सेलाएको छैन अझै लामिछानेले बोलेका कुराको तरङ्ग

-डा. डी. आर. उपाध्याय खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही दिन अघि भब्य पत्रकार सम्मेलन आयोजना गरेका थिए । मैले त्यति ठूलो भब्य पत्रकार सम्मेलन अहिलेसम्म देखेको थिईन । पत्रकार र क्यामराको भिड मात्र देखिन्थ्यो । जव लामिछाने मूलधारका मिडिया र पत्रकार बिरुद्ध खनिए त्यसले तरङ्ग ल्याइदियो । कान्तिपुरका मालिक देखि अन्नपूर्णका मालिक लगायत पत्रकार समेत गरि १२ भाइको खेदो खने । ऋषि धमलालाई जोक्कर समेत भन्न भ्याए ।

लामिछानेले बोलेका कुराको तरङ्ग अझै सेलाएको छैन । रविको पक्ष र बिपक्षमा मत जाहेर गर्नेको कुनै कमी छैन । पत्रकार महासंघले प्रेस स्वतन्त्रता माथिको प्रहार भन्दै बिज्ञप्ती नै निकाल्यो । पत्रकार सम्मेलनमा रवि आक्रोशमा आए । आक्रोशमा नआइ नम्र भएर बोलेको भए राम्रो हुन्थ्यो । त्यति अडकल उनमा भएन । रवि साहसी र आँटीला ब्यक्ति हुन् । रविले १२ भाइ बिरुद्ध लगाएको आरोपका बारेमा म जान्दिन तर यति थाह छ, संचार क्षेत्रमा पनि ब्यापक सुधारको खाँचो छ । यो क्षेत्रलाई ब्यापक सुधार गरेर मर्यादित र बिश्वाशिलो बनाउनु पर्ने जरुरी भने पक्कै छ ।

बारम्वार संचार क्षेत्रमाथि किन प्रश्न उठछ ? यो प्रश्नको खोजी गर्न जरुरी छ । देशमा देखिएका बिकृति, बिसंगतिका बिरुद्ध पत्रकारले कलम चलाउन र बोल्न डराउनु हुँदैन । लुकेका, लुकाइएका र लुकाउन खोजिएका कुराहरु बाहिर ल्याउनु असल पत्रकारको धर्म र कर्तव्य हो । संचार कर्ममा रहुन्जेल लामिछानेले यस्तै र साना साना जनताका पीर मर्काका कुरा बाहिर ल्याए र चर्चामा पनि आए । अनियमितता र भ्रष्टाचारका कुरा बाहिर ल्याए ।

सिधा कुरा जनतासँग भन्ने उनको कार्यक्रम छोटो समयमा चर्चामा आयो । उनको सतकर्मले जोडेको सम्पति भनेको जनता थिए । त्यही भएर पार्टी खोलेको ६ महिना भित्र नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको चौथो राजनीतिक शक्ति बनाउन उनी सफल भए । उनको यो सफलताका बारेमा कसैले चासो देखाएन । यो कसरी सम्भव भयो भनेर मूलधारका संचार माध्यमले कहिंकतै लेखेनन् । रविको खेदो खन्ने बाहेक मूलधारका संचार माध्यमले अरु केही गरेनन् । त्यसो भएर रवि आक्रोशित भएको हुनु पर्छ ।

सर्वोच्चको फैसलाले एकैचोटी संसद पद र मन्त्री गएको छ किन रवि आक्रोशित नहुन् ? रवि देशमा केही गरेर देखाउँछु भन्ने आँटीला ब्यक्ति हुन् । उनको बारेमा गुन गान गाउन खोजेको होइन, सत्य कुरा त भन्नै पर्छ । छोटो समय मन्त्री भए, काम त राम्रै गर्न खोजेका हुन् l यो कुरा सबैले स्वीकार गर्न सक्नु पर्छ । राम्रो काम गर्न खोज्नेहरुलाई यो देशमा खुट्टा तान्ने प्रबृति बढ्दो छ । त्यसै सतिले सरापेको देश भनिएको रहेन्छ ।

यो देशमा रबि जस्तो आँटीलो र इमान भएको नेताको खाँचो छ । हेर्दै जानुहोला रवि फेरि उदाएर आउने छन् । उनको पक्षमा ठूलो जनमत बढ्दै छ । यो घटनाक्रमले त रविको पक्षमा झन्  ठूलो माहोल खडा भए जस्तो देखियो । तस्कर, माफिया, दलाली, भ्रष्ट बाहेक अरु सबै सर्बसाधरण जनता रविको पक्षमा छन् । यो कुरा म ठोकेर भन्छु । राम्रो काम गर्न खोज्नेलाई किन गिराइन्छ ? देश र जनताको भबिश्य राम्रो बनाउन खोज्नेलाई यो देशमा किन पाखा लगाइन्छ ? हरेक क्षेत्रमा राम्रो काम गर्न खोज्नेहरुलाई खुट्टा तानेर ढलाइएको देखिएको छ । अब सबै जनता गम्भीर बन्नु पर्ने अवस्था आएको छ ।

नेपाली जनताले आश्वासन होइन, परिणाम खोजिरहेका छन् । परिणाम दिन सरकार अग्रसर भएर लाग्नु पर्ने देखियो । रविको संसद र मन्त्री पद गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ तर समर्थन भने फिर्ता लिएको छैन । अबको राजनीति कसरी अघि बढ्छ त्यो त अहिले भन्न सकिँदैन ।