युवा ज्योतिष एवं वास्तुशास्त्री अनिलको सङ्गीत मोह

-तुलसी गिरी ‘भावुक’

ज्योतिष शास्त्री र वास्तुविद्का रुपमा युवा अवस्थामै ठूलो ख्याति आर्जन गरेका अनिल थापा एक आशालाग्दो सर्जक/कलाकारको रुपमा समेत सङ्गीत क्षेत्रमा परिचित हुन थालेका छन् l गीत-सङ्गीतका प्रमुख चार विधा शव्दरचना, सङ्गीत, गायन र भिडिओ मोडलिङ्लाई सँगसँगै अगाडि बढाईरहेका अनिलका हालसम्म भजन, आधुनिक, पप, रक जस्ता विधामा लगभग १ दर्जन गीत बजारमा आईसकेका छन् l अहिलेसम्म औपचारिक सङ्गीत गुरु कोही नभए पनि उनले आफ्ना रचनामा आफैं सङ्गीत गर्ने गरेका छन् भने केही गीतमा मोडलिङ समेत गरेका छन् l यसअघि लोकप्रिय गायक हर्कुलर बस्नेतले उनको रचना/सङ्गीतमा गाएको गीत बजारमा आईसकेको छ l अर्का सर्वाधिक चर्चित गायक शिव परियारको स्वरमा रहेको गीत ‘पिलायो’ र लोक आधुनिक शैलीको अर्को गीतको भिडिओ समेत छिट्टै सार्वजनिक हुने कुरा सर्जक अनिलले जानकारी गराए l

अनिलको शब्दरचना/सङ्गीत र स्वरमा पहिलोपटक २०७८ सालमा ‘म मरे पनि’ बोलको आधुनिक गीत रेकर्ड भएको थियो भने प्रमोद खरेलको स्वरमा रहेको गीत ‘म छु आज रोडमा तिमी करोडमा’ को भिडिओमा उनले पहिलोपटक मोडलिङ गरेका थिए l जसमा मोडल बिना राउतले उनलाई साथ दिएकी थिईन् l ‘२०६४ देखि नै गीत रचना र सङ्गीत गर्ने गरेको थिएँ l अहिले रेकर्ड भइरहेका धेरैजसो गीत त्यहीबेला रचना/सङ्गीत गरेका गीत हुन्’ उनले भने l प्रमुख पेशा भनौं या कर्म ज्योतिष तथा वास्तु विज्ञानसँग सम्बन्धित सबै प्रकारका सेवा तथा परामर्श भएपनि जन्मजात बहुआयामिक प्रतिभा अनिल बाल्यकालदेखिको अभिरुचीका कारण आफू सङ्गीतकर्ममा लागेको बताउँछन् l उनी ‘गीतकार सङ्घ नेपाल’ का सदस्य समेत हुन् l

‘श्राद्धमा र मलामी जाँदा बाहेक सबै ठाउँमा नाचिन्थ्यो’ उनले ठट्यौलो पारामा वास्तविकता पोखे l कलिलो उमेरदेखि नै बिछट्टै राम्रो नाच्ने अनिललाई गाउँ घरमा आयोजना हुने बिहे, पूजा, ब्रतबन्ध लगायतका शुभकार्यका अवसरमा नाच्नका लागि मान्छे घरमै लिन आउँथे l त्यसैले उनी सबैको प्यारो पनि थिए l स्थानीय साङ्गीतिक माहोलकै बीच हार्मोनी, मादल, बाँसुरी लगायतका बाजा बजाउन समेत सिकेका अनिल अहिले पनि हार्मोनीमा नियमित रियाज गर्ने गर्छन् l स्कूलमा आयोजना हुनेदेखि जिल्लास्तरीय नृत्य प्रतियोगिताहरुमा समेत पटक पटक पुरस्कृत हुने गरेका उनी रङ्गमञ्चका समेत एक अब्बल कलाकार थिए त्यो बेला l ९ कक्षामा पढ्दा ‘कर्तव्यनिष्ठ’ नाटकको टाइटल भूमिकामा अभिनय गरेका अनिलले ‘वेष्ट एक्टर’ को अवार्ड समेत पाएका थिए l जुन घटनालाई उनले आफ्नो जीवनकै एक अविश्मरणीय क्षणको रुपमा सम्झिरहेको बताएका छन् l ‘नाटक, नाटक जस्तो नहोस्’ भनेर गुरुहरुले भनेका कुरा उनलाई अहिले पनि याद छ l उनी पनि नाटक ‘रियालिष्टिक’ नै हुनुपर्छ भन्ने मान्यता राख्छन् l उनको नृत्य र रङ्गमञ्च यात्राले स्कूलदेखि कलेजसम्म निरन्तरता पाएको थियो l एकपटक आफ्नै प्रेमिकाको कलेजको कार्यक्रममा समेत नृत्य गरेर पुरस्कार जितेका अनिलको प्रतिभा यही प्रसङ्गबाट पनि सहजै अनुमान गर्न सकिन्छ l ‘मेरी प्रेमिकाले ‘मेरो ब्वाई फ्रेण्ड’ भनेरै स्टेजमा उद्घोष नै गरेकी थिईन् !’ उनले त्यो रोमाञ्चक क्षणको स्मरण गरे l

