एकतर्फी प्रेम र अधुरो कथाको बेजोड प्रस्तुति

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध म्युजिक भिडिओ निर्देशक/कोरियोग्राफर/मोडल गम्भीर विष्टको पटकथा एवं निर्देशन रहेको म्युजिकल फिल्म ‘अधुरो कथा’ सार्वजनिक भएको छ l Star Entertainment Nepal नामक युट्युब च्यानलमा ५ दिन अघि मात्र अपलोड भएको यो भिडिओ छोटो समयमै लगभग साढे ४ लाखपटक हेरिएको छ भने तीव्र गतिमा भ्युज बढ्ने क्रम पनि जारी छ l

गीतकार किशोर तिम्सिनाले रचना गरेको यस युगल गीतमा लेखु सहयात्रीको सङ्गीत, विषम आचार्यको सङ्गीत संयोजन र साजन साहको मिक्सिङ/माष्टरिङ रहेको छ भने त्रिशला गुरुङ र किशोर तिम्सिनाको सुमधुर स्वरले गीतलाई जीवन्त बनाएको छ l यो भिडिओको कथा किशोर तिम्सिनाले लेखेका हुन् l जसमा पवन सुश्लिङको छायाङ्कन/सम्पादन रहेको छ l

वियोगान्त कथामा आधारित यस म्युजिकल फिल्ममा एकतर्फी प्रेममा परेकी युवतीको अधुरो सपनालाई मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरिएको छ l जटिल प्रकृतिको रोगसँग सामना गर्दा गर्दै युवतीको देहान्त हुन्छ l त्यसपछि मात्र युवकलाई त्यो रोग र असिम प्रेमको बारेमा थाहा हुन्छ l युवकको असमञ्जसतासँगै भिडिओ सकिन्छ l सागर लम्साल ‘बले’ र कुशुम शर्माको बेजोड अभिनय रहेको यस भिडिओले म्युजिकल फिल्मका लागि अन्य सङ्गीतकर्मीहरुलाई थप प्रेरित गर्ने छ भन्ने विश्वास गर्न सकिन्छ l