नेपालमा के छैन ?

-डा. डी. आर. उपाध्याय खनाल

नेपालको राजनीतिमा कतिखेर के हुन्छ यसै भन्न सकिँदैन । राजनीतिक दल र तिनका नेताहरु मुलुकप्रति खासै गम्भीर भएको देखिँदैन । आज देश आर्थिक, सामाजिक, राजनीतिक सबै हिसावले सङ्कटमा छ । देशमा कुनै एक दलको स्पस्ट बहुमत आउन नसकेकोले गठबन्धन सरकार गठन गर्नु पर्ने बाध्यता हाम्रो सामु छ । अहिले देशमा फेरि नयाँ गठबन्धन सरकार गठन भएको छ । तर यो गठबन्धन सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन । बिश्वासको मत प्राप्त गरिसके पछि मन्त्रीपरिषदलाई पूर्णता दिने कुरा पनि बाहिर आएको छ ।

आज हाम्रो देशमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको छ भने तेस्रो दल माओवादी केन्द्र सरकारको नेतृत्व गर्न सफल भएको छ । राजनीतिमा जे पनि हुँदो रहेछ । गठबन्धनको राजनीतिले मुलुकलाई सही दिशातर्फ लान सक्दैन । गठबन्धनको राजनीति जुनसुकै बेला पनि दुर्घटना हुन सक्छ । चुनाव अघि नेपाली काँग्रेस सहितको पाँच दलीय गठबन्धन थियो । सत्ता स्वार्थकै कारण चुनाव पछि सरकार बनाउने बेलामा गठबन्धन टुट्यो र एमाले सहितको सात दलीय नयाँ गठबन्धन बनेको छ । यो गठबन्धन पनि सत्ता स्वार्थकै लागि निर्माण भएको हो । देश र जनताको पक्षमा बनेको हुँदै होइन । त्यसैले कोही नेपाली जनता भ्रममा पर्न आवश्यक छैन । सबै कुरा प्रस्ट छ ।

आफ्नो स्वार्थ पूरा हुँदा सबै ठीक हुने स्वार्थ पूरा हुन नसक्दा त्यो कुरा बेठिक हुने यो नेपालको राजनीति के हो ? मैले बुझ्न सकिरहेको छैन । बिगतमा एकले अर्कोलाई तल्लो स्तरमा झरेर गाली गलोज गर्नेहरु आज एक ठाउँमा बसेका छन् । प्रधानमन्त्री प्रचण्डसामु चुनौतीका चाङ चुलिएका छन् । उनले ती चुनौतीलाई कसरी पार लगाउन सक्लान् भन्ने नै महत्वको बिषय बनेको छ । देशमा राजनीतिक प्रणाली बदलियो । देशमा शासन सत्ता पनि पटक पटक फेरिए, तर राष्ट्रको मुहार भने फेरिएन । देशमा सुशासन आएन । अब प्रधानमन्त्री दाहालले देश कस्तो बनाउने भन्ने बिषयमा गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ ।

चुनौति मात्र हेरेर बस्नु हुँदैन चुनौतिसँगै अवसर पनि आएको हुन्छ । यो अवसरलाई उनले खेर फाल्ने काम भने गर्नु हुँदैन । मौका आउँछ पर्खेर बस्दैन । नेपालमा के छैन ? प्राकृतिक र सांस्कृतिक सम्पदामा विश्वमै सम्पन्न छौं हामी । हिमाली खोला-नाला समुद्रसम्म निरन्तर बगिरहेका छन् । हाम्रो देशलाई त्यसै ‘हरियो वन नेपालको धन’ भनिएको होइन । हाम्रो देशलाई कृषिप्रधान देश भनिन्छ, तर हामी खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनौं । बर्सेनि हजारौं युवा पढ्न र काम गर्न भनेर बिदेसिएका छन् । कामको खोजीमा युवा जनशक्ति खाडी र मलेसियामा गएर पसिना बगाउन विवश छन् । अर्थतन्त्र अधोगतिमा छ ।

हामी नगरेर पछि परेका हौं । हामी आफनै देशमा सानोतिनो काम मिहिनेत गरेर खान लजाउने गर्छौं, यो नै समस्या हो । कामलाई ठूलो सानो भन्नु हुँदैन । काम सबै बराबर हो । यो सोच राज्यले बनाउनु पर्छ । सबै नेपालीलाई सम्मानजनक काम दिने ब्यवस्था राज्यले मिलाउनु पर्छ । यो राज्यको दायित्व र कर्तब्य दुबै हो ।