भ्रष्टाचारमा लिप्त हुन सक्ने सम्भावना बढ्यो

डा. डीआर उपाध्याय


यतिबेला नेपालको राजनीतिमा केही अन्योलता देखिएको छ । अहिले देशका विभिन्न ठाउँमा दैनिकजसो जुलुस, सभा र सम्मेलन भइरहेका छन् । आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा त भएको छ, तर निर्वाचन हुने वा संसद पुनर्स्थापना हुने भन्ने विषयमा बहस चलिरहेको छ । प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी परेको रिटमा सर्वोच्चको फैसलापछि मुलुकले निकास पाउने देखिन्छ । हालको राजनीतिक परिस्थितिका कारण आम नागरिकमा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको छ । राजनीतिप्रति वितृष्णा पैदा भइरहेको अवस्थामा कर्मचारीतन्त्रले आम नागरिकमा आशा जगाउने खालका काम गर्न सक्नु पर्छ ।

कर्मचारी संयन्त्रलाई स्थायी सरकारको रूपमा लिने गरिएको छ । नेपालको प्रशासन संयन्त्रले आम नागरिकलाई बिना झन्झट प्रभावकारी सेवा दिन सक्नु पर्छ । र अहिलेको चुनौतीपूर्ण अवस्थामा प्रशासन संयन्त्र आ–आफ्नो स्वार्थ भन्दा माथि उठ्न सक्नुपर्छ । कर्मचारीले कामचोर प्रवृत्ति त्याग्नु पर्छ । हाल देशको संक्रमणकालिन राजनीतिक अवस्थाको फाइदा उठाउँदै कर्मचारीहरु भ्रष्टाचारमा लिप्त हुन सक्ने सम्भावना बढेर गएको छ । व्यापारिक क्षेत्रबाट राजस्व छली गर्ने काम हुनसक्ने संभावना छ । राजस्वका कर्मचारीहरूले त्यसलाई रोक्न विशेष ध्यान दिनु पर्छ ।

अहिले राजनीतिक नेतृत्वमा देखिएको सत्ता स्वार्थका कारण राजनीतिक संकट चुलिदो अवस्थामा पुगेको छ । सत्ता स्वार्थका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमा पनि गम्भीर समस्या उत्पन्न भएको छ । यस्तो अवस्थामा संघ, प्रदेश र स्थानीय तहका कर्मचारी संयन्त्रले जिम्मेवारीपूर्वक काम गर्न सक्नु पर्छ । सरकारले ल्याएको नीति योजना तथा कार्यक्रमको कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीकै हो । राजनीतिक नेतृत्वप्रति वितृष्णा जागिरहेको अवस्थामा प्रशासनले इमानदारितापूर्वक जनताको मन जित्न सक्नु पर्छ । यस्तो संकटको अवस्थामा कर्मचारीतन्त्रले आफूहरू शासक नभएर देशको सेवक हो भन्ने भावनालाई आत्मसात गर्न सक्नुपर्छ ।