उपनिर्वाचनको मत परिणामले दिन खोजेको सन्देश

-डा. डी. आर. उपाध्याय खनाल

राजनीति हो, कतिखेर कुन पार्टी ठूलो हुन्छ र कतिखेर कुन । पुराना पार्टी भनेर मात्र हुँदैन । बिचार, नीति, सिद्धान्त ठिक भए पनि ब्यवहारमा लागू गर्न सकेनन् भने त्यसको कुनै अर्थ हुँदैन । उपनिर्वाचनको मत परिणामले जुन किसिमको सन्देश दिन खोजेको छ त्यो सहि हो । अब पुराना पार्टी भन्दैमा जनताले जोगाउने पक्षमा छैनन् । पुराना पार्टीहरुलाई जनताले पटक पटक सुध्रने मौका नदिएका होइनन् । तर कुनै पनि दलहरुले चासै दिन खोजेनन् ।

रवि लामिछाने र स्वर्णिम वाग्लेले सानदार रुपमा अत्याधिक मतले जितेका छन् र अर्को २०८४ सालको चुनावका लागि राम्रो सन्देश दिएका छन् । अब पुराना ठूला दलहरु सच्चिने कि सक्किने भन्ने बिषयमा गम्भीर प्रश्न उठ्ने गरेका छन् । अब पनि ठूला दलले सच्चिने बाटो तत्काल खोजेनन् भने उनीहरु माथि समस्या तेर्सिने छ ।

आज नेपाली जनता ठूला दलप्रति वाक्क दिक्क भएका छन् । पटक पटक सरकारमा गएर पनि मुलुक बनाउने मार्गचित्र कोर्न सकेनन् । यो नै ठूलो समस्या हो । अब जनताले युवाको नेतृत्व र परिवर्तन खोजिरहेका छन् । अब नेपाली जनता धेरै बुझ्ने भएका छन् । भ्रमको राजनीतिमा जनता अब अल्झिदैनन् । यो कुरा ठूला दलहरुले बुझे पनि हुन्छ । सत्तारुढ दल पुरै गठबन्धनका पार्टीहरु लागे पनि चितवनमा रवि र तनहुँमा स्वर्णिम वाग्लेलाई हराउन सकेनन् । आज देशभरि रास्वपाको चर्चा चलिरहेको छ । युवाहरुले देशमा बिकास, समृद्धि र रोजगारी खोजेका छन् । तर पुराना र ठूला पार्टीहरुवाट सम्भव नदेखेपछि शान्तिपूर्ण बिद्रोह गरिरहेका छन् । जनतामा असन्तुष्टि चुलिदै गयो भने मतदानवाट यस्तै परिणाम दिन्छन् ।

ठूला दलहरुले आगामी दिनमा आफ्ना कार्यकर्ताहरुको भोट समेत जोगाउन नसक्ने अवस्था बन्न सक्ने छ । जनताले आश गरेका दलहरुवाट पनि मुलुकको प्रगति हुन सकेन । मुलुकको प्रगति नभए पछि जनताले बिकल्प रोज्छन् । आज भएको त्यही हो । देशमा बिकृति, बिसंगति, भष्टाचार मौलाउँदै गएको जनताले नजिकबाट हेरिरहेका छन् । ठूला दलहरुले यी कुरामा ध्यान नदिए पछि जनतामा असन्तुष्टि हुनु स्वाभाविक हो ।

अझै केही बिग्रेको छैन, काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, मधेस केन्द्रित दल लगायत सबै अब सुध्रनु पर्छ । जनताको पक्षमा काम गरेर देखाउनु पर्छ । देशमा बिकास र समृद्धि ल्याउने कुरामा दलहरु गम्भीर बनेर अघि बढ्नु पर्छ । ठूला दलहरुले बिगतमा गरेका गल्तिबाट पाठ सिकेर अघि बढ्ने कोसिस गर्नु पर्छ । आफ्ना आसेपासे र नाता गोतालाई मात्र पोस्ने काम दलहरुले जुन गल्ति गर्दै आएका छन् यसमा गम्भिरता देखाउनु पर्ने देखिएको छ । समय छँदै सच्चिने काम भयो भने पार्टी जोगाउन त्यति समस्या नहुन सक्छ ।

लोकतन्त्रवादी शक्तिहरुका बीच सहकार्य गरेर जानुपर्ने अवस्था पनि आउन सक्छ । समय, परिस्थिती अनुसार दलहरु चल्न सकेनन् भने कुनै काम छैन । ती दलहरु खिइदै जाने हुन् । अब जनताले आश्वासन अनुसारको परिणाम खोजिरहेका छन् । त्यो पार्टीहरुले पूरा गर्न सकेनन् भने आफैं सकिदै जाने हो । अरु कुनै बिकल्प छैन ।