हरिऔन, सर्लाही निवासी पिता सहदेव कुमार थापा र माता गोमा कुमारी थापाको परिवारमा २०४५ साल बैशाख १६ गते पहिलो सन्तानको रुपमा यस धर्तीमा आएका अनिलपछि २ बहिनीको जन्म भएको थियो l १ कक्षा हेटौंडास्थित प्रज्ज्वल शिक्षा इङ्लिस सेकेण्डरी बोर्डिङमा पढेका अनिलले २ देखि एसएलसी सम्मको पढाई भने स्थानीय सनराइज अङ्ग्रेजी मा. बि. बाट पूरा गरेका हुन् l त्यसपछि किष्ट कलेज कमलपोखरी, काठमाण्डौबाट प्लस टु र जनज्योति मल्टिपल क्याम्पस लालबन्दीबाट स्नातक उत्तिर्ण गरेका अनिल ज्योतिष तथा वास्तुशास्त्री हुनुको पछाडि पनि रोचक प्रसङ्ग जोडिएको छ l

‘म सानै छँदा डम्मरु बजाउँदै एकजना ‘मगर बुबा’ घर घर डुल्दै हात हेर्नुहुन्थ्यो l उहाँले भनेका कतिपय कुरा पछि सत्य सावित पनि हुन्थे l म छक्क पर्थें l खै किन हो म उहाँबाट धेरै प्रभावित भएछु र ज्योतिष बन्ने रहर त्यहीबेलादेखि जागेछ’ अनिल बाल उमेरका ती दिनहरु सम्झँदै भन्छन् l स्कूले उमेरदेखि नै विश्वप्रसिद्ध अमेरिकी हस्तरेखाविद् तथा ज्योतिष किरो लगायत अन्य ज्योतिषहरुका किताब पढ्न थालेका अनिलले बिस्तारै गुगल सर्चदेखि युट्युबका भिडिओहरु हेरेर पनि स्वअध्ययनलाई जारी राख्दै गए l ‘९ बर्षजति खोज, अनुसन्धान गरेपछि गाउँ घरमा हेर्न थालें l धेरै कुरा पुग्न पनि थालेपछि म झन् उत्साहित भएँ’ उनले आफ्नो सङ्घर्ष, तपस्या र सफलताका कथा सुनाए l

आफ्नो अध्ययनले मात्र पूर्णता पाउन सक्दैन भन्ने बुझेका अनिल अन्तत: २०७३ सालमा नेपाल ज्योतिष परिषद्, डिल्लीबजारमा भर्ना भए l त्यहाँबाट पूर्व मध्यमा र उत्तर मध्यमा उत्तिर्ण गरेका उनी हाल बाल्मीकि विद्यापीठबाट शास्त्री गरिरहेका छन् l विश्व ज्योतिष विद्यापीठ, कलकत्ताबाट ‘ज्योतिष भारती’ को उपाधि प्राप्त उनी विश्व ज्योतिष महासङ्घ र दक्षिण एशियाली ज्योतिष महासङ्घका आजीवन सदस्य र नेपाल ज्योतिष अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष समेत हुन् l ज्योतिष सेवाका अतिरिक्त विभिन्न व्यावसायिक मल तथा आवासीय भवन, कार्यालय र व्यापारिक स्टोर, होटल, रेष्टुरेन्ट लगायतका क्षेत्रहरुमा वास्तु परामर्श समेत दिँदै आएका अनिल अमेरिकाका व्यावसायिक घरानाहरुसँग समेत आवद्ध भई वास्तु परामर्श सेवा दिईरहेका छन् l उनी क्यालिफोर्निया, अमेरिकास्थित ‘कुजिन रेष्टुरेन्ट’ का ब्राण्ड एम्बेसडर समेत हुन् l ज्योतिष शास्त्रमा सुरुआती ज्ञान लिन चाहनेहरुलाई AstroAnilThapa369 नामक युट्युब च्यानल मार्फत प्रशिक्षण दिँदै आएका उनलाई फेसबुकमा Astro Anil Thapa सर्च गरेर भेट्न सकिन्छ l धेरैजसो मान्छेहरु आजकल फेसबुकमार्फत समय लिएर उनीकहाँ जाने गरेका छन् l

एउटा सुखद् संयोग नै भन्नुपर्छ, पुराना सङ्गीत व्यावसायी ‘साईराम पिक्चर्स’ का प्रबन्ध निर्देशक सम्शेर श्रेष्ठसँग भेट भएपछि उनले सङ्गीत क्षेत्रमा जुझारु भएर अगाडि बढ्ने प्रेरणा र साथ पाए भने उनको संगत र प्रेरणाबाट म्युजिक ब्यावसायी श्रेष्ठ यतिबेला एकेडेमिक अध्ययन गरेरै ज्योतिष तथा वास्तुशास्त्री भएका छन् l