अमेरिकामा पनि सङ्गीतकर्ममै रमाएका केशव

-तुलसी गिरी ‘भावुक’

सङ्गीतकार/गायक केशव पौडेल यसपटकको लगभग १ महिने नेपाल बसाईमा आफ्नो सङ्गीत र स्वरमा ८ वटा गीत रेकर्ड गरेर कर्मथलो अमेरिका फर्किएका छन् l अमेरिका प्रवेशको ७ वर्ष यता उनी जतिपटक नेपाल आए तालिकामा नयाँ गीत रेकर्डलाई पनि प्राथमिकतामा राख्दै आएका छन् l अमेरिका गएर पूर्ण रुपमा सङ्गीतकर्मलाई नै पेशा बनाउने नगण्य नेपाली सङ्गीतकर्मीहरु मध्येका एक केशव पौडेलले यसपटक ‘हिउँ जस्तो चिसो चिसो, फक्रिएकी फूल, तिम्रो गीत सुनेपछि, जीवन बितेको, मै बिलाई गएँ भने, पागल बनाईदियौ, सुनेथें तिम्रो’ र ‘खै किन हो’ बोलका ८ वटा गीत रेकर्ड गराएका हुन् l यी मध्ये २ वटा गीत सुरेश अधिकारी र विपिन आचार्यको सङ्गीतमा र ४ वटा गीत उनले आफ्नै सङ्गीतमा गाएका छन् l यसैगरी एउटा गीतमा जगदिश समालको स्वर र अर्को युगल गीतमा माण्डवी त्रिपाठीसँग उनी स्वयमको स्वर रहेको छ l यी दुबै गीतमा पनि केशव स्वयमले नै सङ्गीत दिएका हुन् l यसपटकका ८ गीत सुमन स्मारिका, चूडामणि भट्टाराई, सञ्जु गिरी, डिल्लु चम्लागाई, पुण्य प्रकाश घिमिरे, भोला श्रेष्ठ र दिनेश अधिकारीले रचना गरेका हुन् भने गीतमा जुगल डंगोल, विपिन आचार्य, विष्णु अधिकारी, फणिन्द्र राई र चाँद सिंहको सङ्गीत संयोजन रहेको छ l

हाल विश्वका धेरै मानिसहरुको सपनाको देश अमेरिकाको सिन्सिनाटी, ओहायोमा श्रीमती विजया पौडेल र छोरा सुब्रत पौडेलको साथमा बस्दै आएका केशव पौडेलको जन्म पिता भीम प्रसाद पौडेल र माता रेनुका पौडेलको कोखबाट सूर्योदय-३, इलाममा भएको हो l त्रिविविबाट समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेका पौडेलले प्रयाग सङ्गीत समिति, इलाहावादबाट सङ्गीत प्रवीण पूरा गरेका छन् l २०५१ सालमा ‘खराब सपनी देख्छु’ बोलको गीत रेकर्ड गरेर औपचारिक रुपमा सङ्गीत यात्रा सुरु गरेका केशवले स्व. चन्द्रराज शर्मा, स्व. कमल प्रसाद क्षत्री, श्रीराम आचार्य, गुरुदेव कामत, धन बहादुर गोपाली र सुदेशराज शर्मा जस्ता सङ्गीतज्ञहरुबाट पूर्वीय एवं पाश्चात्य सङ्गीतको ज्ञान आर्जन गरेका छन् l उनी नेपालमा रहँदा पनि पूर्ण रुपमा सङ्गीतकर्ममै समर्पित थिए l सङ्गीत शिला प्रतिष्ठान, प्रसून कला केन्द्र, सत्यवती कला केन्द्र, बज्रयोगिनी सङ्गीत तथा नृत्य एकेडेमी लगायत दर्जन बढी विद्यालयहरुमा सङ्गीत प्रशिक्षकका रुपमा क्रियाशील रहेका सङ्गीतकार/गायक पौडेलले अमेरिकामा पनि सोही कर्मलाई निरन्तरता दिईरहेका छन् l

