लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढ्नुपर्ने बेला आयो

-डा. डीआर उपाध्याय


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन । लामो समयदेखिको अध्यक्षद्वयका बीच देखिएको असमझदारी सतहमा आएको छ । नेकपाको नेतृत्वमा करिब दुईतिहाइको बहुमतको सरकार छ । यो ऐतिहासिक अवसरको सदुपयोग नेकपा र सरकारले गर्न सक्नुपर्ने थियो, तर सकेन । अब नेकपा आफना कमीकमजोरीहरू सुधार गर्दै आत्मसमीक्षाका साथ एक भएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । यो देशको आवश्यकता हो । यो झगडा कुनै सिद्धान्त र आदर्श वा नीतिगत द्वन्द्वका कारण सिर्जना भएको देखिँदैन । व्यक्तिगत अभीष्ट नै यसको प्रमुख कारण हो ।

अहिलेको विवाद दलभित्रका शीर्षस्थ नेतृत्वमा रहनेहरूको व्यक्तिगत महत्वाकाङ्क्षासँग सम्बन्धित छ । नेकपाले निर्वाचनमा गरेका प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न सकेन । आपसी झगडामा मात्र समय बितायो । देश सङ्क्रमणको महामारीबाट गुज्रिराखेको छ । यस्तो अवस्थामा दलका नेतृत्व तहमा रहनेहरू आपसी विवादमा रुमल्लिरहेका छन् । नेकपाभित्र स्पष्ट रूपमा गुट र उपगुटहरू देखिएका छन् । यो अवस्था लोकतन्त्र, देश र नेतृत्व तहमा रहनेहरू सबैका लागि हितकर छैन । यदि पार्टी विभाजन भयो भने ठूलो दुर्भाग्य हुनेछ । यसबाट देशको लोकतन्त्र र समग्र राजनीतिक पद्धति नै सङ्कटमा पर्छ ।

दलहरू सबल र प्रभावकारी हुँदा मात्र लोकतन्त्र बलियो हुन्छ । यो बिषयमा दलहरु गम्भीर हुनु आवश्यक छ ।अहिले गणतन्त्र विरुद्ध आवाज उठ्न थालेको छ । यो गम्भीर चिन्ताको विषय हो । राजावादीहरु गणतन्त्रको विरुद्धमा लागीरहेका छन् । प्रतिगामी तत्वहरु टाउको उठाउँदै छन् । सत्तारुढ तथा प्रतिपक्षी दलमा देखिएको आन्तरिक किचलोको फाइदा उठाउँदै उनीहरु अहिले सक्रिय हुन खोजेको देखिन्छ । लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढनु पर्ने बेला आएको छ ।