आयुश्रीले जितिन् ‘लिटिल आइडल २०२२’ को उपाधि


प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको ‘लिटिल आइडल २०२२’ को उपाधी युरो स्कुल हात्तीगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो प्रतियोगितामा आयुश्रीले शीर्ष उपाधिसहित ३० हजार रुपैया पुरस्कार एवं प्याब्सन काठमाडौंको तर्फबाट एकवर्षको छात्रावृत्ति प्राप्त गरेकी छन् । 

जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना भएको सो प्रतियोगितामा बागमती बोर्डिङ हाईस्कुल सुकेधाराकी प्रश्मी रत्न फस्ट रनरअप,  नेशनल ब्लुमिङ फ्लावर एकेडेमी बुढानिलकण्डकी विहानी गुरुङ मिस लिडरसिप सहित सेकेण्ड रनरअप घोषित भए । प्रश्मीले २० हजार रुपैया र विहानीले १० हजार रुपैयासहित एक एकवर्षको छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्रतियोगितामा १० हजार रुपैया पुरस्कारसहित नेपाल सेन्ट्रल हाइस्कुल नरेफाँटकी सगुन महर्जन मिस ट्यालेन्ट, इलिक्जर एकेडेमी कुमारीगलकी सम्पदा महतो मिस कन्फिडेन्ट, ग्रामर पब्लिक स्कुल कोटेश्वरकी सिर्जा शाह मिस डाइनामिक घोषित भए । त्यसैगरी मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटारकी आश्का भण्डारी मिस पर्सनालिटी, क्याम्ब्रिज पब्लिक हाईस्कुल पुरानो वानेश्वरकी अभिलाशा श्रेष्ठ मिस फोटोजेनिक, इडेन ब्रिज एकेडेमी धापासीकी करुना थुलुङ राई मिस फ्रेण्डसिप र केएमसी स्कुल बुद्धनगरकी प्रिन्सु शर्मा मिस इन्ट¥याक्टिभ हुन सफल भए ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रतियोगीहरुको प्रस्तुति उत्कृष्ट रहेको बताउँदै आफू शिक्षण पेशाबाट आएकाले विद्यार्थीको भावना र प्रतिभा नजिकबाट महसुस गर्न सक्ने बताए । ‘सहभागी छात्राहरुको प्रस्तुति असाध्यै राम्रो लाग्यो । छात्राहरुको अत्तिरिक्त क्षमता उजागर गर्न प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको प्रयास सराहनीय छ’, मुख्यमन्त्री पाण्डले भने ।

राजधानीका विभिन्न विद्यालयबाट आएका ६५ जना प्रतियोगीहरुलाई उनीहरुको दक्षता र प्रतिभा अनुसार आर्ट एक्सेलेन्स अवार्ड, सिङ्गिङ एक्सेलेन्स अवार्ड, डान्सिङ एक्सेलेन्स अवार्ड, इन्स्टुमेन्ट प्लेइङ एक्सेलेन्स अवार्ड, पब्लिक स्पिकिङ एक्सेलेन्स अवार्ड लगायत विभिन्न अवार्डबाट सम्मान गरिएको थियो । प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राईको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा केन्द्रिय प्याब्सन एवं प्याब्सन काठमाडौंका पदाधिकारीहरुले विजेता एवं सहभागीहरुलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा प्राज्ञ प्रदीप बोमजन, डीआईजी भीम ढकाल, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, मिस कस्मोपोलिटन वर्ल्ड २०१९ प्रियारानी लामा, अभिनेत्री उषा रजक, मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ र नेपाल एड्मिनिस्ट्रेटिभ स्टाफ कलेजका डेपुटी डारेक्टर शिव अधिकारी निर्णायकका रुपमा रहेका थिए ।