नेपाल र नेपाली भाषाका दुई म्युजिक भिडिओ एकैसाथ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

प्रतिभाशाली युवा गायक बिरज महर्जनद्वारा स्वरवद्ध नेपाली र नेपाल भाषाको दुई गीतका भिडिओ एकैसाथ लोकार्पण गरिएको छ l सुन्धारास्थित सीटीसी मलमा शनिबार आयोजित एक भव्य समारोहमा भिडिओ लोकार्पण गरिएको हो l गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा गीत-सङ्गीत क्षेत्रका प्रतिष्ठित सर्जक-कलाकार, सञ्चारकर्मी र अन्य गरी ४ सय भन्दा बढी अतिथिहरुको उपस्थिति रहेको थियो l

समारोहमा नेपाली भाषाको ‘तिमी आउने बाटो भरि’ र नेपाल भाषाको ‘नक्कलिम्ह मय्जु’ गीतका म्युजिक भिडिओ प्रदर्शन गरिएसँगै हाईलाइट्स नेपाल नामक युट्युब च्यानलबाट विश्वव्यापी रुपमा रिलिज भएको जानकारी समेत गराईएको थियो l बद्रि देसारको शब्द/सङ्गीत रहेको नेपाली भाषाको गीतमा जुगल डंगोलले सङ्गीत संयोजन गरेका छन् भने सायद कार्कीको निर्देशनमा भिडिओ छायाङ्कन भएको हो l प्रद्युम्न मिश्रको सिनेमाटोग्राफी र कृष्ण भण्डारीको सम्पादन रहेको यस म्युजिक भिडिओमा अभिषेक जोशी, मिशेल घिमिरे र वरिष्ठ कलाकार कृष्णभक्त महर्जनले अभिनय गरेका छन् l मौलिक, सिर्जनशील र फरक प्रकृतिको प्रस्तुति रहेको यस म्युजिक भिडिओको समारोहमा उपस्थित धेरैले खुलेर प्रशंसा गरेका थिए l

यसैगरी नेपाल भाषाको अर्को गीत ‘नक्कलिम्ह मय्जु’ सुरजवीर बज्राचार्यले रचना गरेका हुन् भने यसमा प्रसिद्ध सर्जक जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ l रामकृष्ण खड्गीको परिकल्पना एवं निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा रकी महर्जनको सिनेमाटोग्राफी र आर.आर. को सम्पादन छ l भिडिओमा मनोज महर्जन र हसना महर्जनले अभिनय गरेका छन् l समारोहमा मनोज र हसनाको अभिनयको पनि तारिफ भएको थियो l गायक बिरजका वरिष्ठ सङ्गीत गुरुद्वय धन बहादुर गोपाली र सङ्गीता प्रधान रानाले गायकीको खुलेरै प्रशंसा गरेका थिए l दुबै म्युजिक भिडिओका निर्माता विनोद महर्जन र रत्नकुमारी महर्जन हुन् l