सङ्घर्षको सुरुआती चरणदेखि नै सङ्गीत सिर्जना र गायनमा समानान्तर कर्म गरिरहेका केशवका ‘चाँदनी’ र ‘सत्प्रयास’ गरी एकल सङ्गीतका दुई एल्बम बजारमा आईसकेका छन् l कल्पना, अविरल, मनमुटु, रमाउँदा रमाउँदै, रहरका लहरहरु, नगरे अभिमान, यो मन, सिन्धुलीको जुनार, काफिया, आशिष मागें, रङ्गहरु, एक एक एघार लगायत २० वटा एल्बममा सङ्गीतकारको रुपमा आवद्ध रहेका उनले फुटकर रुपमा प्रकाशित आधुनिक, गजल, भजन, राष्ट्रिय भाव, बाल आदि गरी करिव २०० गीतमा सङ्गीत/स्वर दिएका छन् l

आफ्नो उत्कृष्ट एवं सिर्जनशील कर्मको प्रतिफलस्वरूप पुरस्कृत समेत हुँदै आएका केशव रेडियो नेपालद्वारा आयोजित अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता २०६९ र प्रथम गणतन्त्र दिवस २०६६ मा सर्वोत्कृष्ट सङ्गीतकारको पुरस्कार जित्न सफल भएका थिए भने २०६७ को गणतन्त्र दिवसमा पनि उनी स्वरतर्फ प्रथम विजेता बनेका थिए l रेडियो नेपालबाटै आयोजित २०६० सालको अधिराज्यव्यापी बालगीत प्रतियोगितामा पनि उनी सर्वोत्कृष्ट सङ्गीतकार घोषित भएका थिए l यसैगरी कृष्ण प्रणामी युवा परिषदद्वारा आयोजित अधिराज्यव्यापी भक्ति सङ्गीत प्रतियोगितामा पनि गायनतर्फ प्रथम भएका सर्जक/कलाकार पौडेल कलानिधि इन्दिरा सङ्गीत सम्मान (२०७१) बाट समेत सम्मानित भएका छन् l वेष्ट म्युजिक एकेडेमी (२०६८) र सनातन धर्म सेवा समितिद्वारा (२०६७) सम्मानित पौडेल विभिन्न सरकारी एवं गैर सरकारी सङ्घ संस्थाहरुबाट पनि सम्मानित भएका छन् l उनले २०७७ सालमा ‘निम्स अवार्ड’ समेत प्राप्त गरेका थिए l

मेरो भ्वाइस युएसए, मेरो भ्वाइस र मेरो डान्स युनिभर्स जस्ता प्रख्यात रियालिटी शोहरु सफलतापूर्वक आयोजना गरिसकेको र अमेरिकामा ठूलो सञ्जालमा बिस्तार भई सामाजिक कार्यका लागि अग्रणी संस्थाको रुपमा परिचित ‘इन्ट्रा फाउन्डेसन अफ अमेरिका’ द्वारा सञ्चालित गायन कक्षामा गायन प्रशिक्षक एवं सङ्गीत निर्देशकको रुपमा काम गर्दै आएका केशव हाल सिन्सिनाटी र कोलम्बसका १०० विद्यार्थीहरुलाई सङ्गीत सिकईरहेका छन् l यसका अतिरिक्त उनले केही प्राइभेट कक्षा समेत सञ्चालान गर्दै आएका छन् l समाजसेवी एवं व्यावसायी डिल्ली अधिकारीको अध्यक्षतामा सञ्चालित इन्ट्रा फाउन्डेसनले त्यहाँको ७ वटा शहरमा ७ वर्षदेखि ५५ वर्षसम्मका करिव १ हजार विद्यार्थीहरुलाई सङ्गीत सिकाईरहेको छ l अध्यक्ष अधिकारीको कुशल नेत्तृत्व र समाजसेवी आचरणका कारण फाउन्डेसनप्रतिको विश्वसनीयता र लोकप्रियता उच्च गतिमा बढ्दो अवस्थामा रहेको छ l

अमेरिका गएपछि केशवले करिव १ दर्जन गीत उतै पनि रेकर्ड गरे भने उनले त्यहाँका प्रथम वर्षका विद्यार्थीहरुका लागि ‘स्वराधार’ नामक पुस्तक समेत आफैंले लेखेर प्रकाशन गरेका छन् l अमेरिकाको ‘गजल यात्रा’ नामक संस्थासँग सङ्गीत निर्देशक एवं गायकको रुपमा आवद्ध रहेका केशवले विभिन्न राज्यमा आयोजना हुने साङ्गीतिक कार्यक्रमहरुमा समेत आफ्नो प्रस्तुति दिँदै आएका छन् l यसपटक रेकर्ड भएका ८ वटै गीत क्रमैसँग युट्युबबाट सार्वजनिक हुने कुरा उनले जानकारी गराएका छन् l