दुबै मृगौला फेल भएकी विन्दु बिकको जीवन रक्षाका लागि अपिल

दुबै मृगौला फेल भएकी सल्यान निवासी विन्दु बिकलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले वर्ल्ड वाईड न्युज नेपालले पत्रकार सम्मेलनको आयोजना गरेको छ । ‘मानव सेवा नै धर्म हो’ भन्ने मूल उद्देश्यले ‘विन्दु बिक बचाउँ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम’ को आयोजना गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष प्रकाश बराईली ‘अभिव्यक्ति’ ले जानकारी गराएका छन् । प्रकाश बराईलीकै सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा, लोकप्रिय लोकगायक भगवान भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्राप्त जानकारी अनुसार विन्दु बिकको हाल सुमेरु अस्पतालमा उपचार भैरहेको छ । डायलोसिस गरेर मात्र बिरामीलाई लामो समय बचाउन नसकिने भएपनि आर्थिक अवस्था निकै कमजोर भएकोले मृगौला प्रत्यारोपणको लागि आवश्यक प्रक्रियामा जान नसकिएको कुरा विन्दुका पिता नियम बिकले जानकारी गराएका छन् । ‘आर्थिक अवस्था पनि कम्जोर छ, कमाउने तागत पनि छैन । छोरीलाई बचाउन सबैको सहयोगको आशा गरेको छु’ नियम बिकले गम्भीर हुँदै भने ।

हाल अमेरिकालाई कर्मथलो बनाईरहेका गायक भगवान भण्डारीले विन्दुलाई नगद रु. ५ हजार हस्तान्तरण गर्दै भने -‘नेपाल आएपछि अन्य व्यक्तिलाई पनि आर्थिक सहयोग गरिरहेको छु l अहिले म सँग यत्ति छ तर अमेरिका पुगेपछि अरुपनि रकम सङ्कलन गर्ने प्रयास गर्ने छु l’ गायिका बिमा कुमारी दुराले पनि विन्दुलाई नआत्तिन सुझाव दिँदै दशैं अघि नै आफूले पाएको एक दिनको पारिश्रमिक  सहयोग गर्ने वचन दिएकी छिन् । गायक भण्डारी र गायिका दुरा दुबैले देश विदेशमा रहेका नेपालीहरुलाई विन्दुको जीवन रक्षाका लागि आ-आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । समारोहमा यूरोप बस्दै आएका लोकगायक जेबी ओलीले विन्दुलाई ७ हजार १सय ५१ रुपैया सहयोग वचन दिएको कुरा जानकारी गराईएको थियो भने अन्य दाताहरुले पनि आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा दिईएको जानकारी अनुसार विन्दुका दुई छोरा रहेका छन् भने उनका पति दोस्रो बिहे गरेर भारतमा बस्दै आईरहेका छन् । माइतीको संरक्षणमा रहेकी विन्दु पतिसँग सम्पर्कमा समेत छैनन् । विन्दुलाई आर्थिक सहयोग गर्नका लागि माछापुच्छ्रे बैंक चाबहिल शाखा, काठमाडौंमा विन्दु बिकको नाममा रहेको खाता नं. ५६- २३-५२४-६९७८३८-०१७ मा सिधै रकम जम्मा गर्न सकिने वा उनका बुवा नियम बिकको मोबाइल नम्बर ९८६६१११४७८ र विन्दुको मोबाइल नम्बर ९८४७८७२६०८ मा सम्पर्क गर्न सकिने कुरा जानकारी गराईएको छ ।

विस्तृतमा भिडियो हेर्नुहोस्