देशको अवस्था कता जाँदै छ ?

-डा. डी. आर. उपाध्याय खनाल

राजनीतिक दलहरुले देश बनाउने कुरामा खासै ध्यान दिएको देखिँदैन । आज देश सङ्कटतर्फ उन्मुख हुँदैछ । देशको अर्थतन्त्र डामाडोल भएको सङ्केत अर्थशास्त्रीहरुले दिइरहेका छन् । हामी कता जाँदैछौं ?  देशको अवस्था कता जाँदैछ ? अब सरकारले कस्तो भूमिका खेल्ने ? यी प्रश्न यतिबेला उठ्ने गरेका छन् । देशमा ब्यवस्था बदलियो तर जनताको अवस्था नबदलिए पछि ब्यवस्था परिवर्तनको के अर्थ ?  राजनीतिक दल र तिनका नेता, टाठाबाठा कार्यकर्ता र आसेपासे बाहेक अरुको अवस्था बदलिन सकेको छैन ।

मान्छे ज्युँदै आगो लगाएर आत्मदाह गर्न किन बाध्य छन् ? यो प्रश्नको उत्तर खोजी गर्नु पर्छ । देश र जनताको भाग्य र भविश्य बनाउने कुरामा सबै चिन्तित हुनुपर्ने बेला भएको छ । आज हामी हेरिरहेका छौं, राजनीतिक दलहरुको भूमिका त्यति राम्रो छैन । सत्ता स्वार्थ र ब्यक्तिगत स्वार्थ बाहेक राजनीतिक दलहरु र तिनका नेताहरुले अरु केही हेरेनन् । त्यसो भएर यो मुलुक बन्न नसकेको हो, अरु केही होइन ।

सरकारमा गएर सत्ता चलाउन र सुशासन कायम गराउन दलहरु असफल हुँदै आएका छन् । यो कुरा त सबैले स्वीकार्न पर्छ । मुख्य दल शासकीय दृष्टिले त्यति सफल देखिन सकेका छैनन् । यद्यपि, अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको अभ्यास भइरहेको छ । यो शासन व्यवस्था ल्याउन राजनीतिक दलहरुको मात्र होइन, आम नागरिकको पनि प्रमुख भूमिका रहेको थियो । आज आएर आमनागरिक निराश छन् । किन हो ? यसको बारेमा नेताहरुलाई कुनै चासो र सरोकार छैन । आज दुर्गा प्रसाईको पछि ठूलो भिड लाग्दै छ । कारण के हो भने जनतामा बितृष्णा पैदा भयो ।

जब जनतामा बितृष्णा पैदा हुन्छ तब मात्र उनीहरु सडकमा जान्छन् । यो जनताको बाध्यताको कुरा हो । प्रसाईले मेची महाकाली अभियान चलाउँदै छन् । जनता जगाउँदै छन् । अस्ति मात्र पूर्व राजादेखि राजनीतिक दलका नेताहरुलाई एउटै मञ्चमा भेला गराउन खोजेका थिए तर राजनीतिक दलका कुनै नेता उक्त मञ्चमा उपस्थित भएनन् । पूर्व राजा भने उपस्थित भए । तर कुनै प्रतिक्रिया दिएनन् । हात जोडेर नमस्कार गदै जनता सामु मुसुमुसु हाँसी मात्र रहे । जनताको ठूलो भिड देखिन्थ्यो । ‘राजा आऊ देश बचाऊ’ भन्दै जनताले नारा लगाएको सुनिन्थ्यो । यो जनतामा देखिएको चरम बितृष्णा हो ।

सङ्घीय शासन व्यवस्थाको अभ्यास भइरहँदा यस्ता गतिबिधि चल्नु राम्रो हो कि होइन ? मैले आफैंले आफैंलाई प्रश्न गरें । देशमा ठूलो समस्या आउने खतरा देखिएको छ । यस्ता समस्याको समाधान तत्काल नगर्ने हो देशमा जे पनि हुन सक्छ । मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने कुरामा राजनीतिक दलबीच एकता र सौहार्दपूर्ण सम्बन्ध हुन जरुरी छ । मुलुकमा देखिएको रोग, भोक, अशिक्षा, गरिबी र  विपन्नता हटाउने विषयमा पनि दलहरु गम्भीर बन्न जरुरी छ ।

राजनीतिक दल र तिनका नेताहरु असल र इमान्दार बन्न सक्ने हो भने शासकीय व्यवस्था पनि सफल हुँदै जान्छ । तर, ती शासन सञ्चालन गर्नेहरू भ्रष्टाचारमा लिप्त हुन पुग्दा देशको विकास हुन सकेको छैन । जसका कारण जनतामा चरम निराशा छाएको छ । आगामी दिनमा त्यस्तो चरम निराशा आउन नदिन दलहरु सचेत र सतर्क रहनुपर्छ । जनताले प्रमुख राजनीतिक दललाई खासै रुचाएको देखिँदैन । मुलुकमा प्रमुख राजनीतिक दलप्रति जनताले घृणा व्यक्त गर्न थालेका छन् । दलले आफ्नो घोषणापत्रमा व्यक्त गरिएको प्रतिबद्धता अनुसार काम गर्न सकेनन् । जनताको पक्षमा काम गर्न नसके पछि आलोचित हुने बाहेक अरु बिकल्प छैन । बिगतदेखि भएको त्यही हो । सत्ता सञ्चालन गर्ने दल र तिनका नेता नै भ्रष्टाचारमा चुर्लम्म डुब्ने अवस्था आयो भने जनतामा स्वतहः उनीहरूप्रति हेर्ने दृष्टिकोणमा नै घृणाको भावना पैदा हुनेछ । अब राजनीतिक दलहरु गम्भीर भएर अघि नबढ्ने हो भने निश्चित रुपमा समस्या उत्पन्न हुने छ ।