रून नपरोस् बुहारी { कविता }

डा. डीआर उपाध्याय


बाबा आमाकी दुलारी
दाजुभाइ दिदीबहिनीकी प्यारी
छोरीचेली नयाँ घर सम्हाल्न जानैपर्ने
रीतिरिवाजलाई निरन्तरता दिँदै
बैबाहिक विधिविधान सम्पन्न गर्दै
समाज अग्निसाक्षी राख्दै
भइन् अर्को घरकी बुहारी
बाबा आमाकी दुलारी
दाजुभाइ दिदीबहिनीकी प्यारी !

उनकै जस्तो सुखसयलमा हुर्किएकी
आधुनिकताको रङ्गमा
आवश्यकताभन्दा बढी रंगीएकी
बुहारीकी नन्द
सासू ससुराकी छोरी
बाबा आमाकी दुलारी
दाजुभाइ दिदीबहिनीकी प्यारी
गृह प्रवेशको केहीदिन नबित्दै
हत्केलामा बिहेको मेंहदी लालिमा
धमिलो नहुँदै
सासुले घरको कामधन्दा गर्ने
नवीनतम् काइदा सिकाउँदै
बुहारीमाथि लादिन् भान्साको जिम्मेवारी
घर आँगनदेखि लुगा सरसफाइको भारी
बाबा आमाकी दुलारी
दाजुभाइ दिदीबहिनीकी प्यारी !!

झिसमिसेमै पतिको अंगालोबाट निस्केर
जतिसुकै चिसोमा नुहाइधुवाइ
चोखो बनेर
घरपरिवारको सेवामा बुहारी जुट्नुपर्ने
नन्दले भने आफूले खाएपिएका
जुठो भाँडा समेत माझ्न नपर्ने
बिहान ९ बजे सम्म सुत्नुपर्ने
यतिमात्र होइन
अनेक निहुँ खोजेर
भाउजूको चित्त दुखाउन थालिन्
विभिन्न ताना मारी मारी
बाबा आमाकी दुलारी
दाजुभाइ दिदीबहिनीकी प्यारी !!!

सासूले सचेतना राख्नुपर्छ
कर्मफल भोग्न तयार रहनुपर्छ
कतै आउँछ कि बुहारी सताएका दिन
आफ्नी छोरीको जिन्दगीमा
कुसाइत कुनै पारी
रुन नपरोस् परिवारकी बुहारी
बाबा आमाकी दुलारी
दाजुभाइ दिदीबहिनीकी प्यारी !!!!