डा. उपाध्यायलाई थप २० विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण, विश्व रेकर्डको संख्या १५३ पुग्यो l

यसअघि गीत सङ्गीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएका विश्वकीर्तिमानी गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्‍याउनुभएको छ । उहाँका थप २० विश्व कीर्तिमान बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँका कीर्तिमानको संख्या १५३ पुगेको हो l  काठमाडौंमा आयोजित एक विशेष समारोहमा संसारभरका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रैतीले डा.उपाध्यायलाई हस्तान्तरण गर्नुभएको थियो ।

साहित्यकार केदारनाथ खनालको सभापत्विमा सम्पन्न भएको सो समारोहमा महाकाव्यकार खेमनाथ दाहाल, गीतकार सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वर्ल्ड रेकर्डका फाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनाल लगायतले डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिँदै उहाँका कर्मलाई देशले नै गौरव गर्नुपर्ने बताउनुभएको थियो ।

समारोहका प्रमुख अतिथि रक्षा मन्त्री उप्रैतीले डा. उपाध्यायलाई यस्तो विशेष कार्यका लागि बधाई तथा शुभकामना दिँदै उहाँले आफूलाई सधै सकारात्मक कर्मतर्फ डोर्‍याएका कारण यो सबै सम्भव भएको बताउनुभयो ।

आफूले नयाँ नयाँ विषयवस्तुमा खोज अनुसन्धान र केही फरक काम गरौँ भन्ने धारणाका साथ काम गर्दै जाँदा आफ्ना विश्व रेकर्डको संख्या १५३ पुगेको डा. उपाध्यायले बताउनुभयो । ‘म समाजका लागि गीत/उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’ भन्दै डा. उपाध्यायले स्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने सुनाउनुभयो । सो अवसरमा एभरेष्ट वर्ल्ड रेकर्डसका मधुरा श्रेष्ठले डा. उपाध्यायलाई १५३ वर्ल्ड रेकर्डको मेडल पनि प्रदान गर्नुभएको थियो । कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई द विट्रिस रेकर्ड अनर सर्टिफिकेट पनि प्रदान गरिएको थियो ।

यस्तै प्रमुख अतिथि रक्षा मन्त्री उप्रैतीले डा. उपाध्यायलाई बधाई तथा शुभकामना सम्मानपत्र पनि अर्पण गर्नुभएको थियो । केहीदिन अघि डा. उपाध्यायलाई विश्वको सर्वाधिक उचाईमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको प्रमाणपत्र राष्ट्रपति कार्यलयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हस्तान्तरण गरिएको थियो ।
डा. उपाध्यायले एकैदिन विश्वमा सबैभन्दा बढी आर्टिकल प्रकाशन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्नुभएको छ भने सवैभन्दा धेरै भाषामा गीत लेखेर पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्नुभएको छ ।

डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित बुक अफ अमेरिका, एभरेष्ट वर्ल्ड रेकर्ड, स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, अष्ट्रेलिया, लन्डन युके वर्ल्ड रेकर्ड लगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको सो कार्यक्रममा कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’ले डा. उपाध्यायको गीत प्रस्तुत गर्नुभएको थियो भने कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

डा. उपाध्यायका ३६ बढी गीति एल्वम, १६ उपन्यास, तीन गीति कविता र सयौं गीतका भिडिओ सार्वजनिक भएका छन् । उहाँले देश विदेशका विभिन्न सङ्घ संस्थाहरुबाट सयौं मान सम्मान, अवार्ड र पुरस्कारहरु समेत प्राप्त गर्नुभएको छ । डा. उपाध्याय सर्वाधिक विश्व रेकर्ड कायम गर्ने नेपाली हुनुहुन्छ भने विश्व रेकर्डमा उहाँ विश्वमै टप टेनमा पर्नुहुन्छ ।