भारतीय विस्तारवाद नीति र नेताको लम्पसारवादी चरित्रको यथार्थ प्रस्तुति ‘काँडेतार’

-तुलसी गिरी ‘भावुक’

राष्ट्रवादी चलचित्रकर्मीको रुपमा सधैं चर्चामा रहँदै आएका  चलचित्र निर्माता, निर्देशक तथा कलाकार नवल खड्काको निर्देशन एवं प्रमुख भूमिका रहेको चलचित्र ‘काँडेतार’ शुक्रबार राजधानीमा प्रीमियर गरिएको छ l जमलस्थित विश्वज्योति हलमा सम्पन्न सो प्रीमियर शोमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री सीपी मैनाली, सिमाविद् बुद्धिनारायण श्रेष्ठ, विश्लेषक डा. सुरेन्द्र के.सी., विश्लेषक एवं कानून व्यावसायी स्वागत नेपाल लगायत चलचित्रकर्मी, सञ्चारकर्मी तथा विभिन्न पेशा र क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो l यो चलचित्र यही फागुन २५ गतेबाट देशभर एकसाथ प्रदर्शन हुँदैछ l

चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री खनालले भने -‘यस्तो फिल्म अहिले तीन करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु l  त्यसैले मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो फिल्म तीन करोड नेपालीले हेर्नुपर्छ ।’

फगत व्यापारको मात्र उद्देश्य राखेर हचुवाको भरमा कहिल्यै चलचित्र नबनाउने सिनेकर्मी नवल खड्काले विशेष विषयवस्तुको छनोट गरी लामो समयको खोज, अनुसन्धान पछि मात्र चलचित्र निर्माण गर्दै आएका छन् l उनी आफ्ना हरेक चलचित्रको निर्माण पश्चात चर्चामा आउने गरेका छन् l ‘काँडेतार’ मा भारतीय विस्तारवाद नीति, सिमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले भोगिरहेको पीडा र नेताहरुको लम्पसारवादी चरित्रलाई यथार्थपरक रुपमा प्रस्तुत गरिएको छ l झट्ट हेर्दा कतिपयलाई चलचित्र भारत बिरोधी जस्तो लागे पनि वास्तबमा चलचित्रमा तीतो यथार्थको भण्डाफोर गरिएको छ l यस चलचित्रले हरेक नेपालीको मरेको राष्ट्रप्रेम र स्वाभिमानलाई पुन: जागृत गराउने शक्ति राख्दछ l

चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय रहेको छ ।

सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् भने मणि थापा र दीपक शर्माको सङ्गीत, सौरभ लामाको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको यस फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।