टमाटर क्रान्तिका महानायक डा. केदार बुढाथोकी


दशकयता डा. केदार बुढाथोकीको हुलिया बदलिएको छ । पिता पुर्खाले अँगालेका खेती किसानीमै फर्किएका छन् उनी । अवकाशपछिको जीवन कसरी बिताउने भन्ने द्विविधामा उनी फसेनन् । २०६२ मा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को वरिष्ठ वैज्ञानिकबाट बिदा लिएपछि तीन दशकपूर्व आफूले गहन अध्ययन अनुसन्धान थालेको टमाटर खेतीमै घोत्लिन थाले । साँढे तीन दशकको जागिरे यात्राले बिट मार्दा उनको हातमा ३० लाख रुपैया पर्‍यो । उनले तत्काल सङ्कल्प उमारे, ‘यो रकम म टमाटर खेतीकै अनुसन्धानमा लगाउँछु ।’ तरकारीको बिउ आयात गर्दा बर्सेनि लाखौं रुपैयाँ विदेशिन्छ । आफूले टमाटरको बिउ उत्पादन गर्न थालेपछि अहिले ८० प्रतिशत बीऊमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ । जब कि, अरू तरकारीका बिउ भने भारत, जापान, थाइल्यान्ड र कोरियाबाट आयात गरिन्छ ।

उनले नार्कका अवकाशप्राप्त वैज्ञानिकहरूलाई हाइब्रिड तरकारीको बिउ उत्पादन अनुसन्धान कार्यमा अभिप्रेरित गर्न राज्यलाई नगुहारेका होइनन् । तर्क गरे पनि, ‘एउटा वैज्ञानिकमा ४० लाख रुपैया लगानी गर्ने हो भने उसले पाँच वर्षमा एउटा नयाँ जात निकाल्छ ।’ तर, केही पनि तयार भएनन् । डा. बुढाथोकी र टमाटर पर्याय नै बनिसके । उनलाई ‘टमाटर क्रान्तिको नायक’ भन्दा असान्दर्भिक नहोला ।

०२८ सालमा भारतको राजस्थानस्थित उदयपुर युनिभर्सिटीबाट बीएससी एजी गरेपछि नेपाल फर्किएर सहायक तरकारी विकास अधिकृतको रूपमा जागिर थालेका उनले एक वर्ष पोखरामा बिताए । त्यसलगत्तै उनी सर्लाहीको नवलपुर सरुवा भए । त्यहाँ पूरै चारकोसे झाडी थियो । उनले झाडी फाँड्न लगाइ फार्म बनाए ।

त्यतिबेला पूर्व पश्चिम राजमार्गले छोएको सर्लाहीको अधिकांश भेगका किसान तोरी खेतीमै मग्न थिए । आफूले टमाटर खेतीमै स्नातक गरेका हुँदा उनले किसानहरूलाई टमाटर खेतीमा लगाउने विचार गरे । भन्छन्, ‘मैले किसानहरूलाई तोरीको ठाउँमा टमाटर लगाए धेरै आम्दानी हुने बताएँ र गाउँ गाउँ पुगी रातभरि मइन्टोल बालेर तालिम दिएँ ।’

लालबन्दीबाट आरम्भ भएको टमाटर क्रान्ति फैलिएर हरिवन, जुटपानी, डाबरी, लखनदेहीसम्मै फैलियो । अहिले पूर्वमा ढल्केबरदेखि पश्चिममा निजगढसम्म टमाटर खेती फस्टाउने श्रेय डा. बुढाथोकीलाई नै जान्छ । त्यतिबेला वीरगन्जका व्यापारीहरू भारतबाट टमाटर ल्याउँथे र काठमाडौं र पोखरा लगेर बेच्थे । डा. बुढाथोकीले ती व्यापारीहरूलाई समाते र लालबन्दीको टमाटर गुणस्तरीय र स्वादिलो रहेको बताएर बेच्न प्रेरित गरे । नभन्दै उनको प्रयत्नले ‘गोल’ गर्‍यो । ०३२ सालदेखि लालबन्दीको टमाटर भित्रिन थाल्यो, काठमाडौं । उनी दाबी गर्छन्, ‘हिउँदमा भारतबाट आउने टमाटरलाई लालबन्दीको टमाटरले विस्थापित गर्‍यो ।’ त्यतिबेला हिउँदमा भारतको नासिक र वर्षाद्मा हिमाञ्चल प्रदेशबाट काठमाडौंमा टमाटर भित्रिन्थ्यो । लालबन्दीबाट आरम्भ भएको टमाटर क्रान्ति फैलिएर हरिवन, जुटपानी, डाबरी, लखनदेहीसम्मै फैलियो

