‘सुगुप’ का प्रस्तुतकर्ता रविनको लोभलाग्दो सफलता

-तुलसी गिरी ‘भावुक’

यतिबेला काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका गाउँ-शहरमा धमाधम विशेष प्रदर्शन भईरहेको लिम्बू भाषाको चलचित्र ‘सुगुप’ का प्रस्तुतकर्ता एवं मुख्य निर्माता रविन कुमार नाल्बो लिम्बू भरखरै आफ्नो कर्मथलो हङकङ फर्किएका छन् l आचानक आमाको देहान्त भएपछि नेपाल आएका उनी आमाको काम सकिएपछि चलचित्रका केही विशेष प्रदर्शनहरुमा पनि सहभागी भएका थिए l लगभग २० वटा विशेष शो पश्चात् उनी कर्मथलो फर्किएका हुन् l नेपालमा विशेष प्रदर्शन हुनु अघि ‘सुगुप’ को हङकङमा प्रीमियर भएको थियो l हङकङका सुविधासम्पन्न मल्टिप्लेक्स ४ वटा हलमा एकैदिन हजारौं दर्शकले ‘सुगुप’ हेरेका थिए l

हङकङ जस्तो विकशित शहरमा एक सफल व्यावसायीको रुपमा स्थापित रविनले ‘सुगुप’ मार्फत पहिलोपटक चलचित्रमा लगानी गरेका हुन् l ‘आफ्नो भाषा, संस्कृति र पहिचानको सम्बर्धन-प्रबर्धनको लागि केही गरौँ भन्ने पहिलेदेखि नै लागिरहन्थ्यो l त्यसैले पनि मैले आफ्नो मातृभाषाको चलचित्र ‘सुगुप’ मा लगानी गरेको हो’ उनी भन्छन् l

रमणीय पूर्वी पहाडी जिल्ला ताप्लेजुङको मिरिङदेन गाऊँ पालिका वडा नम्बर-६ का स्थायी बासिन्दा रविन कुमार नाल्बो लिम्बू सुन्दर भविष्यको सपना बोकेर रोजगारीको सिलसिलामा २९ वर्ष अघि हङकङ पुगेका थिए l जुझारु स्वभाव, इमान्दारिता, दृढ अठोट र अथक मेहेनतकै कारण आज जो कोहीका लागि लोभलाग्दो सफलता हासिल गरेका रविन हङकङस्थित Everest Rockscapes Limited र Everest Taekwondo Academy का संस्थापक निर्देशक समेत हुन् l १२ वर्षसम्म सिप सिकेर उनले Everest Rockscapes नामक कम्पनी खोलेका थिए l लगभग १२ वर्ष अघि नै स्थापित यस कम्पनीले हङकङका Hong Kong ocean park र Hong Kong Disney land मा सुन्दर आर्टिफीसियल ढुङ्गा, थीम आर्ट र विभिन्न Hong kong Resident र पार्क लगायतका स्थानमा कृत्रिम ढुङ्गा र थिम आर्टहरुको निर्माण गरी सुन्दर सजावटको काम गर्दै आएको छ भने उच्च अनुभव र सिप भएका देशी-विदेशी सयौं शिल्पिहरुलाई उनले रोजगारी दिँदै आएका छन् l

Everest Taekwondo Academy ले करिव २५ वर्ष अघिदेखि नेपाली, चाइनिज, इन्डियन, फिलिपिनी, पाकिस्तानी, इण्डोनेशियन लगायतका अन्तर्राष्ट्रिय मुलुकका बालबालिका, युवा र ढल्कँदो उमेरकाहरुलाई समेत ताईक्वान्दोको प्रशिक्षण दिँदै आएको छ l  रविनले नेपालको सुनसरीमा पनि Everest Organic Nalbo Agro Farm सञ्चालन गरिरहेका छन् l रविन कुमार नाल्बो स्वयम् ताईक्वान्दोका 6th Dan Grand Master हुन् l उनी छिट्टै 7th Dan का लागि योग्य हुँदैछन् l रविनको सङ्घर्ष र सफलताको कथा आफैंमा एउटा रोचक उपन्यास वा फिल्म बन्न सक्छ l उनी लाखौँ युवाको एक ज्वलन्त प्रेरणाका श्रोत हुन् l

‘सुगुप’ मा आवद्ध भएको प्रसङ्गबारे जिज्ञाशा राख्दा उनी भन्छन् -‘शैलेन्द्र नाल्बो र ईन्द्र शेर्पाको माध्यमबाट निर्देशक लोकेन साँवा लिम्बूसँग मेरो भेट भएको हो l विभिन्न कठिनाईका बाबजुद पनि यो चलचित्र पूरा हुनुमा धेरैजनाको महत्वपूर्ण भूमिका रहेको छ l जसमध्ये निर्मात्री समेत रहेकी मेरी श्रीमती दिलमाया लाबुङ नाल्बो, मौसम इङ्बुङ (फुलन्देको बाउ), छायाकार युवराज राई, सम्पादक विपिन मल्ल, यासेली योङहाङ, प्रेम सुब्बा लगायतप्रति धेरै आभारी छु l’ चलचित्रमा श्रीमती दिलमायाको साथमा उनले समेत अभिनय गरेका छन् l हङकङस्थित किराँत याक्थुङ चुम्लुङ अन्तर्गतको याक्थुङ सयोङ, प्रायोजक र हङकङबासी सम्पूर्ण सहयोगी नेपाली दाजुभाइहरुप्रति पनि उनले हार्दिकता प्रकट गरेका छन् l

‘सुगुप’ पहिलो चलचित्र भएको कारण आफूबाट केही कमी कमजोरी भएको कुरा उनी स्वीकार गर्छन् l ‘फिल्म क्षेत्रका धेरै कुरा सिक्ने मौका मिल्यो l अब आउने प्रोजेक्टमा यसलाई पाठको रुपमा लिँदै अझ राम्रो गर्ने कोसिस गर्ने छु l चलचित्र हेरेका सबै दर्शकहरुले मन पराउनुभएको छ भने केही सुझावहरु पनि आएका छन्’ प्रस्तुतकर्ता एवं मुख्य निर्माता रविनले भने l आगामी दिनमा यूके, युएई, कोरिया, मलेशिया, सिंगापुर लगायत सबैजसो एशियन देश र नेपालीहरुको बसोबास रहेका अन्य अन्तर्राष्ट्रिय मुलुकमा पनि यस चलचित्रको विशेष शो आयोजना गरिने कुरा उनले बताएका छन् l

लगभग २ दर्जन पारिवारिक नातेदारहरु हङकङमा रहेको जानकारी गराउँदै रविनले भने -‘हामी बुढाबुढी दिलमाया र म हङकङमै बस्छौं l छोरी रेनुका र छोरा रोबेल ३-४ वर्षदेखि पढाईको सिलसिलामा युकेतिर छन् l तन हङकङमा भएपनि हाम्रो मन नेपाली नै हो l राम्रो कथा र भरपर्दो टिम पाएको खण्डमा भविष्यमा पनि फिल्ममा लगानी गर्ने योजना रहेको छ l’