ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को पहिलो चरण समापन

-तुलसी गिरी ‘भावुक’

सांस्कृतिक पर्यटनको विकाशमा टेवा पुर्याउन, विदेशी पर्यटकहरुलाई नेपालको मौलिक संस्कृतिबारे अवगत गराई प्रस्तुतिजन्य लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन, देशभरका लोकसंस्कृतिकर्मी एवं कलाकारहरुलाई चलायमान बनाउन र लोकसंस्कृतिलाई पुँजी निर्माणतर्फ अग्रसर गराउन गत मङ्सिर २९ गतेबाट सांस्कृतिक संस्थानले सुरु गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को पहिलो चरणको प्रस्तुति समापन भएको छ l चौथो शृङ्खलाको प्रस्तुति पछि सहभागी लगभग २ सय कलाकारहरुलाई प्रमाणपत्र वितरण गर्दै पहिलो चरणको प्रस्तुति शुक्रबार समापन गरिएको हो l

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले संयुक्त रुपमा कलाकारहरुलाई प्रमाण पत्र वितरण गरेका थिए l महाप्रवन्धक राईका अनुसार  दोस्रो चरणमा संरक्षित पर्यटकीय क्षेत्रमा नै गएर बिदेशी पर्यटक एवं आम नेपाली जनसमुदायबीच केही हप्ता नि:शुल्क प्रस्तुति दिईने छ भने पर्यटक नेपाल भित्रिने मुख्य सिजन सुरु भएपछि सशुल्क तेस्रो चरणको प्रस्तुति सुरु गरिने छ l कार्यक्रम यही पुसको पहिलो साताबाट स:शुल्क साप्ताहिक रुपमा नियमित प्रस्तुत गर्ने पूर्व योजना भएपनि थप प्रचार-प्रसारका लागि केही हप्ता नि:शुल्क प्रदर्शन गरिएको थियो l

‘माटोको गीत’ (SONGS OF SOIL) प्रदर्शन समारोहमा विभिन्न प्रदेशका मौलिक धुन र नेवारी लोक धुनका साथै वालुङ, आर्यतारा, झिंझिया, घाटु, साकेला, सोरठी र हुड्केली नृत्यहरु प्रस्तुत हुँदै आएका छन् l यसैगरी समारोहमा राष्ट्रिय विभूति सीताको कथामा आधारित नाटक ‘सिया चरित’ को पनि मञ्चन हुँदै आएको छ l कार्यक्रममा नौमती बाजाको धुन, थकाली लोकगीत र राष्ट्रिय गीतको समेत प्रस्तुति रहेका छन् भने वाद्यवादन्, नृत्य, गायन तथा अभिनय गरी लगभग २ सय जना कलाकारहरुको सहभागिता रहने गरेको छ l

नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने सो कार्यक्रमका प्रस्तुतिहरु मनोरन्जनभन्दा बढी प्राज्ञिक, खोजमूलक र यथार्थपरक भएको चौतर्फी प्रतिक्रिया आईरहेको छ l विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषय विज्ञहरुको परामर्श, मूल्याङ्कन तथा सुझाव लिनका लागि ‘प्रस्तुति छनोट समिति’ पनि गठन गरिएको छ l

नेपाल पर्यटन बोर्ड र संस्कृति तथा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न निजी तथा सरकारी सङ्घ-संस्थाहरुसँग सहकार्य रहेको सो कार्यक्रममा विविधता ल्याउनका लागि समय, सन्दर्भ र ऋतु अनुसार प्रस्तुतिहरु फरक फरक हुने छन् भने सबै प्रस्तुतिहरुलाई अभिलेखीकरण गरी निकट भविष्यमै डिजिटल लाइब्रेरी तयार गर्ने संस्थानको योजना रहेको छ l

तेस्रो चरणबाट नेपाली परिकारका साथ रात्रीभोज सहित केही महिना साप्ताहिक रुपमा आयोजना गरिने र आवश्यकता हेरेर शो बढाउने योजना समेत रहेको सो कार्यक्रमका लागि सुरुआती चरणमा नेपाली नागरिकका लागि रू. ५००/-, भारत र चीनका दर्शकका लागि रू.१,०००/- र अन्य अन्तर्राष्ट्रिय मुलुकका दर्शकका लागि रू.१,५००/- शुल्क तोकिएको छ l यस कार्यक्रमबाट नेपालमा सांस्कृतिक पर्यटनको विकाशमा टेवा पुग्ने, देशको संस्कृति र सभ्यता विश्वमाझ पुग्ने, पुँजी निर्माणमा सांस्कृतिक क्षेत्रको योगदान रहने एवं बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुकका रुपमा नेपाल विश्वमाझ चिनिन अझ सहज हुने विश्वास गरिएको छ l