बाह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना हुने

-तुलसी गिरी ‘भावुक’

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ एभरेष्ट नेपाल कल्चरल ग्रुपले ‘बाह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ को आयोजना गर्ने भएको छ l आयोजक संस्था कल्चरल ग्रुपले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो l

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार यही फागुन १८ देखि २७ गतेसम्म काठमाण्डौ, दाङ, पोखरा र ललितपुरका विभिन्न पर्यटकीय स्थलमा प्रदर्शन हुने यस लोक सांस्कृतिक मेलामा नेपाल लगायत अष्ट्रिया, बेल्जियम, बोष्टवाना, ईस्टोनिया, जर्मनी, भारत, इण्डोनेशिया, मलेशिया, पोल्याण्ड र साउथ अफ्रिकाका ३ सय ५० भन्दा बढी कलाकारहरुको प्रस्तुति रहने छ भने फागुन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा मेलाको औपचारिक समुद्घाटन हुने कार्यक्रम रहेको छ l

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा संबर्धन गर्ने प्रमुख लक्ष्य राखेर दुई दशक अघि स्थापना गरिएको कुरा संस्थापक अध्यक्ष रामचन्द्र (आरसी) कोईरालाले जानकारी गराएका छन् l आफ्नो स्थापनाकालदेखि नै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आईरहेको छ l

संस्थाका अध्यक्ष कोईरालाका अनुसार एघारौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलासम्म आईपुग्दा करिव ८५ भन्दा बढी देशका ८ हजार ५ सय भन्दा बढी कलाकारहरुले आ-आफ्नो देशको मौलिकता झल्कने झाँकी सहितको विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने एभरेष्ट नेपाल कल्चरल ग्रुपले हालसम्म ७५ भन्दा बढी अन्तर्राष्ट्रिय मुलुकमा नेपाली लोक सांस्कृतिक प्रस्तुतिहरु दिईसकेको छ l

यस कल्चरल ग्रुपले नेपाली संस्कृतिको उत्थान तथा सांस्कृतिक पर्यटन प्रबर्धनमा निजी क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरिरहेको कुरा संस्कृतिकर्मीहरुले बताएका छन् l मौलिक नेपाली कला-संस्कृतिलाई विश्वसामु पुर्याएर नेपालको गौरव बढाउनुका साथै सांस्कृतिक पर्यटन प्रबर्धनमा अतुलनीय योगदान दिएका ग्रुपका संस्थापक आर. सी. कोईरालाको राज्यको तर्फबाट अझै पनि यथोचित मूल्याङ्कन र कदर नभएको कुरा सांस्कृतिक वृत्तमा चर्चामा रहेको छ l