मर्न दिनु हुँदैन जनतामा पलाएको आशा

-डा. डी. आर. उपाध्याय खनाल

नयाँ सरकार बनेसँगै केही थोरै भएपनि जनतामा आशा पलाएको छ । जनतामा पलाएको आशा मर्न दिनु हुँदैन । यो सरकारको दायित्व र कर्तव्य दुबै हो । जनतामा निराशा छायो भने देशमा समस्या उत्पन्न हुन सक्छ । त्यसो भएकोले सरकारले समयमै देश र जनताको पक्षमा काम गरेर देखाउनु पर्छ । जनता आशावादी हुनु भनेको राम्रो सङ्केत हो ।

नयाँ सरकार सामु अवसरसँगै चुनौति पनि छन् । वर्तमान प्रचण्ड सरकारले चुनौतिलाई पार गदैं राम्रो काम गरेर देखाउनु पर्ने आवश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरु मुलुकप्रति चिन्तित बन्नुपर्ने बेला आएको छ । राजनीतिक दल र तिनका नेताहरु इमान्दार नबन्दासम्म देश बन्न सक्दैन । सबैभन्दा ठूलो कुरा इमान्दारिता हो । देश बनाउने भनेको इमान्दार र दुरदर्शी नेताले हो । राजनीतिमा दुरदर्शीता चाहिन्छ ।

अहिलेसम्म दलका हर्ताकर्ताहरुले आफ्नो स्वार्थ बाहेक अरु केही हेरेनन् । त्यसले गर्दा पनि देश बन्न नसकेको हो । अब त्यस्तो हुन दिनु हुँदैन । मुलुकलाई बिकास र समृद्धिको यात्रामा अघि बढाउन सबैले आ-आफनो ठाउँबाट सहयोग गर्नु पर्छ । देश बनाउने भनेको मिलेर हो । अब सरकारले चुनावका बेला जनतालाई दिएका आश्वासन र प्रतिबद्धता कार्यान्वयनमा देखाउनु पर्छ । जनताले खोजेको कुरा नै यो छ अहिले ।

आज देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दै छ । बेरोजगारलाई रोजगार दिनु राज्यको कर्तब्य हो । राज्यले यो कुरामा बिशेष ध्यान दिनुपर्ने आवश्यकता छ । स्वदेशमा काम नपाएपछि आफ्नो जहानपरिवार पाल्नका लागि धेरै युवाहरु बाध्यात्मक रूपमा विदेसिनु पर्ने अवस्था छ । गाउँघरमा वृद्ध आमाबाबु बाहेक अरु बस्न छोडे । यो ठूलो समस्या हो । देशमा सामान्य जीविकोपार्जन गर्न सकिने अवस्था सिर्जना गरेर राज्यले चमत्कार देखाउन सके सबै खुशी हुने थिए ।

युवाशक्ति विदेसिनाले देशमा जनशक्तिको अभाव भइरहेको छ । रहरले कोही खाडी मुलुक गएका छैनन् l त्यो सब बाध्यात्मक हो । अब सरकारले देशमै रोजगारी सिर्जना गर्ने बातावरण मिलाउनु पर्छ । सधैभरि मुलुक यस्तै अवस्थामा रहन सक्दैन । बिकाश र समृद्धि आजको आवश्यकता हो । अब सरकार गम्भीर भएर अघि बढ्नु पर्छ । अब कुरा गरेर होइन, काम गरेर देखाउनु पर्छ । जनताले परिणाम खोजेका छन् ।

अब सरकारले स्वरोजगारका सम्भाव्यताको खोजी गर्नुपर्छ । पढे लेखेका अधिकांश युवा काम नपाएर सडकमा भौतारिरहेको हामीले देखिरहेका छौं । बेरोजगारी समस्या भनेको ठूलो समस्या हो । यो समस्या छिटो हल गर्दै जानु पर्छ । समस्या आउँछन् तर ती समस्यासँग डटेर अघि बढने आँट र साहस गर्नु पर्छ । बर्तमान सरकार देशप्रति गम्भीर भएको देखिन्छ । तर काम गर्दै जाँदा यो सरकारको गति कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ । अब सरकारले गतिका साथ काम गरेर जनतालाई परिणाम दिनु पर्छ ।