छन्दसाधना पुरस्कारबाट भट्टराई र सत्याल पुरस्कृत


छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कारबाट दुई जना छन्दसाधक कविहरू रामचन्द्र भट्टराई र सुदेश सत्याललाई पुरस्कृत गरेको छ । कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष रु. २५,०००/- नगदसहितको विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्षदेखि रु. १५०००/-  नगदसहितको छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना अग्रज कवि र एक जना अनुज कविलाई पुरस्कृत गरेको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ भाषाविद् प्रा.डा. माधव पोखरेलले वरिष्ठ कवि रामचन्द्र भट्टराईलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार–२०७९’ र युवाकवि सुदेश सत्याललाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार–२०७९’ बाट पुरस्कृत गर्नुभएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरेलले कवि भट्टराईले आफ्ना कवितामा नेपाली जनताको बोली बोलेर र युवाकवि सत्यालले वर्तमान युगको र युवाहरूको आवाज सम्प्रेषण गरेर दुवै स्रष्टाहरूले नेपाली छन्दकवितालाई माथि उठाउनमा विशेष भूमिका खेलेको हुनाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको जोडीले हराउन लागेको छन्दकविता लेखनलाई विश्वव्यापीकरण गर्नका लागि महत्त्वपूर्व भूमिका खेल्नुका साथै सिर्जना एवम् प्रशिक्षणका माध्यमबाट नेपाली छन्दकवितालाई माथि उठाउनमा विशिष्ट योगदान दिँदै आउनुभएको छ । उहाँहरूद्वारा स्थापित र सञ्चालित यस छन्दसाधना पुरस्कारले यस क्षेत्रमा योगदान दिने एक जना विशिष्ट साधक र एक जना युवा साधकलाई सम्मानित तथा पुरस्कृत गरेर सबै पुस्तालाई थप हौसला प्रदान गरेको छ । छन्दले हाम्रो आफ्नोपन बोकेको छ, पूर्वीय जगत्को सुदीर्घ परम्परामा यो जीवित छ त्यसैले अरूको सिको गर्नुभन्दा आफ्नोपनलाई अगाडि बढाउनु देशको र माटोको पनि सेवा हो भन्ने बुझेर नै ज्ञवाली र नेपालले यस अभियानलाई निरन्तरता दिएकामा खुसी लागेको छ ।”

डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्राज्ञ डा. देवी नेपालले डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरेको र अनवरत रूपमा १९ शृङ्खलासम्म चलेपछि कोभिड–१९ का कारण स्थगित भएपछि फेरि सञ्चालन गर्ने अवसर नमिलेको तर अब केही समयपछि पुनः सञ्चालन गरिने जानकारी दिनुहुँदै छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिनुका साथै यस वर्षदेखि पुरानो पुस्ता र युवा पुस्तालाई जोड्ने उद्देश्यले छन्दसाधना युवा प्रतिभा पुरस्कार पनि थप गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी दुई संयोजकका अतिरिक्त विभिन्न दाताहरूबाट प्राप्त रकमबाट हामीले सात लाख पचासी हजारको अक्षयकोष स्थापना गरेका छौँ, जसको ब्याजबाट पच्चिस हजार नगदसहितको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र पन्ध्र हजार नगदसहितको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गर्ने गरिएको छ । साथै हामीले पुरस्कृत स्रष्टालाई सम्मान–पत्र पनि कवितामा नै प्रदान गर्ने परम्परा बसाएका छौँ ।”

कार्यक्रममा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत ८२ वर्षीय वरिष्ठ कवि रामचन्द्र भट्टराईले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गर्दै एउटा सशक्त वैचारिक कविता प्रस्तुत गर्नुभएको थियो भने ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत २८ वर्षीय युवाकवि सुदेश सत्यालले आजका दिनबाट आफूमा गम्भीर चुनौती थपिएको हुनाले सकेसम्म छन्दकविताको उन्नयनका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै एक सशक्त छन्दकविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्वमन्त्री शान्ता मानवीले कवि रामचन्द्र भट्टराईको पाँच दशक अगाडिको सङ्घर्षशील जीवनसँग जोडिएका संस्मरणहरू प्रस्तुत गर्नुभएको थियो भने सभाध्यक्षको मन्तव्य राख्दै डा. रामप्रसाद ज्ञवालीले छन्द–तरङ्ग केवल छन्दकविताको स्तरीकरण र मानकीकरणका लागि थालिएको अभियान मात्र नभएर स्रष्टा र सिर्जनामा हुनुपर्ने अनुशासन, संस्कार, सङ्कल्प, समर्पण, साधना र युगीन दायित्वबोधका लागि सुरु गरिएको सार्थक अभियान रहेको विचार व्यक्त गर्नुभएको थियो । युवाकवि देवु लुइटेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरूबाट सुरुमा छन्द–तरङ्ग गान र अन्त्यमा शास्त्रीय सङ्गीतको राग प्रस्तुत गरिएको थियो ।