लहानमा ‘गोसाई डाँडा ताल’, फेवातालकै झल्को

शम्भु यादव, लहान


गाउँलेद्वारा २०३३ सालदेखि संरक्षित १५ बिघा क्षेत्रफलमा फैलिएको लहान नगरपालिका-१५, बानोस्थित झौवाई खोल्सीलाई स्थानीय युवाले संरक्षण गरी धार्मिक पर्यटकीय स्थलको रुपमा रुपान्तरण गरेका छन् । उनीहरुले खोल्सीको नाम नै परिवर्तन गरि गोसाई डाँडा ताल राखेका छन् ।

१ सय १० घरधुरी थारु र मुसहर समुदायको बसोबास रहेको बानोबासीले ३ सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनक्षेत्रलाई संरक्षण गर्दै आएका थिए । संरक्षित वन क्षेत्रभित्रबाट बग्दै आएको वर्षाको पानी १५ बिघा क्षेत्रफलमा फैलिएको झौवाई खोल्सीमा जमेपछि बाँध बाँधेर स्थानीयले पोखरीको रुप दिएका हुन् । त्यही पोखरीको पानी हिउँदमा सिँचाइका लागि किसानहरुले कूलो निर्माण गरी उपयोग गर्दै आएका थिए ।

खोल्सीबाट पोखरी बनेको उक्त क्षेत्रलाई झौवाई खोल्सी चुरिया डाँडा सामुदायिक वन उपभोक्ता समिति बनाई संरक्षण गरिंदै आएको थियो । त्यही खोल्सीबाट पोखरी र पोखरीबाट बनेको ताललाई अहिले स्थानीय युवाहरु पर्यटकीय गन्तव्य बनाउन लागि परेका छन् । १५ बिघा क्षेत्रफलमा फैलिएको ताललाई स्थानीय युवाहरुले पोखराको मिनी फेवातालको झल्को दिने गरी जिर्णोद्धार गरेका छन् । तालमा दुईवटा बोटिङको व्यवस्था पनि गरिएको छ । तालको बीच भागमा पोखराको फेवातालमा झैं मन्दिर निर्माण गर्ने योजना बनाइएको छ । तालको बीचमा रहेको ढिस्कोमा पुग्न बोटिङको व्यवस्था गरिएको छ । चारैतिर चुरे वनक्षेत्रले घेरिएको ताल वरपर बिभिन्न स्थानमा २० वटा विश्रामस्थल निर्माण गरिएको छ । जहाँबाट ताल र चुरे वनक्षेत्रको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । चराचुरूङ्गीको चिरबिर ध्वनिले दृश्यावलोकनसँगै जो कोहीको मनलाई उद्वेलित बनाउँछ । स्थानीय युवाहरुले ताल संरक्षण गरेपछि बोटिङको मज्जा लिने आगन्तुकहरुको संख्या बढ्न थालेको छ ।

गोसाई तालको शिरान डाँडाको टुप्पोमा शिव मन्दिर स्थापना गरिएको छ । जहाँ सोमबार तीर्थालुहरु गोसाई तालको जल लिएर चढाउन पुग्छन् । युवाहरुले यसवर्ष प्रदिप गिरीको संसदीय पूर्वाधारको १५ लाख रुपैया, वन कार्यालय लहानको १० लाख रुपैया र भू–संरक्षण कार्यालयको ६ लाख ५० हजार रुपैया लागतमा तालको पुन:संरचना गरेका हुन् । ‘हामीले गोसाई ताललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना (डिपिआर) तयार गरेका छौं । पर्यटकीय सम्भावना बोकेको यस ताल वरपर भ्यू टावरबुद्ध मन्दिरहरु समेत निर्माण गर्ने योजना बनाएका छौं, यसको लागि सबैको साथ सहयोग हामीलाई चाहिन्छ’ गोसाई ताल संरक्षण समितिका अध्यक्ष अभिनन्दन चौधरीले भने ।

लहान नगरपालिका–१५ स्थित नजिकै दुई किलोमिटरमा अवस्थित प्रख्यात राजदेवी मन्दिर दर्शनका लागि आउने आगन्तुकलाई गोसाई तालको मनमोहक दृश्य दृश्यावलोकन गराउने समितिको योजना छ । त्यही योजना अनुसार तालको शिरान चुरे डाँडामा शिव मन्दिर स्थापना गरिएको उनले जानकारी दिए ।

तालको पूर्वी–उत्तरी चुरे डाँडामा ऐतिहासिक गोसाई थान रहेकाले तालको नामाकरण पनि त्यही अनुसार राखिएको समितिका सदस्य आनन्द चौधरीले सुनाए । ‘हरेकवर्ष असार १ गते गोसाई थानमा पूजा गर्ने परम्परा छ । पूजा गरेपछि पानी पर्ने र धानखेती गर्ने बानोबासीको परम्परा रहँदै आएको छ । त्यही परम्परालाई कायम राख्न तालको नाम नै गोसाई ताल राखेका हौं’ उनले भने ।

स्थानीय युवा महेन्द्र चौधरीका अनुसार लकडाउन अवधिभरमा तालको जिर्णोद्धारमा युवा सक्रीय भएर खटेका थिए । युवाकै सक्रियताले पर्यटकीय गन्तव्य रुप दिन सफल भएको उनले सुनाए । युवाहरु भन्छन्- ‘पोखराको फेवातालको झल्को दिने गरी मिनी फेवाताल अर्थात गोसाई ताल निर्माणमा जुटेका छौँ । यो क्षेत्र अवलोकन गर्न हामी सबैलाई आव्हान गर्छौं ।’