कवि/नियात्राकार बिकु अब गीतकार पनि, म्युजिक भिडिओ ‘सुनको सिक्री’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

गीतकार बिकु लामाको गीत ‘सुनको सिक्री’ को भिडिओ सार्वजनिक भएको छ l बिहीबार साँझ अनामनगरस्थित सिलौटो कटेजमा गीतकार लामा, भिडिओसँग सम्बन्धित सर्जक, कलाकार, प्राविधिक र केही सञ्चारकर्मीहरुको उपस्थितिमा एक अनौपचारिक कार्यक्रम सम्पन्न भए लगत्तै ओएसआर डिजिटलबाट सो भिडिओ रिलिज गरिएको हो l कार्यक्रममा गीत तथा भिडिओसँग सम्बन्धित सर्जक/कलाकारहरुले आ-आफ्ना अनुभव र विचार व्यक्त गरेका थिए l

धनु ज्ञाङ्मीको सङ्गीत र सुरेश लामाको स्वर रहेको यस गीतको भिडिओमा तलिसा गुरुङ र नुप गुरुङले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l भिडिओमा गीतकार बिकु लामा र सोनाक्षी महतलाई पनि सहायक भूमिकामा देख्न सकिन्छ l उत्तम प्रसाद अधिकारीको निर्देशन, सुरेश पाण्डेको कोरियोग्राफी, रणधीर श्रेष्ठको छायाङ्कन र ध्रुवराज पराजुलीको सम्पादन रहेको यो भिडिओ रघुजी फिल्म्सको प्रोडक्सनमा निर्माण भएको हो l

दुर्गम स्थानमा रहेका विद्यालयहरुमा पुस्तकालय स्थापना गर्ने अभियानमा लागिरहेका सर्जक लामाका ‘मृत्यु बिर्सिनेहरु’ र ‘सपनाको ट्रान्जिटमा’ (कवितासङ्ग्रह) र ‘सोइनम’ (नियात्रासङ्ग्रह) गरि दुई पुस्तक प्रकाशित छन् भने ‘सुनको सिक्री’ उनको पहिलो सार्वजनिक गीत हो ।