राजनीतिक ध्रुवीकरणका बीच सरकारले पायो पूर्णता

डा. डी. आर. उपाध्याय


सरकारले पूर्णता पायो । अब यो सरकारले गतिका साथ काम गरेर देखाउनु पर्छ । शुक्रबार १६ मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अब प्रधानमन्त्री, २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । संविधानले सङ्घीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने व्यवस्था गरेको छ । अब सरकारले कुनै बहाना नगरी देश र जनताको पक्षमा लोकप्रिय काम गरेर देखाउनु पर्छ । यो एउटा अवसर पनि हो । सरकार देश र जनताको आवश्यकतालाई इमान्दार सम्बोधन गदै र जनजीविकाका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्छ ।

विद्यमान समस्याको पहिचान गरी ती समस्यालाई सम्बोधन गर्नु नै अहिलेको सरकारको दायित्व हो । कोरोना महामारी नियन्त्रण अहिलेको मुख्य समस्या हो । यसबीचमा सरकारले कोरोना महामारी नियन्त्रण र खोपमा राम्रो प्रगति गरेको छ । कोरोना फेरि फैलन सक्ने जोखिम पनि छ । किनभने अहिले फेरि भिड सुरु भएको छ । यो एउटा खतरा हो । देशको अर्थतन्त्र डामाडोल अबस्थामा छ । महामारीले शिथिल बनाएको अर्थतन्त्र माथि उठाउन समय लाग्छ नै । सरकारका अगाडि यी समस्या तेर्सिएका छन् ।

सरकारले धेरै काम गर्न बाँकी नै छ । आर्थिक सुधारका काममा प्रभावकारिता आउन सकेको छैन । छिमेकी र अन्य मुलुकसँग सन्तुलन र विश्वासको सम्बन्ध बनाउनुपर्ने आवश्यकता छ । लोकतन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र सङ्घीयता बलियो बनाउनेतर्फ यो सरकारको जिम्मेवारी धेरै छ । विधिको शासन स्थापित गर्नु पनि यो सरकारको मुख्य काम हो । जनता निराशमा छन् । जनतामा आशा जगाउने काम सरकारले गर्नु पर्छ । सुशासन, पारदर्शिता, मितव्ययिता अपनाएर व्यवहारमै काम गरेर देखाउन सक्नु पर्छ । जनताको मन जित्ने काम गर्नुपर्छ । यो गठबन्धनको सरकार हो । सत्ता साझेदार दलबीच सहमती लामो समयसम्म टिकाउनु पर्छ ।

देशमा राजनीतिक ध्रुवीकरण बढेको अबस्था छ । प्रमुख प्रतिपक्षीका कारण संसद् अधिवेशन प्रभावित छ । संसद्लाई प्रभावकारी र परिणामुखी बनाउनु पर्छ । आवश्यक परे सरकार पक्ष लचिलो बन्न पनि सक्नु पर्छ । प्रतिपक्षी दल तथा सत्ता साझेदार दलबीच समझदारी र सहकार्य हुन जरुरी छ ।