अमेरिकाको केन्टुकीमा भजन, कीर्तन  तथा आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न

-प्रकाश सुवेदी (केन्टुकी, अमेरिका)

कला होस् या संस्कृति, धर्म होस् या परम्परा, स्वदेशबाट जति टाढा रह्यो त्यति नै प्यारो लाग्छ । मान्छे जहाँ गए पनि आफ्नो संस्कृतिको सुगन्धबाट टाढा रहन सक्दैन र आफ्नोपन खोज्दै एक अर्कासँग सङ्गठित हुँदै जान्छ । यसरी नै सङ्गठित भएका प्रवासी सङ्गठन मध्ये गरिमा बोकेको एक संस्था हो अमेरिकाको केन्टुकी प्रान्तमा रहेको ANTA अर्थात् `एसोसियसन अफ नेपली इन केन्टकी अमेरिका´ ।

 ३ मार्च २०२४ का दिन यही संस्थाको आयोजनामा लेग्जिण्टनमा रहेको हलमा नेपाली समुदायहरुका बिचमा भजन, कीर्तन  तथा आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सन्त कुँवरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख बाचक गुरुदेव केशव आचार्यका साथमा गुरुदेव सुदामा र  गुरुदेव किशोर किश्मेरी दास रहनु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरत उप्रेतीले गर्नुभएको थियो भने आमन्त्रित गुरुदेव तथा अतिथिहरुलाई संस्थाका उपाध्यक्ष टीका देवकोटाले फूलगुच्छा दिएर स्वागत गर्नुभएको थियो ।

समाजसेवी तथा शिक्षक दुर्गादत्त घिमिरे, सौभाग्य सुन्दरी, श्री गोपाल कँडेल, बाबुराम अधिकारी, मोहन घिमिरे, परशुराम आचार्य, दिलु पराजुली लगायतका अतिथिहरुको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गीतकार प्रकाश सुवेदीले राष्ट्रिय भावका गीत वाचन गर्नुभएको थियो भने अरबिन्द निरौला, विष्णु डुम्रे, अर्जुन किशोर न्यौपाने लगायतले भजन गाउनुभएको थियो ।

प्रवचन दिने क्रममा आधुनिक युगको समस्या र आध्यात्मिक समाधानमाथि जोड दिँदै प्रमुख वाचक केशव आचार्यले हाम्रो संस्कृति भनेको आत्मीय स्तरमा व्यवहार गर्ने किसिमको भएता पनि यो समय कलिको हो र कलिले एक अर्काको सामीप्यताको दूरीलाई बढाउने हुँदा विदेशमा आएर एक अर्का बिचमा एक्लै वा झुण्ड बनाएर बाँडियौं भने नेपालीको पराजयको सुरुआत हुन्छ भन्दै दूरी घटाई जतिसक्दो समीप रहन निवेदन गर्नुभयो ।