मियो बिनाको दाइँ

नेपाली रङ्ग क्षेत्रका सर्जक, कलाकार या पत्रकार बिरामी पर्दा आर्थिक सहयोगको लागि देश – विदेशबाट हातेमालो गर्ने अत्यन्तै प्रसंसनीय सस्कार बिकशित भैरहेको छ l मानवीय धर्म र सहकर्मीप्रतिको दायित्व एबम् प्रेम  दुवै दृष्टिकोणबाट यस्ता कामको खुलेर प्रसंसा नगरीरहन सकिन्न l हिजोआज यस क्षेत्रमा स्थापित अनेक पेशाकर्मी सङ्घ-संगठनहरुले पनि यस्तै उद्देश्यका साथ कल्याणकारी कोषको स्थापना गरि  बिरामी भई आर्थिक संकटमा परेकाहरुलाई सहयोग समेत गर्दै आइरहेका  छन् l तथापि सङ्गीतकार सङ्घका अतिरिक्त कुनैपनि संस्थाले यस्ता कोषको आय-व्यय सार्बजनिक गर्ने गरेका छैनन् l हुन त  पूर्बकालमा पनि आर्थिक सहयोग जुटाउने यस्तो प्रचलन नभएको भने हैन, तथापि यो भावना र चेतना हिजोआज अलि ब्यापक भएको महसुस गर्न सकिन्छ l
रंग क्षेत्रका सबै स्रस्टा-कलाकारको आयस्तर एकनाश पक्कै छैन l राम्रो  र आश्चर्यजनक आय भएकाहरुको पनि आम्दानी अपारदर्शी छ l राज्यप्रति आफ्नो कत्तिपनि दायित्व पूरा नगर्ने तर संधै राज्यबाट केहिपनि पाइएन भनेर गुनाशो गरिरहने संस्कारमा हुर्किएका छौ हामी l हामी अरुलाई मनोरन्जन मात्र दिदैनौ स्वयम् पनि मनोरन्जनप्रेमी छौं l आफ्नै स्वास्थ्यप्रति हामी अलिकति पनि सचेत छैनौ l यहाँ सचेत रहदैमा रोग नै लाग्दैन भन्ने आशय ब्यक्त गर्न खोजिएको हैन, तर हामी बिरामी पर्नु र हाम्रो मृत्यु हुनुमा अधिकांश कारण मदिरा र धुम्रपान नै हुनेगरेको छ l हामी बिरामीलाई दिल खोलेर सहयोग गर्छौ र उसको महानताको चर्चा गर्छौं l तर न त उसले आफैमाथि गरेका गल्ति औल्याउंछौं  न आफू नै सचेत रहन्छौ l मानौ थलिएको व्यक्तिलाई आर्थिक सहयोग गर्नु नै हाम्रो परम कर्तब्य हो l घटना  पुनरावृत्ति भैरहन्छन्, हामी धेरै भन्दा धेरै आर्थिक सहयोग कसरी गर्ने भन्ने अभियानमा लागिरहन्छौ-लागिरहेका छौं l
सेलिब्रेटी बिरामी पर्दा उसलाई के भएको हो र कति रकम सहयोग गरेमा ऊ स्वस्थ हुन्छ भन्ने कुरा थाहै नपाई व्यक्तिगत रुपमा देश-विदेशबाट रकम सङ्कलन गर्ने प्रचलन बढ्दो छ l जसले गर्दा एकातिर कसले को को व्यक्ति या कुन कुन संस्थाबाट कति रकम सङ्कलन गर्यो  भन्ने यकिन हुदैन भने अर्कोतिर पीडितले धमाधम आवश्कताभन्दा बढी नगद पाएमा त्यसको दुरुपयोग हुन सक्ने सम्भावना पनि त्यत्तिकै रहन्छ l प्रसंसनीय हुँदाहुँदै पनि सहयोग गर्ने यो शैली बैज्ञानिक र विधिसम्मत भने पक्कै छैन l रकम सङ्कलन मियो बिना दाइँ जस्तै भइरहेको छ l मनकारीहरुले गरेको अमूल्य सहयोगमा परोपकारको आवरणभित्र कसैले होली खेल्दैन भन्ने ग्यारेन्टी पक्कै पनि हुन्न l जुन कुरा महाभूकम्पको बेला अनुभब गरिएकै हो l मनोरन्जनप्रेमी हामी खानपान र जीवनशैलीप्रति अलि सजग हुने कि ? कसैलाई दु:ख पर्दा आवश्यकता अनुसार मात्र रकम सङ्कलन गर्ने र सङ्कलन शैलीलाई कसरी पारदर्शी, आधिकारिक र एकद्वार बनाउन सकिन्छ बेलैमा सोच्ने हो कि ?