गीतकार ताराको ‘जे पायो त्यही’ मा सरोज र आश्माको मनमोहक नृत्य

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गीतकार तारा अधिकारीको रचनामा रहेको गीत ‘जे पायो त्यही’ को भिडिओ सार्वजनिक भएको छ l लेखु सहयात्रीको सङ्गीत र विषम आचार्यको सङ्गीत संयोजन रहेको यस गीतमा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् l गीतको मिक्सिङ/माष्टरिङ यस गीतका गायक समेत रहेका आशिष अविरलले गरेका हुन् l भिडिओ गीतकार तारा अधिकारीकै अफिसियल युट्युब च्यानल Sunaulo Tara Motion Pictures बाट डिजिटल बजारमा आएको हो l

नेपाली म्युजिक भिडिओको क्षेत्रमा अत्यन्तै लोकप्रिय जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य-अभिनय रहेको रोमान्टिक भावको यो म्युजिक भिडिओ हेर्दा हेर्दै कतिबेला सकिन्छ पत्तै हुन्न l गीतको मेलोडी र भाव अनुसारको कोरियोग्राफीका साथै अभिनय सहितको नृत्यले गीतलाई जीवन्त बनाएको छ l शान थापाको निर्देशन, अर्जुन तिवारीको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन रहेको यस म्युजिक भिडिओका कोरियोग्राफर राजिव समर हुन् l भिडिओका सबै पक्ष उत्तिकै उत्कृष्ट छन् l तथापि विशेषगरि कोरियोग्राफरको प्रशंसा नगरिरहन सकिन्न l

गीत रचनाका अतिरिक्त निर्देशन र अभिनयमा समेत आफ्नो बहुआयामिक क्षमता प्रदर्शन गर्दै आएकी सर्जक तारा अधिकारीका गुलेलीमा, लुकिलुकि चोरिचोरि, लाली ओठैमा लगायतका गीत लोकप्रिय छन् l