तीन वर्षको उमेरमै भाइरल, प्रख्यात नृत्याङ्गनाको पुनर्जन्म नै हो त ?

-तुलसी गिरी ‘भावुक’

पुनर्जन्ममा विश्वास राख्नेहरुले उनलाई आफ्ना अधुरा सपना पूरा गर्नको लागि कुनै प्रख्यात नृत्याङ्गनाको पुनर्जन्म भएको हो पनि भन्ने गरेका छन् l कसैको चाहना, प्रेरणा र प्रशिक्षण बिना स्वईच्छा र स्वअभ्यासकै भरमा ३ वर्षको उमेरदेखि नै मनमोहक नृत्य गरेर सबैलाई चकित पर्दै आएकी बालिका रुचिका भट्टराई अहिले ७ वर्षकी भइन् l स्वयम् गायिका समेत रहेकी उनकी आमा लक्ष्मी दाहाल शर्मा भन्छिन्- ‘बालकुमारीमा दाहाल दिदी-बहिनीहरुले आयोजना गरेको तीज कार्यक्रम थियो l त्यो बेला छोरी ३ वर्षकी थिईन् l विष्णु माझीको चरी जेलैमा गीत बजेपछि उनी नाच्न थालिन् l धेरैले मोबाइलले खिच्नुभयो र टिकटकमा हाल्नुभयो l भिडिओ रातारात भाइरल भयो l मैले ३ वटा भिडिओ हालेकी थिएँ, जुन १८ लाख, १६ लाख र ५ लाख भन्दा केही बढी भ्युज गएका छन् l’

रुचिका अहिले कोटेश्वरस्थित नवज्योति सेकेण्डरी विद्यालयमा कक्षा १ मा पढ्छिन् l ३ वर्षको उमेरमै सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि आफन्त, साथीभाइ र शुभचिन्तकहरुबाट धेरै राम्रा प्रतिक्रियाहरु आएको कुरा रुचिकाकी आमा लक्ष्मीले जानकारी गराइन् l फुर्सद हुनासाथ आफैं गीत गाउँदै रुचिकाले कोठामा एक्लै नृत्यको अभ्यास गर्ने गरेको कुरा समेत लक्ष्मीले बताएकी छिन् l केही समय अघि रुचिका नृत्य सिक्नका लागि साधना कला केन्द्र गएकी थिईन् l ७ दिन मात्र भएको थियो, स्कूलको परिक्षाले गर्दा नृत्य प्रशिक्षण स्थगित भयो l उनले अहिलेसम्म औपचारिक रुपमा नृत्य सिकेको नै त्यही ७ दिन हो l

‘धेरै मान्छेहरु ‘छोरी ठूलो डान्सर बन्छिन्, सपोर्ट गर्नु है’ भन्छन् l मलाई पनि त्यस्तै लाग्छ l म पनि सङ्गीत-कलाकै क्षेत्रमा भएकोले छोरीको चाहनाप्रति मेरो पूर्ण साथ रहँदै आएको छ र सधैं रहने छ l कतिपय आफ्ना अधुरा ईच्छा पनि उनले पूरा गर्नेछिन् भन्ने मलाई विश्वास छ’ लक्ष्मी भन्छिन् l

घरमा हेरदेख गर्ने मान्छे नभएपछि आफू जहाँ जाँदा पनि छोरीलाई साथै लानु सुरु सुरुमा लक्ष्मीको बाध्यता थियो भने आज अनिवार्य जस्तै भएको छ l साङ्गीतिक कार्यक्रम होस् या बिहे, पूजा र व्रतबन्ध अथवा पिकनिक नै किन नहोस् रुचिकाको नृत्य हेरेर छक्क पर्नेहरुको संख्या आज लाखौँ पुगिसकेको छ l त्यस्ता जमघटहरुमा अपरिचित मान्छेहरुले समेत नगद दिएर छोरीलाई पुरस्कृत गर्दा, उनका बारेका जिज्ञाशा राख्दा र उनीसँग फोटो खिच्दा असिम आनन्दको अनुभूति हुने कुरा लक्ष्मी बताउँछिन् l क्रिएटिभ वर्ल्ड नेपालले आयोजना गरेको ‘राइजिङ स्टार’ नामक प्रतियोगितामा रुचिका समेत छनोट भएकी छिन् l जसको फाइनल कार्यक्रम आगामी वैशाख ८ गते सम्पन्न हुँदैछ l

करिव ६ वर्ष अघि ‘ट्रेण्डिङ् नम्बर वान’ बोलको लोकदोहोरी  रेकर्ड गरेर गायन क्षेत्रमा औपचारिक यात्रा आरम्भ गरेकी सुर्खेत, दैलेखकी लक्ष्मी अभिनयको क्षेत्रमा पनि त्यत्तिकै अब्बल कलाकार हुन् l ‘क्वालिटी’ र ‘यो हो नि तरिका’ शीर्षकका दुई सिरियल साथै ‘नारीको पीडा’ शीर्षकको शर्ट मुभीमा मुख्य भूमिकामा अभिनय गरेकी लक्ष्मीले ‘कान्छा’ र ‘आमा सबैकी’ शीर्षकका दुई सिरियलमा समेत सहायक भूमिकामा अभिनय गरेकी छिन् l उनलाई केही म्युजिक भिडिओमा समेत मोडलको रुपमा देख्न सकिन्छ l कला क्षेत्रका धेरै विधामा उत्तिकै कुशलताका साथ आफ्नो प्रतिभा प्रस्तुत गरिरहेकी लोकदोहोरी तथा देउडा गायिका लक्ष्मीका ‘पछ्यौरीले जाडो छेक्छ र, घुमाउने घर र तिम्रै माया लाउँछ’ बोलका गीत लोकप्रिय छन् l