परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषद्वारा संयुक्त रुपमा पुरस्कार/सम्मान अर्पण

परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले राजधानीमा संयुक्त रुपमा सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरेका छन् । समारोहमा परिवर्तन नेपालद्वारा स्थापित चेतन कार्की स्मृति पुरस्कार तथा निशा घिमिरे स्मृतिकोषद्वारा स्थापित निशा घिमिरे स्मृति पुरस्कार एउटै मञ्चमा वितरण गरिएको थियो l कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाललाई निशा घिमिरे स्मृति सम्मान र वरिष्ठ चलचित्र निर्देशक आकाश अधिकारीलाई नगद रु. १५ हजार सहित चेतन कार्की स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

सोही समारोहमा नायिका तथा मोडल अनु शाहलाई नगद रु. २० हजार सहित निशा घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको थियो भने निशा घिमिरे स्मृति प्रतिभा पुरस्कारबाट मोडल तथा गायिका बबिता ढकाल नगद रु. २० हजार सहित पुरस्कृत भएकी थिईन् । त्यस्तै सञ्चारकर्मी गीता अधिकारीलाई नगद रु. १० हजार सहित निशा घिमिरे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

वरिष्ठ कलाकार भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी, मिथिला शर्मा, शर्मिला मल्ल, सपना श्रेष्ठ, सुचित्रा श्रेष्ठ, दिपाश्री निरौला, निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहाल एवम् परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ चलचित्र लेखक तथा निर्देशक मोहन निरौला लगायतले सो पुरस्कार संयुक्त रुपमा प्रदान गरेका हुन् ।

चेतन कार्की स्मृति पुरस्कार पाएपछि निर्देशक आकाश अधिकारीले आफ्नो जीवनमा पहिलोपटक नगद राशी सहित पुरस्कार प्राप्त गरेको भन्दै परिवर्तन नेपाललाई धन्यवाद दिएका थिए । नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्नका निमित्त खेलेको अहम् भूमिकाको लागि अधिकारीलाई सो  पुरस्कार प्रदान गरिएको कुरा परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष निरौलाले बताएका छन् । विशिष्ट चलचित्र लेखक तथा निर्देशक निरौलाले आफ्ना गुरु चेतन कार्कीको नाममा स्मृति पुरस्कारको स्थापना गरिएको जानकारी गराएका छन् ।

कार्यक्रममा दयाराम दाहालले आफूले प्राप्त गरेको सम्मानको लागि आयोजकलाई धन्यवाद दिँदै सरकारले कलाकर्मी एवम् चलचित्रकर्मीहरुको हितको लागि सामाजिक सुरक्षा कोषको निर्माण गर्नुपर्नेमा जोड दिए । उनले चलचित्र विकाश बोर्डको अध्यक्ष रहँदा नै सामाजिक सुरक्षा कोषको लागि पहल समेत गरेका थिए । कार्यक्रममा अभिनेत्री अनु शाहले यो पुरस्कार ग्रहण गर्दा निक्कै भावुक भएको र अभिनेत्री तथा मोडल निशा घिमिरेलाई सम्झिएको बताईन् । कार्यक्रममा विशिष्ट अभिनेत्री मिथिला शर्माले अग्रज चलचित्र निर्देशक स्व. चेतन कार्कीको योगदानको चर्चा गर्दै भनिन् -“ कला, साहित्य, संस्कृति एवम् चलचित्र क्षेत्रको विकासको लागि उच्च योगदान दिएका एक धरोहर हुन् स्व. चेतन कार्की l तर राज्यले उनको योगदानको कदर नगरेको देख्दा मलाई निक्कै दुःख लागेको छ l परिवर्तन नेपालले उहाँको स्मृतिमा पुरस्कारको स्थापना गरी योगदानलाई स्मरण गरेकोमा धन्यबाद दिन चाहन्छु l”

अभिनेत्री शर्माले स्व. कार्कीसँग चारदशक भन्दा अगाडिदेखि विभिन्न चलचित्र तथा गीत/सङ्गीत क्षेत्रमा काम गरेकी थिईन् । चलचित्र निर्देशक एवम् परिवर्तन नेपालका मानार्थ सदस्य माधवराज खरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष एवम् विशिष्ट चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले स्व. चेतन कार्कीको योगदानको चर्चा गर्दै त्यस्ता महान व्यक्तिको नाममा पुरस्कार स्थापना गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । नव जीवन परोपकारी समाज एवम् निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकार, निर्देशक एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन अभिनेत्री पवित्र आचार्य र निर्देशक रामशरण कोईरालाले गरेका थिए ।