१० दिन सम्म चलेको ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला’ ऐतिहासिक रुपमा सम्पन्न


‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारा सहित आयोजना गरिएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला ऐतिहासिक रुपमा सम्पन्न भएको छ । फागुन १८ गतेदेखि २७ गतेसम्म देशका विभिन्न भागमा आयोजना गरिएको सो मेला फागुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको सभा हलमा उद्घाटन भए पश्चात् औपचारिक रुपमा सुरु भएको थियो । कार्यक्रममा ११ देशका ३ सय ५० भन्दा बढी कलाकारहरुको सहभागिता रहेको थियो ।

काठमाडौंको उद्घाटन कार्यक्रमपछि दाङको घोराही र पोखराको लेकसाइडमा प्रस्तुति दिएर कलाकार टोली काठमाडौं फर्किएको थियो l ११ देशका कलाकारहरुले काठमाडौंको बसन्तपुर दरबारक्षेत्र तथा मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीमा आफ्नो प्रस्तुति दिएका थिए । दाङको घोराही बजार, काठमाडौंको असन, ईन्द्रचोक हुँदै बसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजु क्षेत्रमा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका कलाकारहरूले आ-आफ्नो देशको संस्कृति झल्काउँदै सङ्गीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाँकी समेत प्रदर्शन गरेका थिए l  

मेलाका प्रस्तुतिहरु १० लाख भन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको कुरा एभरेष्ट नेपाल कल्चरल ग्रुपको दाबी छ । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रन्णा गरी आयोजना गरिदै आएको यो मेला एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सम्पन्न गरिएको हो । उद्घाटन कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला एवं नेपाल टेलिकमका संयोजक डा. आरसी कोइराला ‘रामचन्द्र’ले भन्नुभयो- ‘हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं, तर नृत्य र सङ्गीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छ l यस्ता सांस्कृतिक आदानप्रदान कार्यक्रमले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने  हामीले विश्वास लिएका छौं l’

१२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको स्थानीय आयोजक दाङ उध्योग वाणिज्य सङ्घ, नेपाल उध्योग बणिज्य महासङ्घ गण्डकी प्रदेश, वज्र कला कुन्ज र लालीगुराँस नेशनल एकेडेमीप्रति आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपले हार्दिकता प्रकट गरेको छ l यसैगरी नेपाल टेलिकम, बुढानिलकण्ठ नगरपालिका, पोखरा महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल सङ्गीत नाट्य एकेडेमीका साथै बिभिन्न अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरु, सञ्चारगृहहरु र प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुप्रति पनि एभरेष्ट नेपाल कल्चरल ग्रुपले आभार प्रकट गरेको छ । १३औ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा पुन: भेट्ने गरी सम्पूर्ण कलाकारहरुलाई बिदा गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले जानकारी गराएको छ ।