वैभवताभित्र लुकेको कारुणिक कथा ‘छुट्ने बेला’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सर्जक शंकर थापा ‘स्माइल’ को सङ्गीत एवं साइराज खाती र मुना ठटालको स्वरमा रहेको गीत ‘छुट्ने बेला’ कथात्मक प्रस्तुतिका साथ म्युजिकल फिल्मको रुपमा सार्वजनिक भएको छ l केहीदिन अघि राजधानीमा आयोजित एक विशेष समारोहमा लगभग २१ मिनेटको सो म्युजिकल फिल्म सार्वजनिक गरिएको थियो l लिलाराज काम्बाङको शब्दरचना र कुशल सिंहको सङ्गीत संयोजन रहेको यो गीत राजेश श्रेष्ठले रेकर्ड गरेका हुन् भने किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको छ l समारोहका प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार/गायक दीप श्रेष्ठले ‘छुट्ने बेला’ को भिडिओ हेरिसकेपछि आफ्नो धारणा राख्दै भने-‘पहिलेदेखि नै यसरी गीतको भाव अनुसार कथा सहितको भिडिओहरु आएको भए यतिबेला नेपाली सङ्गीतको उचाई धेरै माथि पुगिसक्थ्यो l’

यस म्युजिकल फिल्ममा एउटा लाहुरे परिवारको वियोगान्त कथा देखाईएको छ l परबाट हेर्दा आर्थिक रुपमा सम्पन्न, समाजमा बेग्लै ईज्जत र शान हुने लाहुरे परिवारभित्रका कतिपय दर्दनाक पाटोलाई भिडिओले यथार्थपरक ढङ्गमा उजागर गरेको छ l घर विदा सकिएपछि लाहुरे-लाहुरेनी ‘छुट्ने बेला’को पीडा, लोग्ने लाहुर गएपछि प्रतीक्षामै जवानी कटाउनुपर्ने लाहुरेनीहरुको बाध्यता, एकांकी जीवन बाँचिरहेकी लाहुरेनीमाथि हुने गाउँ-घरका युवाहरुको गिद्दे दृष्टि, अनाहकमा लाग्ने बात र कुनैपनि बेला लाहुरेको युद्धमा वीरगति प्राप्त हुन सक्ने अवस्थालाई यस भिडिओले मार्मिक ढङ्गमा प्रस्तुत गरेको छ l

प्रस्तुत म्युजिकल फिल्म गणेश शाहीको परिकल्पना, कथा र निर्देशनमा निर्माण भएको हो l जसमा विशाल थापाको छायाङ्कन र दिनशन शाहको सम्पादन रहेको छ भने सम्राट अधिकारी, प्रतीक्षा लिम्बू, मिन बहादुर गुरुङ, कृष्ण बोहरा, शंकर थापा ‘स्माइल’ लगायत सहायक भूमिकामा अन्य १८ जना कलाकारले अभिनय गरेका छन् l भिडिओका कलाकार मध्येका नायक सम्राट र नायिका प्रतीक्षाको अभिनय प्रशंसनीय रहेको छ l

शास्त्रीय महक भएकादेखि पाश्चात्य छनक भएकासम्म सबै प्रकार र शैलीका गीतमा उत्तिकै न्यायपरक सङ्गीत एवं गायन पस्कन सिद्धहस्त सर्जक/कलाकार शंकर थापा ‘स्माइल’ ले यस गीतमा पनि शब्द र भाव परिवेशले खोजे अनुसार सङ्गीतमा लोकलयको कारुणिक मिठास भरेका छन् l साइराज र मुनाको स्वरले गीतलाई जीवन दिएको छ l यी हरफहरु लेखिरहँदा ओएसआर डिजिटलबाट सार्वजनिक भएको यो भिडिओ युट्युबमा ५ लाख पटकभन्दा बढी हेरिएको छ भने उच्च गतिमा भ्युज बढ्ने क्रम पनि जारी छ l