नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा

-डा. डी. आर. उपाध्याय खनाल

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै कानुनी दायरामा आउनु पर्छ । यो मानव तस्करी हो । मानव तस्करी गर्नेलाई कानुन बमोजिम कारवाही अघि बढाउनु पर्छ । कसैको दवाव र प्रभावमा परेर यो मुद्दालाई खुकुलो बनाउने काम गर्नु उचित हुने छैन । बहालवाला सचिव र राजनीतिक दलकै नेता यस्तो धन्दामा फस्नु भनेको देशकै बेइजत हो । उच्चपदस्थ कर्मचारीको संलग्नता भेटिएपछि अब अरु थप अनुसन्धान गर्नु पर्ने आवश्यकता देखिएको छ । यसरी उच्चपदस्थ कर्मचारी र ठूला नेता गैरकानुनी धन्दामा लाग्न लाज लाग्नु पर्ने हो ।

देशकै पूर्व उपप्रधानमन्त्री भइसकेका नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र बहालवाला सचिवको यो मुद्दामा नाम जोडिनु भनेको आश्चर्यको बिषय बनेको छ । रायमाझी अझैसम्म फरार छन । यद्यपि, नेपालमा भ्रष्टाचारजन्य घटनामा उच्च राजनीतिक व्यक्ति र उच्च तहका प्रशासक संलग्न भएको यो पहिलो घटना भने होइन । विगतमा पनि भ्रष्टाचारजन्य कार्यमा पहुँचवाला व्यक्तिको संलग्नता भेटिने गर्दथ्यो । तर सत्ता र शक्तिको आडमा उनीहरुलाई चोख्याउने काम हुने गर्दथ्यो । अब त्यस्तो नहोस् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्तिको नाम जोडिएपछि यो बिषय यतिबेला चर्चामा छ । राजनीतिमा सक्रिय व्यक्ति यस्ता घटनामा संलग्न हुनु भनेको देश र जनताप्रतिको बेइमानी हो । यस्ता नेताबाट जनताले के सिक्ने ? के आश गर्ने ? प्रश्नहरु धेरै उठेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण आफैंमा एउटा गम्भीर अपराध हो । नक्कली शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने जुन धन्दा यतिबेला छताछुल्ल भएको छ, त्यसले सबैको आँखा खुलाइदिएको छ । यो धन्दामा संलग्नलाई कानुनबमोजिम कारबाही हुनैपर्छ । कुनै पनि अर्थमा तिनलाई उन्मुक्ति दिनु हुन्न । घटनामा संलग्न केही व्यक्ति पक्राउ समेत परिसकेका छन् । अभियोगमा संलग्नलाई पक्राउ गर्न प्रहरीले जुन सक्रियता देखाएको छ, त्यो प्रशंसनीय नै छ । अब फेरि यस्तै प्रकृतिका धन्दा नदोहोरियोस् भन्ने हाम्रो भनाई हो । नक्कली शरणार्थी बनेर अमेरिका जानेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । घटनालाई राजनीतिक प्रतिशोधका रूपमा नहेरी सत्यतथ्यलाई बाहिर ल्याएर दोषीमाथि कारबाही गर्ने काम सरकारले खुट्टा नकमाइ गरोस् ।