सन् १९४८ मा कीर्तिपुरको चारघरेमा जन्मिएका डा. बुढाथोकीलाई कृषि क्षेत्रमा लाग्ने उत्प्रेरणा घरायसी वातावरणले नै दियो । बुवा तरकारी खेतीमा तन्मयपूर्वक लागेको सानैदेखि देखे उनले । कीर्तिपुरमा उत्पादित तरकारी कालीमाटीसम्म डोकोमै पुर्याउनुपर्ने जमाना थियो त्यो । उनी सम्झिन्छन्, ‘०३० सालमा कीर्तिपुरमा गाडी पुगेपछि मात्रै गाडीमै तरकारी ओसार्न थालिएको हो ।’ त्यसो त, आधा शताब्दीअघिको कीर्तिपुर उनको स्मृतिमा गढेरै बसेको छ । भन्छन्, ‘कीर्तिपुरका घरका कोठाहरू अत्यन्तै साँघुरा हुन्थे । ठूलो परिवार भएको हुँदा सबै सदस्यलाई कोठा पुर्याउनुपर्ने कारण त्यसो गरिएको रहेछ ।’

पुरानो समयको कीर्तिपुर सम्झिँदा डा. बुढाथोकी ‘हरितन्नम कीर्तिपुर’को स्मरण गर्न पुग्छन् । भन्छन्, ‘चारघरेमा ८० घर थियो । तर, ६-७ घरपरिवारका मानिसलाई मात्र खान पुग्थ्यो ।’ ०२१ सालमा नयाँ विकासे धान (ताइचिन), विकासे मकै (खुमल) र नयाँ गहुँ (पीटी ६२) लगाउन थालेपछि भने त्यसले कायापलट नै ल्यायो । भन्छन्, ‘चार रोपनी जग्गामा पुरानो धान रोप्दा १० मुरी फल्थ्यो, ताइचिन रोप्दा भने ३२ मुरीसम्म फल्न थाल्यो । उत्पादन बढ्न थालेपछि कीर्तिपुरका मानिसले खाद्य सङ्कटबाट छुट्कारा पाए ।’

डा. बुढाथोकी ०५२ सालमा वागवानी अनुसन्धान महाशाखाका प्रमुख भए । त्यसपछि उनले ‘प्लास्टिक घर’ को अवधारणा ल्याए । मध्यपहाडी भेगमा हिउँदमा तुषारो र वर्षामा अत्यधिक वर्षात्ले तरकारीलाई नोक्सानी तुल्याउने देखेपछि ‘प्लास्टिक घर’को बाटो रोजेका उनले सुरुमा लुभुका तीन, धर्मस्थलीका दुई र टौदहका दुई किसानको जग्गामा प्रयोग गरे । ती सबै जग्गामा टमाटर रोपे । भन्छन्, ‘प्लास्टिक घरको उत्पादनपछि किसानहरूले एक रोपनीबाटै दुई लाखसम्म आम्दानी गर्न थालेपछि यसको माग बढ्न थाल्यो । मैले पनि नक्खुमा ५० रोपनी जग्गा भाडामा लिएर टमाटर खेती गर्न थालेँ ।’ जेठदेखि साउनसम्म नेपालको पहाडी भेगमा उत्पादित टमाटर भारतसम्मै पुग्ने डा. बुढाथोकी बताउँछन् ।

२०५४ सालमा नार्कमा वरिष्ठ वैज्ञानिक भएर प्रवेश गरेका उनी त्यही वर्ष काभ्रेको पाँचखाल गएका थिए । त्यहाँ उनले ‘ब्याक्टेरियल विइल्ड’ नामक जीवाणुका कारण ८० प्रतिशत टमाटर ओइलाएको पाए । एउटा किसानले त ठाडै चुनौती दिँदै भनेछन्, ‘अब कुनै माइकालालले पनि नओइलाउने जातको टमाटर निकाल्न सक्दैनन्, कसैले निकाल्छन् भने हामी सुनकै शालिक बनाइदिन्छौँ ।’ ती किसानको चुनौतीले डा. बुढाथोकीलाई घोत्लिन बाध्य पार्‍यो । २०५२ सालमा लण्डन युनिभर्सिटीबाट ‘बेमौसमी प्याज’मा विद्यावारिधि गरेपनि डा. बुढाथोकीले आफ्नो सिंगो जीवनलाई टमाटरकै अनुसन्धान र विकासमा समर्पित गरे ।

