नयाँ अनुहार मन्त्रीमा छन् अब के हुन्छ ?

-डा. डी. आर. उपाध्याय खनाल

अब नेपालको राजनीति सही ढङ्गले चल्नु पर्छ । हिजो जसरी चल्यो त्यसरी हुँदैन । मुलुक परिबर्तनशिल छ । परिवर्तन संगै जनताका आकाङ्क्षा पनि बढेका हुन्छन् । अब सबैभन्दा पहिला राजनीतिक दल र तिनका नेताहरु सुध्रन आवश्यक देखियो । नेताहरुमा सुधार आयो भने पक्कै देश बन्छ । आज देशमा नेताहरुप्रति कार्यकर्ताको विश्वास छैन । कारण के हो भने नेताहरुले मुलुकप्रति खासै राम्रो काम गरेर देखाउन सकेनन् । नेताहरुले जनताको मन जित्न सक्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भबिश्य बन्छ ।

आज देशमा विश्वासको सङ्कट छ । सबै राजनीतिक दलका कार्यकर्ताहरुमा त्यति सन्तुष्टि छैनन् । नेताहरुले आफ्ना आसेपासे मात्र हेरे, कार्यकर्ता हेरेनन् । यो कुरा त सत्य हो नि । राजनीतिका कारण हरेक कुरा बिग्रदै गएको छ । राजनीति सही बाटोमा जानु पर्छ भन्ने हाम्रो कुरा हो । राजनीतिक बाटो सही भयो भने मात्र सबै कुरा सही बाटोमा आउँछ । यो बिषयमा लामो समयदेखि बहस चलिरहेकै छ । तर अझैसम्म सार्थक परिणाम आउन सकेको छैन ।

राजनीतिमा एउटा स्थिरता, अडान र सिद्धान्त हुनुपर्छ । अहिलेको राजनीतिमा खासै सम्भावना केही देखिदैन । नयाँ पुस्ता उदाए, सरकारमा पनि गए तर परिणाम कस्तो दिने हुन त्यो त हेर्न बाँकी छ । अहिले नै खुशी हुने बेला होइन । खुशी त परिणाम पछि हुने हो । नयाँ पुस्ताले इमानको राजनीति गरे भने भविश्य राम्रो हुने देखिन्छ । तर अहिले नै यसै भन्न सकिन्न । खासगरी रवि लामिछाने र राजेन्द्र लिङ्देनको अग्निपरिक्षा हो यो । दुबै उपप्रधानमन्त्री छन् । हिजो बोलेका कुरा कार्यान्वयन हुन्छन कि हुँदैनन् जनता पर्खेर बसेका छन् ।

कुरा मात्र चर्को गर्ने कि  परिणाम पनि दिने ? जनताले प्रश्न गरेका छन् । नयाँ अनुहार मन्त्रीमा छन् अब के हुन्छ ? अब उनीहरुले मुलुक कसरी बनाउँछन् ? अब नेपालको राजनीति नयाँ शिराबाट जानुपर्छ । जनताका इच्छा र आवश्यकता पूरा हुनु पर्छ । जनतालाई विश्वास दिलाउने किसिमले काम अघि बढ्नु पर्छ । अहिलेसम्म त्यस्तो देखिएको छैन । नयाँ अनुहारले राम्रो काम गरेर चमत्कार देखाउनु पर्छ । यदि उनीहरुले चमत्कार देखाउन सकेनन् भने पछि आफैं सकिन्छन् । यो त इतिहासले देखाएको बाटो हो । इतिहासमा नराम्रो काम गर्नेहरु सकिँदै आएका छन् । अब यो भन्दा धेरै कुरा नगरौं ।

राजनीति भनेको समाज सेवा हो । राजनीतिको नाममा जसले फाइदा लिन खोज्छ त्यो भविश्यमा समाप्त हुन्छ । राजनीति त्यति सजिलो कुरा होइन, जनताले मन नपाराएसम्म राजनेता बन्न सकिँदैन । राजनेता नभएसम्म देश बनाउन सकिँदैन । हाम्रो देशले राजनेताको खोजी गरिरहेको छ । अहिलेसम्म मुलुकले राजनेता पाउन सकिरहेको छैन । यो कुरा म बारम्बार भनिरहेको छु । मुलुकले राजनेता नपाउनु नै दुखद कुरा हो ।