विमला निरौलाको ‘यात्रामा देश’, प्रवासी बालबालिकालाई स्वदेश चिनाउने प्रयास

-प्रकाश सुवेदी

अमेरिकामा बसेर नेपाली साहित्यमा कलम चलाउँदै र सेवा गर्दै आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको `यात्रामा देश´ बालकविता सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा हलमा साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो l नेपाल बाल साहित्य समाजका महासचिव केशवराज आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा अनेसास नेपाल च्याप्टरकी प्रथम उपाध्यक्ष मञ्जिला शर्माले स्वागत मन्तव्य राखेकी थिईन् ।  

प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथि एवं विशेष अतिथि, विशेष वक्तालगायत मञ्चासीन अतिथिहरुबाट कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर तथा नेपाल बाल साहित्य समाजको संयुक्त आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अनेसास बिओटीका पूर्व सल्लाहकार तथा त्रिवि नेपाली विभाग प्रमुख प्रा.डा. खगेन्द्र लुइटेलको उपस्थिति थियो भने विशेष अतिथिहरुमा साहित्यकार खेमनाथ दाहाल, अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, अनेसास केन्द्रका उपाध्यक्ष डा. रेणुका सोलु, फणिन्द्र निरौला, अनेसास नेपाल च्याप्टरका सल्लाहकार तथा गुञ्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक थिए ।

यसरी नै अतिथिहरुमा अनेसास दर्पणका कार्यकारी सम्पादक तथा लोकार्पित कृतिका सम्पादक रमेश दाहाल, मिलाप पब्लिकोशनका अध्यक्ष कृष्ण भुसाल, सञ्चारकर्मी मोहराज शर्मा, लेखक तथा द्वन्द्व विश्लेषक केशव चौलागाई, स्रष्टा विमला निरौलाकी माता, सुरेश भट्ट, अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुली, महासचिव रञ्जना निरौला, कोषाध्यक्ष कमला रिसाल, सुमन वर्षा, शान्तिमाया गिरी, पूर्व उपाध्यक्ष दीव्य गिरी, कवि तथा आख्यानकार बिक्रम भक्त जोशी, राजरजक, कवि तथा गीतकार प्रकाश सुवेदी, गंगा लिगल, रश्मि शर्मा, ललिता दोषी, गोमा रेग्मी, बाल साहित्यकार कार्तिकेय घिमिरे, इश्वर थोकर, उर्मिला सुवेदी लगायत कवि, लेखक तथा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेष वक्ताको रूपमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान र बुनु दाहाल रहेका थिए । शुभकामना मन्तव्य दिने क्रममा प्रा.डा. खगेन्द्र लुइटेल, सुरेश भट्ट, रेणुका सोलु लगायतले `यात्रामा देश´ बाल कवितासंग्रह प्रवासी बालबालिकालाई देशको भूगोल, संस्कृति तथा नेपाली भाषा लेख्न र बोल्नका लागि अत्यन्त उपयोगी हुने आशय व्यक्त गरेका थिए ।

प्रमुख अतिथि सुश्री भद्रा घलेलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गएिको सो कार्यक्रममा आयोजक संस्थाबाट स्रष्टा विमला निरौलालाई स्रष्टासम्मान र विशिष्ट अतिथि प्रा.डा. खगेन्द्र लुइटेल, भूमिकाकार खेमनाथ दाहाल, विशेष वक्ताहरु प्रमोद प्रधान, बुनु दाहाल, कृति सम्पादक रमेश दाहाल, कार्यक्रमका सहजकर्ता केशवराज आचार्य लगायतलाई प्रमुख अतिथिको हातबाट मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको शुभकामना मन्तव्य उपाध्यक्ष डा. रेणुका सोलुले र बिओटी अध्यक्ष पदम विश्वकर्माको शुभकामना मन्तव्य बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेलले वाचन गरेर सुनाएका थिए । कार्यक्रममा निरौलाले कृतिकारका रूपमा आफ्ना धारणा राख्ने क्रममा ‘प्रवासमा जन्मिएका र हुर्किएका बालबालिकालाई नेपाली भाषा, संस्कृति र समग्र नेपालप्रति चासो राख्न मद्दत पुर्याउँछ भन्ने लागेर मैले यो प्रयास गरेकी हुँ’ भनेका थिए ।