौडेलको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमितिको चयन गरेको छ ।

यसैगरी कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा आनन्द अधिकारी, उपाध्यक्षमा शरद प‍ख्रेल र दीपा घिमिरे, महासचिबमा अनिलकुमार निर्दोष, सचिवमा मनोज मौसम केसी, के.बी. पारखी, सङ्गीता कुँवर, कोषाध्यक्षमा मञ्जु गिरी, सह-कोषअध्यक्षमा सरिता चौधरी र नारायण पोख्रेल एवं सदस्यहरुमा क्रमश: सरोज घिमिरे, विनिशा सापकोटा, सुरज हुक्पा चोङ्वाङ, भगवती क्षेत्री, सुविन न्यौपाने, यमलाल कँडेल, केशव ज्ञवाली र प्रेम पौडेल चयन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकका अनुसार थप दुई जना सदस्य मनोनयन गर्ने जानकारी संस्थाका संरक्षक तथा निर्वाचन समितिका संयोजक दिनेशराज ज्ञवालीले जानकारी दिनुभएको छ । कार्यक्रममा उपस्थित अधिकांश सर्जकहरूले आ- आफ्ना रचना वाचन गर्नुभएको थियो । संस्थाका संरक्षक तथा निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले अनेसास जापानको विगत र वर्तमानका विषयमा आफ्नो विचार राख्ने क्रममा रविन शर्माको नेत्रृत्वको कार्यकालले उत्कृष्ट कार्यसम्पादन गरेको र आगामी कार्यकाल पनि झन् उदाहरणीय बनाउनुपर्ने विषयमा जोड दिँदै अरुण पौडेल सहितको नव निर्वाचित कार्यसमितिलाई सुझाव सहित मार्गनिर्देश गर्नुभएको थयो ।

एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेल, वर्तमान अध्यक्ष नवीन निउरे, जापान च्याप्टरका पूर्वअध्यक्ष आलोक चालिसे, दिनेश राज ज्ञवाली,पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका उपसभापति बिष्णु प्रसाद घिमिरे, पूर्व अध्यक्ष तथा केन्द्रीय सचिव दीप पाठक, पूर्व अध्यक्ष गिरिजा गैरे लगायतको उपस्थिति रहेको सो कार्यक्रममा जापानमा क्रियाशील पत्रकारहरूलाई ‍‍कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा अनेसास जापानको मुख पत्र `साकुरा फूल्दा ७ (बालबालिका बिशेष)´ को विमोचन समेत गरिएको थियो । करिब ६ घण्टासम्म चलेको सो कार्यक्रममा १०० भन्दा बढी साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण शरद पोख्रेलले गर्नुभएको थियो ।