चलचित्र काँडेतार नचलाउने नवल खड्काको घोषणा, ष^डयन्त्र भएको दावी


बहुचर्चित राष्ट्रवादी चलचित्र ‘काँडेतार’ का कथाकार, निर्देशक एवं नायक नवल खड्काले आज पत्रकार सम्मेलनको आयोजना गरे पश्चात् सामाजिक सञ्जाल मार्फत प्रेस विज्ञप्ति प्रकाशित गर्दै ‘काँडेतार’ नचलाउने घोषणा गरेका छन् l हिजोबाट देशैभर प्रदर्शनमा आएको चलचित्र काँडेतारमाथि ठूलो ष^डयन्त्र भएको दावी गर्दै निर्देशक/कलाकार खड्काले सो घोषणा गरेका हुन् l खड्काले उक्त चलचित्र कहिलेसम्म नचलाउने भन्ने कुरा चाहिँ विज्ञप्तिमा खुलाएका छैनन् l  

प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ- ‘चलचित्र काँडेतारको प्रदर्शन मिति २०८० वैशाख ११ गते सेन्सर पास गरेपछि करिब एकवर्ष अघि नै घोषणा गरिएको थियो । तर प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रलाई असफल बनाउन चौतर्फी देशी-विदेशी खुफियाहरु र स्वदेशभित्रैका त्यसका मतियारका रुपमा केही तत्वहरू सलबलाईरहेका थिए । चलचित्रकाई सुरुआती चरणमा नै विवादित बनाउने प्रयास भयो । यसलाई सेन्सर बोर्डले काँटछाँट गर्न लगायो । त्यसपछि विभिन्न चरणमा यसका निर्माता र कलाकारहरुलाई प्रत्यक्ष अप्रत्यक्ष ध^म्की आउन थाल्यो । प्रचार यसरी हुन थाल्यो कि यो चलचित्र कुनै अमुक मुलुक विरोधी हो । यसकारण केही मधेश र हिमालका अति विवादित व्यक्तिहरुले यस चलचित्रलाई प्रतिवन्ध गर्न दबाब दिँदै नत्र सिनेमा हलमा आगो लगाउने सम्मका वक्तव्यवाजी गरे ।

अन्तिम चरणमा केही हल मालिकहरु पनि काँडेतार चलचित्रमाथि अपरोक्ष बाधक बन्न पुगे । ती हलवालाहरुले चलचित्र प्रदर्शन सम्बन्धी आम प्रचलनलाई मिच्दै काँडेतार चलचित्रलाई पर्याप्त शो दिएनन् । स्मरण रहोस् विदेशी हिन्दी फिल्मलाई करिव ११५ वटा शो हल उपलब्ध गराइएको छ । अङ्ग्रेजी फिल्मलाई करिव ७० वटा शो हल उपलब्ध गराइएको छ । चलचित्र शोमा प्राइम टाइम अति महत्वपूर्ण मानिन्छ । यही समयमा दर्शकहरु चलचित्र हेर्न निस्कन्छन् । तर चलचित्र काँडेतारलाई यस्तो प्राइम टाइम उपलव्ध गराइएन । तर रातारात सेन्सर गरेर जुधाउन ल्याईएका दुई अन्य चलचित्र प्रत्येकलाई करिव ८०/९० वटा शोहरू प्राईम टाईममा दिईएको छ । तर हाम्रो देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ लाई मुश्किलले करिव २३ वटा शो दिईएको थियो । ती पनि अधिकांश शोहरू बिहान ८,९ र १० बजेका छन् । जुन समय दर्शकहरू घरका दैनिक चर्यामा व्यस्त हुन्छन् l

हामीलाई थाहा थियो कि हामीमाथि संगठित गिरोह खनिएको छ । तर यसमा चलचित्र हलहरुबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ भन्ने हाम्रो कल्पनाभन्दा बाहिरको कुरा थियो । अन्तिम घडिमा चाल पाइयो तर त्यसबेला हामीले काँडेतारको प्रदर्शन रोक्न सम्भव थिएन । त्यसैले हामीले संकेतात्मक रुपमा चलचित्र शो गर्ने र आजबाट नै रोक्ने निर्णय गरेका थियौं, जुन कुरा हामीले चलचित्र हलवालालाई हिजो फागुन २५ मा नै जानकारी गराएका थियौं ।

हामीले काँडेतार निर्माण गर्ने कुरा गरेदेखि नै विभिन्न अपमान र लाञ्छना भोग्दै आएका थियौं । देशभक्ति चलचित्रमाथि किन यति धेरै विभेद ? हामीले देशभक्तिपूर्ण चलचित्र बनाउनु के अपराध गरेकै हौँ ? के देशभक्ति कथामा बनेका चलचित्र चलचित्र नै होइनन् ? ब्यवहारमा यस्तै देखियो । यसको जवाफ हामीलाई सम्बन्धित सरोकारवालाले एकदिन दिनैपर्छ । अत: यसरी देशभक्तिपूर्ण चलचित्रमाथिको भद्दा मजाक हामीलाई सह्य छैन। यो देशभक्तिपूर्ण चलचित्रको अपमान मात्र होइन, यो सिङ्गो देश र देशभक्त नागरिकहरुको समेत ठूलो अपमानको रूपमा हामीले लिएका छौँ । त्यसैले हिजो फागुन २५ गतेबाट प्रदर्शनमा आएको देशभक्तिपूर्ण चलचित्र काँडेतार आजबाट प्रदर्शन नगर्ने/नगराउने निर्णय गरेको जानकारी गराउदछौँ । यसबाट पर्न गएको असुबिधाप्रति दर्शक अनि आम नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुप्रति क्षमाप्रार्थी छौँ । हामीलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै सबैप्रति ऋणि रहने छौँ । यो वा त्यो बहानामा चौतर्फी घेराबन्दी गरि देशभक्तिपूर्ण चलचित्र काँडेतारलाई सिध्याउन लाग्ने धमिरा देशी-विदेशी तत्त्वसँग मेरो जीवनको निरन्तर चलचित्र यात्राको क्रममा हिसाब लिने छु l मैले नसके पनि भावी पुस्ताले लिनेछन् र लिनुहोला । बिचार कहिल्यै मर्दैन । सिमानामा काँडेतार लगाएर माटो र मान्छे जोगाउने अभियानमा निरन्तर लाग्ने प्रण गर्दछौँ र आमा, देश र देशभक्त नेपालीजन अनि मनप्रति पुन: एकपटक सम्मान ब्यक्त गर्दछौं ।’