नेपाली कलासाहित्य डट कमद्वारा ६ सर्जक सम्मानित, सन्तोषलाई ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार’

-तुलसी गिरी ‘भावुक’

नेपाली कलासाहित्य डट कमले राजधानीमा एक कार्यक्रमको आयोजना गरी कला, साहित्य र पत्रकारिता क्षेत्रका ६ जनालाई सम्मान गरेको छ । विहीबार काठमाडौंको पर्यटन बोर्डको सभा हलमा आयोजित समारोहमा सो पुरस्कार वितरण गरिएको थियो l

वरिष्ठ चलचित्र निर्देशक एवं गीतकार यादव खरेल ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’ बाट, वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ एक लाख रुपैया राशि सहितको ‘राष्ट्रिय कलाश्री पुरस्कार’ बाट, कवि कृसु क्षेत्री ७५ हजार रुपैया राशि सहितको ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’बाट, चित्रकार सम्झना राजभण्डारी ६० हजार रुपैया राशि सहितको ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ बाट, साहित्यपोस्ट अनलाइनका प्रधान सम्पादक अश्विनी कोइराला ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ बाट र सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठ ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार’ पुरस्कृत भएका छन् l ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ र ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार’ दुवैमा ५०-५० हजार रुपैया नगद समेत रहेको थियो ।

समारोह विशिष्ट कलासाधक किरण मानन्धरको प्रमुख आतिथ्यता एवं आयोजक संस्थाकी अध्यक्ष कवयित्री मोमिलाको अध्यक्षतामा सम्पन्न भएको थियो l