बेरोजगारी समस्याका कारण युवाहरू निराश बन्दै

डा. डीआर उपाध्याय


अहिले देशमा बेरोजगारी समस्या बढदै गएको छ । यो हाम्रो देशको लागी चुनौतिको बिषय हो । जबसम्म देशमा बेरोजगारी समस्या समाधान हुदैन तबसम्म देशमा दिगो शान्ति कायम हुन सक्दैन । यो यथार्थ कुरा हो । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार छन् । कैयौँ युवायुवतीहरु देशको भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो उनीहरुको रहर होइन बाध्यता हो । शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा छरिएर रहेका छन् भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् ।विशेष गरेर ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । कृषि उत्पादन घट्दो छ ।अधिकांश युवायुवती रोजीरोटीको लागी विदेश पलायन छन् भने केही शहर पसेका छन् । त्यसकारण गाउँमा वृद्धवृद्धा मात्र बाँकी छन् । कोही बिरामी पर्दा अस्पताल पु–याउने र मर्दा लास उठाउँने युवाहरुको गाउँमा अभाव हुँदै गएको छ । यो हाम्रो देशको लागी दुर्भाग्य हो ।

हाम्रो देशमा बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्यँु छन् । बेरोजगार र गरिब जनतालाई अगाडि देखाएर सत्तास्वार्थको भ¥याङ चढ्ने प्रवृति हाम्रो देशका राजनीतिक दल र तिनका नेताहरुको छ । सत्तामा पुगेपछि सबैकुरा बिर्सने प्रवृत्तिका कारण गरिबीको संख्या बढिरहेको छ। दैनिक कमाएर बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ भएपछि बिदेसिनेको लर्को लागिरहँदा पनि सरकार भने बेखबरजस्तै छ । बढ्दो बेरोजगारीका कारण दिनहुँ जसो भैरहने सडक आन्दोलनमा युवाहरुको बाहुल्यता देखिन्छ । यसले गर्दा बेरोजगार युवायुवतीको अवस्था झन् बिजोक भइरहेको छ।

कोभिड– १९ का कारण मुलुकको अर्थतन्त्र थिलोथिलो बनिरहेको अवस्थामा राजनीतिक दलबीचको झगडाका कारण युवाहरू झन् निराश बन्दै गएका छन् । कोभिड समस्याका कारण धेरै नागरिक बेरोजगार बन्नुपरेको छ। कोभिडका कारण रोजगार गुमाएर विदेशबाट लाखौँ युवा फर्कने प्रारम्भिक अनुमान छ। एकातिर स्वदेशभित्र बेरोजगार दर बढिरहने र अर्कातिर विदेशबाट पनि धान्नै नसक्ने गरी युवा फर्कने अवस्था आएपछि अब देशको अवस्था के होला ? यो गम्भिर विषय हो । बेरोजगार युवाको परिचालन तथा व्यवस्थापनमा राज्यले जति गर्नुपर्ने थियो, त्यति गर्न नसक्दा समस्या थप बल्झिएको हो। यदि युवालाई कृषि कर्ममा लगाउन सकियो भने बिदेसिने पैसा स्वदेशमै रोक्न सकिन्छ। अब राज्यले दीर्घकालीन योजना बनाएर युवालाई सीपमूलक शिक्षामा जोड दिनु पर्छ । सीपमुलक शिक्षा भनेको गरी खाने शिक्षा हो ।