एक अर्काको तन-मनको सौन्दर्य बयान गर्दै मिशेल र समिप

-तुलसी गिरी ‘भावुक’

म्युजिक भिडिओ मोडलिङमा छोटो समयमै सफलताको शिखर चढिरहेकी प्रतिभाशाली कलाकार मिशेल घिमिरे र अर्का लोकप्रिय मोडल समिप निरौला अभिनित म्युजिक भिडिओ सार्वजनिक भएको छ l डा. विष्णु मूर्ति भट्टराईको शब्दरचना, श्रीधर अधिकारीको सङ्गीत एवं सङ्गीता चौधरी र श्रेय अगस्तीको स्वरमा रहेको युगल गीत ‘छौ नि तिमी आहा’ को भिडिओमा मिशेल र समिपलाई रोमाण्टिक जोडीको रुपमा फिचरिङ गरिएको हो भने भिडिओ आजै Shreedhar Adhikari युट्युब च्यानलबाट बजारमा आएको छ l

गीतमा प्रेमी प्रेमिकाद्वारा एक अर्काको तन-मनको सौन्दर्य बयान गरिएको छ l प्रेम, विश्वास र समर्पण भावको उच्चतम् कलात्मक शिल्प पोखिएको यो गीतको भिडिओमा निशान एस.के.को निर्देशन, सङ्केत अगस्तीको क्रिएटिभ निर्देशन, दीपक गिरीको छायाङ्कन एवं मिन रावलको सम्पादन रहेको छ l भिडिओ अगस्ती क्रिएशनको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l  मोडलिङको छोटो यात्रामै मिशेल घिमिरेको लगभग आधा दर्जन भिडिओ रिलिज भैसकेका छन् भने केहि रिलिज हुने क्रममा रहेका छन् l उनको प्रभावशाली भूमिका रहेको सिरियल फिल्म ‘रिटार हाल्दार-२’ पनि छिट्टै नेपाल टेलिभिजनबाट प्रसारण हुने कुरा थाहा भएको छ l