डा. उपाध्यायद्वारा सिद्ध गुफामा उपन्यासको लोकार्पण


तनहूँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य, उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापा लगायतले संयुक्त रुपमा सो कृति लोकार्पण गरेका हुन् । नेपालकै ठूलो भनिएको यो गुफा ४ सय ३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाको दोस्रो ठूलो गुफा समेत हो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले डा. उपाध्यायलाई नयाँ उपन्यासका लागि बधाई तथा शुभकामना दिएका थिए । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्र सिर्जना’ र ‘स्वच्छ हराभरा वातावरण’ शीर्षकका चार कविता र तत्कालै लेखिएको गजल ‘मनको चाह’ पढेर सुनाएका थिए । सो अवसरमा उपाध्यायको गीतिएल्बम ‘आवृत्त’ पनि विमोचन गरिएको थियो । गुफाभित्रै कीर्तिमानी डा. उपाध्यायको गीत ‘चाँदनी चाँदनी’ सागर अधिकारी ‘शरद’ र काव्य आचार्यले लाइभ प्रस्तुत गरेका थिए ।

यसैगरी डा. उपाध्यायकै गीत ‘राखिरहुँ आँखामा हरपल’ को भिडिओ सोही गुफामा छायाङ्कन गरिएको छ । सुभाष प्रधानको निर्देशन रहेको सो भिडिओमा रमेश थापा ‘टीकाध्वज’ र मञ्जु खड्काको अभिनय रहेको छ । भिडिओ विनोद तामाङले छायाङ्कन गरेका हुन् । डा. उपाध्यायका अनौठा कार्यलाई त्यहाँ आउने पर्यटकले रोचक ढङ्गले हेरिरहेका थिए । काठमाडौंको चाबहिल स्कुलका विद्यार्थीहरुले समेत उक्त कार्यलाई नियालेका थिए । गुफामा दैनिक सयौं पयर्टक आउने गर्दछन् ।

पृथ्वी राजमार्गको विमलनगर भन्ने ठाउँबाट आधा घण्टाको पैदल यात्रा गरेपछि यो गुफा पुग्न सकिन्छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहूँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ ।

यो गुफामा एक सन्त ‘सिद्ध बाबा’ ले ज्ञान प्राप्त गरेका थिए भन्ने भनाई रहेको छ । कालो र डरलाग्दो भए पनि यो गुफाको चर्चा देश विदेशमा छ । यहाँ पुग्ने जोसुकैलाई गुफाले दंग बनाउँछ । गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै भित्रबाट आउने चिसो हावाले पैदल यात्राको सबै दुःख भुलाउँछ । विशाल पहाडको काखमा हरियाली वन जङ्गलले घेरिएको प्राचीन तपोभूमि जस्तै अनुभव गर्न सकिने यो ठाउँमा पुगेपछि जो कोहीको मन पुलकित हुन्छ ।

विसं २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँचजनाको समूहले पहिलो पटक यो गुफा पत्ता लगाएको थियो । जिदी खोला किनारको घना जङ्गल  क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिंग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ ।

डा. उपाध्यायले विभिन्न विधामा १ सय ३२ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरिसकेका उपाध्यायका सयौँ गीतका भिडिओ पनि सार्वजनिक छन् । डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १ सय ५१ पुग्ने तयारीमा रहेको जानकारी दिएका छन् ।