नेताले वाचा बिर्सिए । धनी र गरीब बीचको खाडल अझै बढ्यो ।

-डा. डीआर उपाध्याय


देशमा भ्रष्टाचार बढेको छ । नियन्त्रण हुने कुनै लक्षण देखिँदैन । केहीदिन पहिले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला र पूर्व प्रधानमन्त्रीहरू सत्तारुढ नेकपाका अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउनु भएको थियो । त्यसको कतै खण्डन गरेको पाइएको छैन । कोभिड—१९ का क्रममा स्वास्थ्य सामग्री खरिद गर्दादेखि भ्रष्टाचार र आर्थिक अनियमितताका अनेकौँ घटना सार्वजनिक भएका छन् । स्थानीय सरकारका पदाधिकारीमाथि पनि भ्रष्टाचारका आरोपहरू लागेका छन् । भ्रष्टाचार मौलाउन दिनु हुँदैन । पारदर्शिता नहुनु नै भ्रष्टाचार हो ।

देशमा चरम बेथिति बढिरहेको छ । देशमा सुशासन कायम हुन सकेको छैन । सर्वसाधारण समयमा उपचार नपाएर मरिरहेका छन् । अपराधका घटनाहरु बढिरहेका छन् । बेरोजगारी समस्याले यस्ता घटनाहरु निम्त्याउने गर्छ । देशमा बढ्दो बेरोजगारी समस्या छ । कोरोना भाईरसका कारण धेरै समस्या उत्पन्न भएका छन् । धनीहरु झन् धनी हुँदै गएका छन् । गरिबहरु झन् झन् गरिब बन्दैछन् । धनी र गरिव बीचको खाडल पुरिनु पर्ने आवाज दलहरुले उठाए पनि अझै कार्यान्वयनमा आएको छैन । कम्युनिष्टको त नारा नै धनी र गरिव बराबर हुने छ । अहिले मुलुकमा कम्युनिष्ट सरकार छ । यो सरकारले गरिव र धनी बीचको खाडल पुर्न सकेको छैन । युवा विदेशिने क्रम जारी छ । महँगीले सीमा नाघेको छ । कृषिप्रधान देशमा किसानले पैसा तिरेर मल किन्न पाउँदैनन् । शिक्षा र स्वास्थ्य महँगो हुँदै गएको छ । सर्वसाधरण जनता धेरै मर्कामा छन् । सरकारी सेवा सुविधा खाने बाहेक अरु सबैको समस्या बढेर गएको छ । राज्यले बुझेको खै ? राज्य दोब्बर, तेब्बर कर असुल्छ । नागरिकको समस्या बुझ्दैन । उद्योगधन्दा बन्द छन् । उत्पादनका क्षेत्रहरु साँघुरो बन्दै गएका छन् । अब ढिला नगरि राज्यले सोच्ने बेला आएको छ ।

अहिले परिस्थिति फेरिएको छ । हिजोको जस्तो परिस्थिति अहिले छैन । जनता सचेत हुँदै गएका छन् । अब जनतालाई ढाँटन र ठग्न सकिंदैन । ढाँटको राजनीति गर्ने समय यो होइन । जनतासँग जे बाचा गरिएको थियो त्यो कार्यान्वयन हुनुपर्छ । त्यसो भएमात्र जनताले विश्वास गर्ने ठाउँ रहन्छ । अहिले विज्ञान र प्रविधिले फड्को मारेको अवस्था छ । चाहेर पनि केही कुरा लुकाउन सकिदैन । सञ्चारमाध्यम मार्फत विकृति बिसङ्गतिका सबै कुरा बाहिर आउँछन् र आइरहेका छन् । यो नै विज्ञान र प्रविधिको बिकास हो ।