एकदिन  नार्कमै बसिरहेका बेला काठमाडौं  पशुपतिकी सिर्जना आचार्य उनलाई भेट्न आइन् र भनिन्, ‘सर, मैले हिमाञ्चलबाट बीएससी एजी गरेकी छु । तर जागिर पाइनँ । जागिर पाइन्छ कि भनेर आएकी हुँ ।’ डा. बुढाथोकीले उनीसामु एउटा प्रस्ताव राखे, ‘तिमी हिमाञ्चल प्रदेश जाऊ र नओइलाउने जातको टमाटर लिएर आऊ ।’ डा. बुढाथोकीले सिर्जनालाई उक्त कामका निम्ति ५० हजारसमेत दिए । सिर्जनाले भाले पोथी गरेर १६ वटा जात ल्याइन् । भन्छन्, ‘त्यसपछि म र सिर्जना त्यो जीवाणु सहन सक्ने नयाँ जात विकास गर्नमा लाग्यौं । हामीले १६ जातलाई विस्तार गरेर ६४ वटा कम्युनिकेसन बनायौं । पाँच वर्षको अनुसन्धानपछि हामीले ब्याक्टेरियल विइल्ड नामक जीवाणुलाई सहन सक्ने नयाँ जातको टमाटर विकास गर्‍यौं ।’ नयाँ जातको नाम राखियो- ‘सिर्जना’ । उनै सिर्जना आचार्यको नाम । डा. बुढाथोकी भन्छन्, ‘जसले मिहिनेत गरेको छ, उनैको नाम राखेको हुँ, मैले ।’ डा. बुढाथोकीले ‘सिर्जना’लाई एउटै बोटमा ३१ केजीसम्म फलाए । त्यसको बिउको माग बढ्न थालेपछि भने उनले बिउ उत्पादनमै जोड दिँदै आए ।

हरेक वर्ष उनी एक सय १५ केजीजति बिउ उत्पादन र बिक्री गर्छन् । एक केजी बिउ बेच्दा एक लाख आम्दानी हुन्छ । त्यसो त, सिर्जना ६० ग्रामको टमाटर हो । तर  उनले सिर्जनापछि धेरै ग्राम हुने टमाटरहरू पनि विकास गर्दै आए ।‘उन्नत सिर्जना’ ८० ग्रामसम्म हुन्छ भने ‘सम्झना’चाहिँ सय ग्राम । एक सय २५ ग्रामसम्मको ‘डा.सरिता’ फलाएपछि उनले गतवर्ष मात्रै एक सय ५० ग्रामको ‘डा. तीन’ नामक नयाँ जातको विकास गरे । सम्झना, सरिता भने उनकै फार्ममा कार्यरत केटीहरू हुन् । र, उनीहरूकै नामबाट राखे विकसित टमाटरको नाम । भन्छन्, ‘जुन काममा जसको श्रम परेको छ, तिनैको नाम राख्न मन पर्छ मलाई ।’

२०५२ सालमा लण्डन युनिभर्सिटीबाट ‘बेमौसमी प्याज’मा विद्यावारिधि गरेपनि डा. बुढाथोकीले आफ्नो सिंगो जीवनलाई टमाटरकै अनुसन्धान र विकासमा समर्पित गरे । त्यसो त उनी प्याजको अनुसन्धानमा पनि लागे । बेमौसमी-१ नामको नयाँ जात पनि विकास गरे । तर, त्यसलाई रजिस्टर्ड गर्न सकेनन् । देशलाई टमाटरमा आत्मनिर्भर बनाएर उनी प्रशन्न छन् । भन्छन्, ‘मजस्तै अरू वैज्ञानिकहरू पनि यसरी नै अनुसन्धानमा दत्तचित्त भएर लाग्ने हो भने हामीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन सक्छौं ।’

सम्पर्कका लागि : ९८५११८०६४१, ९८५११८०६४२ नख्खु सिड, काठमाडौं