गीतकार लोकराज अधिकारी अन्तर्राष्ट्रिय अवार्डमा मनोनित, भोटका लागि आग्रह

अमेरिकाको एटलान्टामा आगामी अगष्ट २४ मा सम्पन्न हुने ‘इन्टरनेशनल सिङ्गर सङराइटर्स एशोशिएन’ले आयोजना गरेको छैटौँ ‘आइएसएसए अन्तर्राष्ट्रिय अवार्ड’मा नेपालबाट सञ्चारकर्मी समेत रहेका प्रसिद्ध गीतकार लोकराज अधिकारी मनोनित भएका छन् । आयोजकले गत सोमबार सार्वजनिक गरेको विभिन्न ४६ विधाको नामावलीमा नेपालबाट एकजना मात्र गीतकार अधिकारी ‘पुरुष गीतकार’ विधामा मनोनयनमा परेको जनाईएको छ । अधिकारीसँगै उक्त विधामा विश्वका विभिन्न देशका ६८ जना मनोनयनमा परेका छन् ।

आयोजकले सोमबारदेखि नै इलेक्ट्रोनिक भोटिङ खुला गरेका छन् । गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधिका रूपमा यो मनोनयनलाई लिएको बताएका छन् । भोटिङबाट टप २० को छनोट हुने कुरा थाहा भएको छ  । अप्रिल ३० सम्म इलेक्ट्रोनिक भोटिङ खुला रहने र मे २ मा टप २० को घोषणा हुने कुरा जानकारीमा आएको छ । यसैबीच गीतकार अधिकारीले देश विदेशबाट सबैले भोट गरेर नेपाललाई टप २० मा पुर्याउन समेत आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने महोत्सव/फेस्टिवल/कन्सर्ट जस्ता कार्यक्रममा नेपाली स्रस्टा /कलाकारको उपस्थिति र प्रस्तुति रहने गरेपनि गीतको अन्तर्राष्ट्रिय अवार्डमा नेपालका तर्फबाट मनोनित हुने गीतकार अधिकारी नै पहिलो सर्जक हुन् l भोटका लागि एउटा डिभाइसबाट दैनिक एकपटक भोट गर्न सकिने आयोजकले जनाएका छन् ।

यो अवार्डमा अन्तर्राष्ट्रियतर्फ एशिया महादेशबाट गतवर्ष युगल गायनमा भारतबाट मनोनित S.P. Balasubrahmanyam र S.J.Jananiy ले Bronze अवार्ड जितेका थिए । त्यस अघिका संस्करणमा एशिया महादेशका कुनैपनि देशबाट सहभागिता रहेको थिएन । छैटौं संस्करणमा नेपाल मनोनयनमा परेको हो । गीतकार अधिकारीका तिम्ले पराई ठाने पछि, रुपै मोहनी, बाजा बजाउँदै, मर्छु बरु छट्पटीमा, हेप्नी मलाई, भन्नुहुन्थ्यो बा ले, ओ ओ मेरो परान लगायत दजर्नौ गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।