राष्ट्रकविको सम्झनामा ‘उनको प्रीति’

स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेले २०२४ सालमा अर्थात आजभन्दा ५३ वर्ष अघि कोरेको उनको प्रीति बोलको गीत पुन: रेकर्डिङ गरी यसको भिडियो निर्माण गरिएको छ ।

२०६० सालमा नारायण रायमाझीको सङ्गीतमा पहिलोपटक रेकर्ड गरिएको यस गीतलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उनकै सम्झनामा केही फरक शैलीमा लाइभ रेकर्डिङ गरी भिडियो बजारमा ल्याएका हुन् ।

लम्जुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको यही भदौ २ गते १०१ वर्षको उमेरमा निधन भएको थियो । गीत दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई सोधेका थिए- ‘प्रेम गरिन्छ कि हुन्छ ?’ आफैंले ‘हुन्छ’ भन्दै राष्ट्रकविले अगाडि भनेका थिए – ‘सङ्गीतमा तपाईले दिने लोकधुन मलाई विशेष लाग्छ । त्यसैले यो गीत तपाईंलाई दिँदैछु । राष्ट्रकविसँगका यी संवादहरु भिडियोमा समेत राखिएका छन् ।

{ सङ्गीतकार रायमाझीलाई उनको प्रीति गीत दिँदै स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरे }

रायमाझीका प्रायजसो गीत नेपालीको मन मुटुमा बसेका छन् । उनका उत्कृष्ट गीतहरुको चाङ्मा यो गीतको पनि छुट्टै स्थान रहेको छ । पहिलोपटक २०६० सालमा जगदिश समाल र सपनाश्रीको स्वरमा रेकर्ड भएको यो गीतमा अहिले भने नेपाल आइडलबाट उदाएका नव गायक प्रविन वेडवाल र उदियमान गायिका रचना रिमालले स्वर दिएका छन् ।

{ २०६० सालमा सङ्गीतकार रायमाझीसँग उनको प्रीति गीतको अभ्यास गर्दै जगदिश समाल र सपनाश्री }

रिमा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा मिराज अर्यालको छायाङ्कन तथा सम्पादन रहेको छ भने बीबी अनुरागीले सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीले मिक्सिङ  गरेका छन् ।

रिमा इन्टरटेनमेन्टको स्टुडियोमा लाईभ रेकर्डिङ गरिएको यस गीतमा कलाकारहरु उदिराम खड्का, विवेक खड्का, विन्दु खड्का, मनोज खड्का र  राकेश सोनीलाई देख्न सकिन्छ भने बाँसुरीमा रत्न बिकले साथ दिएका छन् । भिडियोले अपलोड भएको ३ दिनमै ६ लाख नजिक भ्युज पाईसकेको छ ।