डाक्टर भगवान कोइराला सम्मानित


वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भगवान कोइराला १ लाख ११ हजार १ सय ११ रुपियाँ राशि सहित ‘डा. सुदिप अर्याल सामाजिक रूपान्तरण पुरस्कार’ २०७९ बाट सम्मानित भएका छन् । पेज टर्नर प्रकाशनद्वारा गत आइतबार काठमाडौँमा आयोजित स्वर्गीय मनोचिकित्सक डा. अर्यालको उपन्यास ‘क्रान्ति’ को लोकार्पण कार्यक्रममा डा. कोइरालालाई उक्त सम्मान अर्पण गरिएको हो ।

मनोचिकित्सामा उच्च शिक्षा हासिल गरेपछि वव्यावसायिक जीवनमा प्रवेश गरेको छोटो समयमा नै आत्महत्या गरी बितेका डा. अर्यालको स्मृतिमा उनको परिवारले उक्त पुरस्कारको स्थापना गरेको हो । पुरस्कारलाई पर्वतीय साहित्य समाज नेपालले व्यवस्थापन गरिरहेको छ । पेज टर्नर प्रकाशनका प्रमुख भरत पौडेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अतिथिहरूले स्वर्गीय डाक्टर अर्यालको मरणोपरान्त प्रकाशित उपन्यास ‘क्रन्ति’ को पनि लोकार्पण गरे । उपन्यास पेज टर्नरले बजारमा ल्याएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रतिभाशाली चिकित्सक सुदिप अर्यालको नामबाट सम्मानित हुन पाउँदा आफूले गर्वको महसुस गरेका बताए । पुरस्कारले आफूले चलाइरहेको बाल हृदयरोग निवारण अभियानलाई ठूलो टेवा पुर्याएको उनले बताए । पर्वतीय साहित्य समाजका अध्यक्ष तथा पुरस्कार कोषका पनि अध्यक्ष नियात्राकार प्रतीक ढकालले डाक्टर कोइराला आफैँ पनि भगवानस्वरूप भएको हुँदा उहाँको कार्यबाट सम्पूर्ण देश अभिप्रेरित भएको दाबी गरे । उनले स्वर्गीय डाक्टर सुदिप सशरीर हामीमाझ नरहे पनि अक्षरहरूमा उनी अमर भएको बताए, र आज तिनै दिवङ्गत प्रतिभाको नामबाट परिवार र निकटस्थहरू चिनिनुपर्ने समय आएको उल्लेख गरे ।

उपन्यास ‘क्रन्ति’ का सन्दर्भमा आफ्नो समीक्षा राख्दै सामालोचक महेश पौड्यालले उपन्यासले मनोविज्ञान, किशोरावस्थाका आवेग र अभिभावकको भूमिकाका बारेमा गहन कुरालाई आख्यानीकृत गरेको बताए । उनले यस उपन्यासले भावावेसमा अप्रिय बाटो आँगाल्ने सम्भावना बोकेका अनेक किशोर किशोरीलाई पुनः जीवनको बाटोमा फर्कन र अभिभावलाई पनि त्यसै अनुरूप आचरण गर्न मद्दत गर्ने जिकिर गरे । उपन्यासमा प्रमुख पात्र ‘क्रन्ति’को रूपमा चित्रित वास्तविक व्यक्ति, बुटवलकी गायिका रिङ्कु वाग्लेले आफ्नो गायनप्रतिको अनुराग र उनका अभिभावकको अर्कै दवावका बीच अलमलिएको जीवनलाई डा. अर्यालले नै सफलताको बाटोमा ल्याइदिएको दाबी गरिन् । उनले डा. अर्यालले आफ्नो जीवन बचाइदिएको तर आफूले उनको जीवन बचाउन नसकेकोमा भने दु:ख प्रकट गरिन् ।

समारोहका प्रमुख अतिथि भुवनहरि सिग्देलले उपन्यास ‘क्रन्ति’ले सजीव पात्रलाई आख्यानका पानामा उतारेको हुँदा एउटा नयाँ र अनौठो प्रयोगसहित बजारमा आएको बताए । पेज टर्नरका अध्यक्ष भरत पौडेलले आफ्नो प्रकाशनले सधैँ चर्चामा नआएका तर जीवनमा ठूलो अर्थ बोक्ने पाण्डुलिपिहरूलाई प्रकाशनका लागि उच्च प्राथतमिकतामा राखेको बताए । उनले निकट भविष्यमै उनको प्रकाशनले बालसाहित्य, मासिक बाल पत्रिका तथा अनलाइन साहित्यक पोर्टल पनि सञ्चालनमा ल्याउने बताए । .डा. सुदिप अर्याल सामाजिक रूपान्तरण पुरस्कार. प्राविधिक क्षेत्रमा उल्लेख्य र प्रेरणादायी काम गर्ने व्यक्तित्वहरूलाई प्रत्येक वर्ष प्रदान गरिने कुरा पुरस्कार कोषकी सदस्य सचिव साहित्यकार भवानी खतिवडाले सञ्चार माध्यमलाई बताइन् ।