मह जोडीलाई ५१ हजार राशी सहित ‘चैत्यदेवी सिंह पुरस्कार’

भुवन चैत्य बसुन्धरा फाउण्डेशन ले अर्पण गर्ने यस बर्षको चैत्यदेवी सिंह पुरस्कार मह जोडीलाई प्रदान गरिएको छ । रू. ५१ हजार राशी सहितको उक्त पुरस्कार आज राजधानीमा आयोजित एक कार्यक्रमबीच प्रदान गरिएको हो । फाउण्डेशनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल चलचित्र कलाकार सङ्घ का अध्यक्ष रविन्द्र खड्का विशिष्ट अतिथिको रुपमा उपस्थित भएका थिए । समारोहमा फाउण्डेशनका कार्यसमितिका सम्पूर्ण सदस्यहरु र केही सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । कोभिड–१९ { कोरोना } को सङ्क्रमण बढिरहेको हुनाले ठूलो जमघट नगरी कार्यक्रमको आयोजना गरिएको कुरा फाउण्डेशनले जानकारी गराएको छ  ।

पुरस्कार वितरण समारोहमा नेपाल चलचित्र कलाकार सङ्घ  का अध्यक्ष रविन्द्र खड्काले मह जोडीलाई रुद्राक्षको माला लगाइदिएका थिए भने भुवन – हरिश चन्दले दोसल्ला ओढाएर सम्मान गरेका थिए । फाउण्डेशनद्वारा केहीदिन अघिमात्र ५ दशकदेखि नेपाली चलचित्र र रङ्गमञ्चमा अनवरत रूपमा आफ्नो कला प्रस्तुत गरे बापत विशिष्ट रङ्गकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई  चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशकभन्दा बढी समयदेखि नेपाली रङ्गमञ्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरब बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको थियो । दुबै पुरस्कारको राशी जनही रू. ५१ हजार रहेको छ । फाउण्डेशनले स्थापना बर्षको पुरस्कार राशी एकलाख त्रिपन्न हजार रूपैया गतबर्ष चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोष लाई अर्पण गरेको थियो । पुरस्कार अर्पण कार्यक्रममा फाउण्डेशनका सचिव मोहन निरौला, सदस्य पुष्कर लामा, अञ्जु रन्जितकार र निर्देशक सम्झना उप्रेती पनि सहभागी थिए ।