संवाद, सहमती र सहकार्यको राजनीति

-डा. डी. आर. उपाध्याय खनाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई विपक्षमा रहेको नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । नेपालको राजनीति फेरि सहकार्यको बाटोमा जान लागेको त होइन ? भन्ने प्रश्न पनि उठ्ने गरेका छन् । संवाद, सहमती र सहकार्य आजको आवश्यकता पनि हो । देश बनाउने भनेको सबै मिलेर हो, एक्लै देश बनाउन सकिँदैन । मुलुकलाई नयाँ युगमा प्रवेश गराउन सबै राजनीतिक दलहरु मिलेर जानु पर्छ । इतिहासमा संवाद, सहमती र सहकार्यको राजनीतिले ठूला ठूला उपलब्धिहरु हासिल भएका छन् । इतिहासबाट पाठ सिकेर दलहरु अघि बढ्डा राम्रै हुन्छ ।

नेपाली राजनीति सहमति, सहकार्यको बाटोमा अगाडि बढ्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री प्रचण्डमाथि संसदमा देखिएको भारी विश्वासको मत यसको आधार हो । देशको समग्र विकास र सुशासन आजको आवश्यकता हो । अब मुलुकले नयाँ मार्गचित्र कोर्न सक्नु पर्छ । नेपाली राजनीतिमा नयाँ आयाम थपिएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई प्रतिपक्ष समेतले विश्वासको मत दिनु भनेको देश नयाँ यात्रामा अघि बढ्नु हो । जे होस् नेपाली जनता यस कुरामा खुशी नै छन् । नेपाली राजनीतिमा कतिखेर के हुन्छ कसैले अनुमान लगाउन सक्दैन । राजनीति घटनाक्रम पछि मात्र थाहा हुन्छ । वर्तमान सरकारले लगभग सबै राजनीतिक दल तथा सांसदहरुको पूर्ण विश्वास पाएको छ । यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सकेमा धेरै राम्रो हुने थियो ।

यो सरकार सामु अवसर पनि आएको छ, चुनौति मात्र देखनु हुँदैन । नयाँ सरकारप्रति सबैको बिश्वास देखिएको छ । तर काम गर्दै जाँदा के हुन्छ त्यो हेर्न बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिको राजनीतिलाई अगाडि बढाउने बताउँदै आउनुभएको छ । नेपालको राजनीति सहकार्यबाट अगाडि बढ्ने वातावरण अब तयार भएको छ । मुलुकमा ठूला राजनीतिक परिवर्तन सहमती र सहकार्यबाट आएका हुन् । कांग्रेसले बर्तमान सरकारलाई विश्वासको मत दिनु भनेको सहकार्यको राजनीतिमा जोड दिनु हो ।

संविधानको पूर्ण रक्षा आजको आवश्यकता हो । विश्वासको मतले राम्रो सन्देश दिएको छ । सरकारको कामकारबाहीका गुण र दोषका आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्ने कांग्रेसको भनाइ छ । कांग्रेसको यस कदमले नेपालको संसदीय राजनीतिमा राम्रो सन्देश दिएको छ । यो सरकार सबै नेपाली जनताको भलाई सोचेर अघि बढ्नु पर्छ । विशेषगरी प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दा संसदमा गर्नुभएका प्रतिबद्धता कार्यान्वयन गरेर जानु पर्छ । सरकारसँग आमनेपाली जनताको ठूलो आशा तथा भरोसा छ । मुलुकको समृद्धिको दिशामा सरकार प्रतिबद्ध र क्रियाशील भएर अघि बढ्नु पर्छ ।