शखी प्रतिष्ठानद्वारा वरिष्ठ संस्कृतिविद् एवं साहित्यकार ग्वंगः सम्मानित

-प्रकाश सुवेदी

वरिष्ठ संस्कृतिविद् एवं साहित्यकार तेजेश्वरबाबु ग्वंग: र उहाँकी पत्नी ध्रुवेश्वरी कायष्ठ ग्वंगःलाई शखी प्रतिष्ठानले सम्मान गरेको छ । शखी प्रतिष्ठानका पदाधिकारीहरू उहाँको निवास निष्ठाछेँ पुगेर सम्मान गर्नुभएको हो l ८९ वर्ष उमेरका संस्कृतिविद् तथा साहित्यकार ग्वंगः ले सम्मानका क्रममा सर्जकहरूको यस्तै मायाले आफूलाई लेखन र जीउनका लागि उर्जा मिलेको बताउनुभयो । उहाँले आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटासँग पढेका बेला उहाँको निन्द्रा निबन्ध पढेर ‘सपना’ निबन्ध लेखेर सुनाएको र देवकोटाले उहाँको उक्त निबन्ध अत्यन्तै राम्रो रहेको भन्दै धाप मारेर निबन्ध लेखनमा निरन्तरता दिन भन्नुभएको र देवकोटाकै प्रेरणाले साहित्यलेखन अगाडि बढेको बताउनुभयो ।

सर्जक ग्वंगःका संस्कृतिका आयाम – २०५२, संस्कृतिया पलं (नेपाल संवत १११०), अवकाशपछिको आकाश–२०६७, चराको गुँडझैँ जन्मस्थल (मेरो भक्तपुर–कविता सङ्ग्रह २०७३), औकातभरिको सौगात– निबन्ध सङ्ग्रह २०७३, रङ्ग अभिज्ञान –निवन्ध सङ्ग्रह २०७४ प्रकाशित छन् । संस्कृतिका आयाम दोस्रो संस्करण भने पुनः प्रकाशन भइ लाकार्पणको तयारीमा छ । ग्वंगःका पचासौं संस्कृति सम्बन्धी खोज अनुसन्धानका अप्रकाशित कृति छन् । प्रकाशनका लागि कसैलाई नभन्ने ग्वंगले विगतमा आफैंले पुस्तक प्रकाशन गर्दै आए पनि पछिल्लो समय केही प्रकाशकहरूले उहाँका केही कृति प्रकाशन गरेका छन् ।

ग्वंगः नेपाल सरकारका अवकाश प्राप्त उपसचिव हुनुहुन्छ । उहाँले मुलुकमा विकेन्द्रीकरणका योजना लागू गर्न प्रमुख भूमिकामा रहेर लामो समय प्रमुख जिल्ला अधिकारीहरूलाई प्रशिक्षणा दिनुभएको थियो । पछिल्लो समय यो उमेरमा पनि पत्रपत्रिकामा लेखहरू प्रकाशन गर्दै लेखनलाई निरन्तरता दिँदै आउनुभएको छ । कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष मञ्जिला अनिलले ग्वंग जस्ता सर्जकलाई यो राज्यले नदेख्नु विडम्वना भएको बताउनुभयो ।