प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा महोत्तरी र रामेछापमा चेतनामूलक कार्यक्रम सम्पन्न

 -तुलसी गिरी ‘भावुक’

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको आयोजनामा यही फागुन ९ गते महोत्तरीको जलेश्वर र १० गते रामेछापको मन्थलीमा ‘प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु तथा स्रष्टाले प्राप्त गर्ने रोयल्टी’ शीर्षकका दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन् l

प्राप्त जानकारी अनुसार फागुन ९ गते जलेश्वर, महोत्तरी, जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रम नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार पुण्य माया गुरागाईको सभापतित्व एवं जिल्ला अदालत महोत्तरीका न्यायधिश मदन बहादुर धामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको विशिष्ट आतिथ्यता रहेको सो समारोहमा रजिष्ट्रार गुरागाईले ‘प्रतिलिपि अधिकार प्रणाली तथा यसका विभिन्न पक्षहरु’ विषयक र प्रजिअ शिवराम गेलालले ‘प्रतिलिपि अधिकार हनन्मा पर्ने उजुरीको अनुसन्धान अभियोजनका विविध पक्षहरु’ विषयक छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सप्रजिअ उपेन्द्र न्यौपाने र प्राध्यापक ध्रुव रायले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो l

प्रतिलिपि अधिकार कानून कार्यान्वयनसँग सम्बन्धित क्षेत्रका कार्यालयका प्रतिनिधिहरु, विभिन्न विधाका सर्जक, पत्रकार, रेडियोकर्मी, शिक्षण पेशासँग सम्बन्धित व्यक्तिहरु, कानून व्यावसायी लगायतको उपस्थिति रहेको सो समारोहमा सहभागीहरुको तर्फबाट सह प्राध्यापक मनोज झा मुक्ति, प्रजिअ शिवराम गेलाल र जिल्ला न्यायधिश मदन बहादुर धामीले मन्तव्य राख्नुभएको थियो l

यसैगरी फागुन १० गते रामेछापको मन्थलीमा पनि ‘प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु तथा स्रष्टाले प्राप्त गर्ने रोयल्टी’ शीर्षकको कार्यक्रम सम्पन्न भएको छ l रजिष्ट्रार पुण्य माया गुरागाईको सभापतित्व एवं जिल्ला अदालत रामेछापका जिल्ला न्यायधिश इन्दिरा शर्माको प्रमुख आतिथ्यतामा मन्थली नगरपालिकाको सभा हलमा सम्पन्न सो समारोहमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको विशिष्ट आतिथ्यता रहेको थियो l कार्यक्रममा रजिष्ट्रार गुरागाईले ‘प्रतिलिपि अधिकार प्रणाली तथा यसका विभिन्न पक्षहरु’ र प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले ‘प्रतिलिपि अधिकार हनन्मा पर्ने उजुरीको अनुसन्धान अभियोजनका विविध पक्षहरु’ विषयक छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जिल्ला अदालत रामेछापका श्रेस्तेदार मधुसूदन आचार्य र शहीद स्मृति बहुमुखी क्याम्पस, मन्थलीकी सहायक क्याम्पस प्रमुख रिता दाहालले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो l

प्रतिलिपि अधिकार कानून कार्यान्वयनसँग सम्बन्धित क्षेत्रका कार्यालयका प्रतिनिधिहरु, भिन्न भिन्न विधाका सर्जक, पत्रकार, रेडियोकर्मी, शिक्षण पेशासँग सम्बन्धित व्यक्तिहरु, कानून पेशाकर्मीहरु लगायतको उपस्थिति रहेको सो कार्यक्रममा सङ्गीतकर्मी सुमन राई, प्रमुख जिल्ला अधिकारी अनिता निरौला र जिल्ला न्यायधिश इन्दिरा शर्माले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो l