यसरी तयार भएको थियो ‘ग्रेटर नेपाल’को नक्सा


विभिन्न प्रकारका प्रलोभन र धाक-धम्कीको बाबजुद लामो समय अघिदेखि निडरताका साथ ग्रेटर नेपालको अभियानमा लागेका फणिन्द्र नेपालले आज सामाजिक सञ्जाल फेसबुक मार्फत ग्रेटर नेपालको नक्सा कसरी तयार भएको थियो ? भन्ने बारेमा लेख प्रकाशन गरेका छन् l छिमेकी देश भारतले आफ्नो नयाँ संसद भवनमा नेपाल, भूटान, पाकिस्तान र बङ्गलादेशका कतिपय भू-भागलाई समेत समावेश गरी तथाकथित ‘अखण्ड भारत’ को नक्सा टाँस गरेपछि काठमाण्डौका मेयर बालेन्द्र साहले जवाफी रुपमा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए l यस विषयमा नेपाल सरकार चुईंक्क सम्म बोलेको छैन l मेयर बालेन्द्रको त्यही साहसले ल्याएको तरङ्गले आज इन्डिया मात्र नभई विश्व हल्लिएको छ र आज विश्वमै ग्रेटर नेपालको चर्चा भईरहेको छ l

ग्रेटर नेपालका एक्ला योद्धा फणिन्द्र नेपाल लेख्छन् – ‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले जेठ २५ गते आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँगेपछि यसलाई लिएर देशव्यापी जनचासो बढेको छ । लामो समयदेखि ग्रेटर नेपालको एजेन्डा बोकेर हिँडिरहेको ‘एक्लो वृहस्पति’ भनिएको नाताले मेयर बालेनको यो निर्णयप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

नक्सा झुन्ड्याउनु नै ठूलो उपलब्धि नहोला । तर, यसले देशमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा नै अर्थपूर्ण सन्देश प्रवाह गरेको म ठान्छु । आजसम्म मैले यो नक्सा बोकेर हिँड्दा कतिले समर्थन गरे त कतिले खिसिट्यूरी पनि गरे । कसैले त पागलसमेत भने । तर, देशको राजधानी शहरकै नेतृत्वदायी पदमा रहेको व्यक्तिले यो नक्सालाई मान्यता दिएपछि इतिहासमा अन्यायपूर्वक खोसिएको नेपालको जमिनका विषयमा सबै जनतामा जागरूकता बढ्नेछ भन्ने मेरो आशा हो । आफ्नो इतिहासप्रति गर्व गर्नलाई मात्र नभएर शासकहरूलाई झकझक्याइरहन पनि यो नक्सा घरघरमा टाँगिनुपर्छ भन्ने लाग्छ ।

यो आलेखमा म ग्रेटर नेपालमाथि सैद्धान्तिक विवेचनाभन्दा पनि यो नक्सा निर्माणको कथा तपाईंहरुलाई सुनाउन गइरहेको छु । कतिले सोचेका छन् कि बालेनले नै यस्तो नक्सा बनाउन लगाएर जारी गरेका हुन् । तर, यथार्थमा यो नक्सा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बनाएको हो । नक्सालाई अन्तिम रूप दिन हामीले निकै मेहनत गरेका थियौं । क-कसको सहयोगमा कसरी बनाइएको थियो त नक्सा ?

नेपालको बजारमा ग्रेटर नेपालका ५-७ प्रकारका नक्सा उपलब्ध छन् । आकार-प्रकारमा एकरूपता नभएका ती नक्सामा ब्रिटेनी पक्षको मात्र सही वा नाम उल्लेख भएको पाइन्छ किनभने ब्रिटेन सरकारले आफ्नो अधिकार क्षेत्रमा रहेको भूभागको नक्सा बनाउँदा सिमाना जोडिएको नेपाल राज्यको राजनीतिक नक्सा पनि सँगै राखेको थियो । ब्रिटेनले ग्रेटर नेपालको मात्रै छुट्टै राजनीतिक नक्सा बनाएको कुनै अभिलेख उपलब्ध छैन ।

बजारमा उपलब्ध ती नक्साले सुगौली सन्धिबाट नेपालले गुमाएको जमिन स्पष्ट रूपमा देखाउन नसकेकोले मलाई सर्वसाधारणले बुझ्ने गरी ग्रेटर नेपालको नयाँ नक्सा बनाउनुपर्छ भन्ने लाग्यो । यसका निम्ति मैले सर्वप्रथम इन्डियाका पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश र बङ्गलादेशका नक्सा जम्मा पारें । यी नक्सा जम्मा पार्ने काममा पर्सा, वीरगञ्जमा कार्यरत सुदर्शनराज पाण्डे, कञ्चनपुर, महेन्द्रनगरका गजेन्द्र पाण्डे र बुटवलका लक्ष्मण कार्कीले सघाउनुभएको थियो ।

सिक्किम र असमका नक्सा मसँग पहिल्यैदेखि थिए । सबै नक्साहरू जम्मा गरिसकेपछि नक्सा डिजाइन गर्न जान्ने व्यक्ति खोज्दै जाँदा मैले बागबजारमा भरतमान श्रेष्ठलाई फेला पारें । मैले आफ्नो योजना सुनाएपछि उहाँले यो कामका निम्ति हप्तादश दिनको समय लाग्ने बताउनुभयो । अनि सङ्कलित सबै नक्सा भरतजीलाई जिम्मा दिएर म लगातार उहाँको कम्प्युटर कक्षमा बस्न थालें ।

प्रथम चरणमा मेचीदेखि महाकालीसम्मको नेपालको साबिकको नक्सामा मेची पूर्वको भूभाग देखाउन सिक्किम र पश्चिम बङ्गालका नक्साबाट सुगौली सन्धिबाट गुमेको भूमि स्केलमा राखियो । त्यसपछि टिस्टा नदीदेखि पश्चिम र मेची नदीदेखि पूर्वका दार्जिलिङ र सिक्किम मिलाउँदै मेची र टिस्टाबीचको तराई र मेची नदीदेखि कोसी नदीसम्मको गङ्गा नदीदेखि उत्तरको समथल भूमि समावेश गरियो । यसपछि बङ्गलादेशको नक्सालाई स्केलमा राखेर सन् १९४७ अगस्त १४ मा तत्कालीन पूर्वी पाकिस्तानले उपनिवेशमा पारेका दिनाजपुर र रङपुर भन्ने ठाउँलाई नक्सामा जोडियो ।

यसरी पूर्वतर्फको सिमानालाई नक्सामा अङ्कित गरेपछि अब ग्रेटर नेपालको नक्सा बन्ने भयो भन्ने लागेर मेरो मन रोमाञ्चित र तरङ्गित भयो । मेरो छाती ढक्क फुल्यो । एउटा युद्ध नै जिते जस्तो लाग्यो । मैले हठात् भरतजीसँग हात मिलाएँ र ‘लु चिया मगाउनुस् भरतजी’ भनें । मैले मौजुदा नेपालको नक्सामा सुगौली सन्धिबाट गुमेको भूमि जोड्नु दर्जीले सर्टमा गोजी टाँस्नु जस्तै सजिलो होला भन्ठानेको थिएँ । तर, यो त निकै जटिल काम रहेछ । म यसरी प्रफुल्लित भएको देखेर भरतजीले ‘सर पूर्वतर्फको काम अझै बाँकी छ’ भन्नुभयो । मैले अन्यमनस्क भावले हेरेको देखेर उहाँले भन्नुभयो, ‘ग्रेटर नेपालको पूर्वी सिमाना कुन कुन देशसँग जोडिन्छ, त्यो देखाइएन भने ग्रेटर नेपाल बन्दाको फाइदा जनताले थाहा पाउँदैनन् ।’ त्यसपछि क्रमशः भुटान र बङ्गलादेशको नक्सालाई स्केलअनुसार मिलाइयो । अनि फेरि असमको नक्सालाई पनि मिलाइयो । यति गरिसकेर कम्प्युटरको स्क्रिनमा हेर्दा भुटान, बङ्गलादेश र असम नेपालका छिमेकी बनेका देखिए । नेपाल र बङ्गलादेशबीचको साँघुरो घाँटी (चिकेन नेक) ग्रेटर नेपालमा परेको देखेपछि म अनायासै मुस्कुराएको देखेर भरतजीले यो बडो कुटिल मुस्कानको कारण के हो सर ? भनेर सोध्नुभयो । मैले भरतजीलाई भनें, ‘कम्तीमा नक्सामा त चिकेन नेक हाम्रो भयो नि !’

‘अरू बाँकी त मनको लड्डु घिउसँग खानु भने जस्तै त होला नि सर ! यो देशका नेताले कालापानी त फिर्ता लिन सकेनन् ।’ भरतजीको यो कटु टिप्पणीलाई अन्यथा मान्नुपर्ने कुरै थिएन । ग्रेटर नेपालको पूर्वी भागको नक्सा बनिसकेकोले मैले त्यसलाई कम्प्युटरबाट छाप्न भनें । भरतजीले दुई प्रति निकाल्नुभयो । एक प्रति कोटको खल्तीमा हालेर म निवासतिर फर्किएँ । राति ओछ्यानमा पल्टिए पनि निद्रा लागेन । घरीघरी त्यही नक्सा हेरिरहेको थिएँ, त्यो नक्सा छातीमा च्यापेर कति बेला निदाएछु ! ब्युँझेर हेर्दा नक्सा तीन–चार ठाउँमा दोब्रिएको र कुच्चिएको थियो ।

भोलिपल्ट म निर्धारित समयमै भरतजीको कम्प्युटर कक्षमा पुगें । उहाँले अब काली नदीबाट पश्चिमतर्फ सतलज नदीसम्मको क्षेत्र जोड्न पहिले उत्तराखण्डको नक्सालाई स्केलअनुसार मिलाउन आफ्ना प्रवीण हातको चोर औंलालाई माउसमाथि चढाउनुभयो । मलाई चाहिँ यो काम कहिलेसम्ममा सकिएला भन्ने हुटहुटीले सताएको थियो । उत्तराखण्ड जोडेपछि अर्को दिन हिमाचल प्रदेश भएर बग्ने सतलज नदीलाई पश्चिमी सीमा कायम गरी भरतजीले मतिर हेर्नुभयो । मैले उत्सुकतापूर्वक सोधें, ‘अब काम सकियो कि के हो भरतजी ?’ ‘ग्रेटर नेपालको नक्सामात्रै राख्दा त्यति राम्रो देखिँदैन, नक्साको तल ब्रिटेनले बनाएको पुरानो नक्साको छायाँ पारेर राखेर हेरौं एकपटक ।’

‘यसलाई मिलाउन पनि समय लाग्छ, म यो भोलि मिलाउँछु, तपाईं ४ बजेपछि आउनुहोला ।’

म भोलिपल्ट पुग्दा कम्प्युटरको स्क्रिनमा ग्रेटर नेपालको नक्सा तयारी अवस्थामा थियो ।


रङ्ग समायोजन

ग्रेटर नेपालको नक्सामा मौजुदा नेपाललाई एउटा रङमा, मेची पूर्व र महाकाली पश्चिमको भूमिलाई अर्को रङमा तथा बङ्गलादेशमा परेको नेपाली भूमिलाई छुट्टै रङमा देखाइएको थियो । ग्रेटर नेपालको माथिल्लो भागमा चीनको तिब्बतलाई हलुका पहेंलो रङले र तल्लो भागमा इन्डियाको बिहार र उत्तर प्रदेशको क्षेत्रलाई हलुका पहेंलो र फिक्का कफी रङ्गको मिश्रणले, पूर्वतर्फ भुटान, असम र बङ्गलादेशलाई बेग्लाबेग्लै रङले छुट्ट्याएर आकर्षक बनाइएको थियो । पश्चिममा भने सतलज नदीदेखि पश्चिम हिमाचल प्रदेशको क्षेत्र नदेखाई नक्सालाई टुङ्ग्याइएको थियो । यसरी मेरो तजबिजी सोचमा ग्रेटर नेपालको यो नक्सा तयार भएको थियो ।

यो नक्साको औपचारिक सार्वजनिकीकरण रानीपोखरीस्थित गणेशमान सिंहको सालिक छेउको चउरमा गरिएको थियो । नक्सा छोपेको रातो तुल हटाई म आफैंले अनावरण गरेको ग्रेटर नेपालको नक्सा हेर्न त्यहाँ सयौंको संख्यामा युवायुवतीको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सीमाविद् बुद्धिनारायण श्रेष्ठ र अखिल क्रान्तिकारीका विद्यार्थी नेता जागृत रायमाझीले सम्बोधन गर्नुभएको थियो । अपेक्षाकृत उल्लेख्य जनसहभागिता रहेको यो कार्यक्रमका सम्बन्धमा सञ्चारमाध्यमले राम्रै ठाउँ दिएको थियो । गुगलले पनि यही नक्सा राखेपछि ग्रेटर नेपाल अभियानको पहिलो पटक अन्तर्राष्ट्रियकरण भएको थियो । तिथिमिति ठ्याक्कै भन्न नसके पनि ग्रेटर नेपालको यो नक्साको सार्वजनिकीकरण २०६२/०६३ को जनआन्दोलनपछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएपश्चात् भएको हो ।

यो कार्यक्रमपछि ग्रेटर नेपालको नक्साको प्रचार गर्न पोस्टकार्ड आकारका नक्सा छापेर काठमाडौंभित्रका ट्याक्सी र साना-ठूला सार्वजनिक यातायात तथा काठमाडौंबाट लामो दूरीमा चल्ने गाडीहरूमा टाँस्ने अभियानै चलाइयो । यसबाट प्रभावित भएर जोरपाटी-रत्नपार्क रूटका एकजना बस मालिकले बसको नाम ‘ग्रेटर नेपाल यातायात’ राखेका थिए । जोरपाटी आरूबारीको हिलाम्य सडकमा फसेको फोटो कान्तिपुर दैनिकमा छापिएपछि त्यो बस नै मेरो भएको हल्ला चलेको थियो ।

यसैबीच बारा जिल्लाको बडकी फूलबरियामा इन्डियाले नेपालको सिमाना मिचेको समाचार आयो । मिचिएको सीमा पनि हेर्ने र वीरगञ्जमा ग्रेटर नेपालको ब्यानर पनि राख्ने भनेर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको नेतृत्वमा १० जना पत्रकारको समूह लिएर हामी बडकी फूलबरिया पुग्यौं र स्थलगत निरीक्षण गर्‍यौं । दुई देशबीच वैज्ञानिक सीमाङ्कनका नाममा नेपाली किसानको जमिन इन्डियातिर पारिएको थियो भने किसानहरू हातमा जग्गाधनी पुर्जा लिएर सरकारलाई पर्खिरहेका थिए । मलाई उनीहरूले देवता जस्तो ठानेर मानमनितो गरे । तर, मैले उनीहरूका पक्षमा सिन्को भाँच्न सकिनँ ।

बडकी फूलबरियाका पीडित किसानलाई तिनकै आँसुको दहमा छोडेर हामी वीरगञ्ज पुग्यौं र ग्रेटर नेपालको ब्यानर झुन्ड्याउने ठाउँको खोजीमा लाग्यौं । भोलिपल्ट बिहान ९ बजेतिर पत्रकार सम्मेलनभन्दा पहिले घण्टाघरनिर ग्रेटर नेपालको ४×७ आकारको नक्सा टाँग्यौं । स्थानीय पत्रकारहरू तीन–चार जनाभन्दा बढी आएनन् । पत्रकार बोलाउने व्यवस्थाका लागि रिपोर्टर्स क्लबलाई शुल्क तिरेको भए पनि ऋषि धमलाले आफ्नो चरित्र यसरी देखाइहालेछन् । तीनचार जनालाई मात्रै कार्यक्रममा निमन्त्रणा गरिएको रहेछ । आगन्तुकहरूका निम्ति राखिएका प्लास्टिकका कुर्सीमा फाट्टफुट्ट मानिसहरू बसेका थिए । मलाई यो देखेर उकुसमुकुस भयो । यत्तिकैमा ५-७ जना तराई मूलका प्रौढहरू आएर ब्यानरमा आँखा लगाए । अनि ज्येष्ठ र वरिष्ठ ती सज्जनले यो कसले बनाएको भनेर सोधे । साथीहरूले मलाई देखाइदिएपछि इतिहास थाहा नभई नक्सा बनाए जस्तो छ, गङ्गा नदीदेखि उत्तर गण्डकी नदीसम्मको तराई नेपालको हो, किन छुटाएको ? भनेर प्रश्न गर्न थाले । एकजनाले त यो नक्सा तुरुन्तै सच्याइहाल्नुस् है भनेर जोड दिए । अर्का सज्जनले पहाडियालाई तराईको इतिहास के थाहा भनेर रोष मिश्रित अभिव्यक्ति दिए ।

काठमाडौंबाट सँगै आएका पत्रकार साथीहरूले ग्रेटर नेपालका समर्थक पाएकोमा गौरव गर्नुस् सर भनेर अज्ञानताको पर्दाले छोपिएर लाजले खास्टो ओढाएको मेरो अनुहारमा थोरै उज्यालो छरिदिए । टाँगेको नक्सा त्यहीं छोडेर हामी काठमाडौंतिर लाग्यौं । हामी वीरगञ्जबाट हिँडेको एक घण्टा नबित्दै ग्रेटर नेपालको ब्यानर सुत्ली बम पड्काएर उडाइयो भन्ने समाचार आएको रहेछ । यो कुरा धेरै पछि मात्रै थाहा भयो ।

काठमाडौं आइपुगेको भोलिपल्टै मैले इतिहासविद् चेतेन्द्रजङ्ग हिमाली र वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई भेटेर वीरगञ्जका ती सज्जनले दिएको सुझाव सुनाएँ । चेतेन्द्रजंग हिमालीले ठीक र उपयोगी सुझाव दिएछन् भन्नुभयो । अनि मैले नक्सामा गण्डकी नदीसम्मको तराई थप्ने बैठक भोलिपल्टै राख्न प्रस्ताव गरें । दुवै जना सहमत हुनुभएपछि म भोलिपल्ट निर्धारित समयमै ग्रेटर नेपालको प्रथम नक्सा लिएर उपस्थित भएँ । सुगौली सन्धिबाट गुमेको पूरै तराईमध्ये कोशी नदीदेखि राप्ती नदीसम्मको तराई फिर्ता दिन ब्रिटेनले नेपालका राजालाई १८१६ डिसेम्बर ८ मा गरेको प्रस्तावमा गङ्गा नदीदेखि उत्तरको विस्तारित मैदानी भाग सन् १८१२ को नेपाल–ब्रिटेन सन्धिअनुसार फिर्ता नगर्ने भन्ने प्रावधानलाई आधार बनाएर नक्सामा त्यही जमिन थप्ने सहमति भयो ।

सहमति कार्यान्वयन गर्ने क्रममा चेतेन्द्रजंग हिमालीले ठाउँका नाम भन्दै जानुभयो भने बुद्धिनारायण श्रेष्ठले सीसाकलमले रेखाङ्कन गर्दै जानुभयो । पेन्सिलको रेखा मेटिएला भनेर त्यसैमाथि उहाँले नीलो डटपेनले पुनः रेखाङ्कन गर्नुभयो । कोशी नदीदेखि गण्डकी नदीसम्मको तराईमात्र होइन गण्डकीदेखि पश्चिमतर्फको सारन र छपरा पनि यसमा थप्नुपर्छ भन्ने अडान चेतेन्द्रजंग हिमालीले लिनुभएको हुँदा बुद्धिनारायण श्रेष्ठले त्यसलाई पनि समेट्ने गरी रेखाङ्कन गर्नुभयो । यसरी गण्डकी नदी र कोशी नदीका बीचको गङ्गा नदीदेखि उत्तरको तराई ग्रेटर नेपालको नक्सामा समावेश गर्ने खेस्रा काम सुसम्पन्न भयो ।

रेखाङ्कित नक्सा लिएर म भरतजीलाई भेट्न पुगें । उहाँले फेरि बिहार र उत्तर प्रदेशका नक्सालाई स्केलअनुसार कम्प्युटरमा हालेर प्रशोधन गरेपछि कोशीदेखि गण्डकीपारि छपरासम्मको तराई समावेश भएको ग्रेटर नेपालको नक्सा तयार भयो । यो नक्सा पहिलो पटक पोस्टकार्ड आकारमा दश हजार प्रति छापेर देशका विभिन्न भागमा वितरण गर्न लामो दूरीका सवारीसाधनमार्फत पठाइयो । यो दोस्रो नक्साका प्रचारात्मक ठूला ब्यानरहरू नेपालको भूमिमाथि इन्डियाको औपनिवेशिकताको विरोधमा धेरै पटक बनाइएका छन् । तर यस नक्सामा पनि नेपाल तराईको सिमानाका स्थलगत जानकारहरूले तथ्यपरक प्रश्न उठाए । गोरखपुर छुटाएकोमा आफूहरूले अपमानित महसुस गरेको ती सज्जनहरूको गुनासो थियो । नेपालका राजालाई हामीले तिरहुतकी छोरी दिएका थियौं । नेपाल दरबारसँगको यो नाता कसैले टुटाउन सक्दैन । नेपाल दरबारको यो जमिन नक्सामा किन छुटाइयो ? यो गुनासो भरिएको प्रश्नलाई सम्बोधन गर्नैपर्ने भएकाले फेरि भरतजीलाई नक्सामा थप्नुपर्ने विषयवस्तु अवगत गराएँ । उहाँको पनि छुट्टै गुनासो थियो ।

‘नक्सा बनिसकेपछि त्यसमा अर्को ठाउँ थप्नु सरलाई सामान्य जस्तो लाग्ला । तर, यसो गर्नु निकै जटिल छ । पुरानो फाइल पूरै खोलेर नयाँ ठाउँलाई मान नापअनुसार ठ्याक्कै मिलाउनुपर्छ । मिलेन भने गोरखपुरमात्र होइन दिनाजपुर पनि स्केलमा बस्दैन अनि पूरै नक्सा असन्तुलित हुन्छ । पटक पटक चल्नुभन्दा एकैपटक हुने गरी सामग्री उपलब्ध गराउनु भए सस्तो पनि सजिलो पनि दुवै हुन्थ्यो ।’

गुनासोको पोको खोले पनि काम त भरतजीले गर्नु नै थियो । उहाँले पुरानो फाइल खोलेर झन्डै दुई घण्टा लगाएर ग्रेटर नेपालमा गोरखपुर जोड्नुभयो । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ब्यानरमा बनाइएको ग्रेटर नेपालको यो तेस्रो नक्सा थियो । सौभाग्यवश यो नक्साको अन्तर्राष्ट्रियकरण रोमाञ्चक शैलीमा भएको थियो । सन् २०१९ मार्च १४ मा जेनेभास्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदमा मैले इतिहासमा पहिलो पटक ग्रेटर नेपालको माग उठाएपछि मार्च १६ शनिबार जेनेभास्थित ब्रोकन चेयरमा यही नक्सा देखाएर इन्डियाली औपनिवेशिकताको विरोध गरिएको थियो । जेनेभामा भएको संयुक्त पत्रकार सम्मेलनमा पनि पोस्टकार्ड आकारको यही नक्सा वितरण गरिएको थियो ।’
* फणिन्द्र नेपालको फेसबुक वालबाट